प्रतिनिधिसभाका नवनियुक्त सचिव सुरेश अधिकारीले संसदको कामलाई व्यवस्थित र पारदर्शी बनाउन भुमिका खेल्ने बताएका छन्।
बुधवार सभामुख देवराज घिमिरेबाट प्रतिनिधिसभा सचिवको रुपमा शपथग्रहण गरेसँगै सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले संसदको कामलाई व्यवस्थित गर्न भूमिका खेल्ने बताए। उनले आफ्नो काम सभामुखको काममा सहयोग गर्ने भएको भन्दै सभामुखलाई सहयोग गरेर अगाडि बढ्ने बताए।
‘मेरो मुख्य भूमिका भनेको प्रतिनिधिसभाको कामलाई व्यवस्थित गर्नको लागि सघाउ पुर्याउनु हो,’ उनले भने, ‘सम्माननीय सभामुखज्यूको काममा सहयोग गर्ने, संसदमा प्रस्तुत हुने एजेण्डाहरुको बारेमा अध्ययन गर्ने र पेश गर्ने लगायतका कामहरु पर्छन्। सभामुखलाई सहयोग गर्ने, संसदका काम, कारबाहीलाई व्यवस्थित गर्नु, पारदर्शी बनाउनको लागि मेरो सहयोग र भूमिका रहनेछ।’
अधिकारीलाई सभामुखको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार प्रतिनिधिसभाको सचिवमा नियुक्त गरेका हुन्।
Shares
प्रतिक्रिया