दसैँ नजिकिएसँगै सामान किन्नेहरू बढ्दै थिए।
उच्च शिक्षा अध्ययनका लागि पाटन र काठमाडौँमा बसोबास गरेका फर्किन थालिसकेका थिए।
बजारलाई वरिपरिबाट घेरिरहेको हरियो धानखेत। वातावरण साह्रै रमाइलो। ठूलादुर्लङ, कालेश्वर मानिखेल, बुखेलका लागि समान लैजाने मुख्य व्यापारिक केन्द्र हो गोटिखेल।
ललितपुर महांकाल गाउँपालिकाको केन्द्र रहेको गोटिखेल बजारमा असोजको १० गतेसम्मको दृश्य हेरेर नरमाउने कमै थिए।
वडा नम्बर ३ मा रहेको सो बजारमा बढ्दै गएको चहलपहलले ४५ वर्षीय ईश्वर तिमल्सिना हौसिएका थिए।
पाँच वर्षदेखि गोटिखेल बजारमै पर्यटकका लागि खाने बस्ने सुविधा दिइरहेका उनको व्यापार राम्रो थियो।
‘कालेश्वर होम स्टे’ र किराना पसल चलाइरहेका उनी दसैँमा मानिसको चाप बढ्नेमा झन् बढी आशावादी थिए।
पछिल्लो वर्ष घुम्नेहरूको आकर्षक गन्तव्य मध्येको एक थियोे सो क्षेत्र।
त्यही भएर पनि असोज सुरु भएपछि बिहानदेखि बेलुका अबेरसम्म उनी व्यस्त हुन्थे।
एक हप्ताअघि मात्र झण्डै ३० जना मानिसलाई उनले आफ्नै होम स्टेमा राखेर सत्कार गरिसकेका थिए।
वैतरणीधाम मन्दिर, सिम्बा झरना हेर्न र घुम्ने मानिसको चाप बढ्छ भन्ने उनमा विश्वास थियो।
तर, उनले सोचेजस्तो भएन।
असोज ११ गतेदेखि मुलुकभर परेको भारी वर्षाले गोटिखेल निवासी ईश्वरको दैनिकी गोलमाल बनायो।
असोज १२ गते बिहान ६ बजेपछि भने गोटिखेल बजारका बासिन्दा त्रसित् हुन थालेका थिए, ठूलो अनिष्ट होला भनेर।
वर्षा यति ठूलो थियो कि खोलाहरू सुसाएको मात्र सुनिन्थ्यो। चारैतिर अन्धकार, निरन्तर मुसलधारे वर्षा। विद्युत्, टेलिफोन अवरुद्ध। हरियो धानको फाँटमा धमिलो बाढी पस्न थाल्यो। उनको घरबाट चारैतिर हेर्दा जताततै खोलै खोला।
खोलाको बहाव निरन्तर बढ्न थाल्यो। पानी रोकिने छाँटकाँट थिएन। उनले चिन्नेजान्नेसँग कुरा गर्दै भने, ‘खोलाको निकास नै थुनियो कि!’
खोलाबाट ५० मिटरमाथि घर भएका ईश्वरले सोचेका थिएनन्, त्यो अनिष्टको सामना आफैँले गर्नुपर्ला।
नजिकै तीनवटा खोलाको संगमस्थल थियो। त्यसमा पनि उनको घर उच्च ठाउँमा।
ईश्वरका साला उमेश घिमिरेले नेपालखबरसँग भने, ‘दिदी भिनाजूको घर खोलाभन्दा २०÷३० मिटर माथि छ।’
तर, खोलाको सतह बढ्न थालेपछि २० मिटर वर रहेको पुरानो घर र गोठ हेर्न उनी गए। त्यहीँ सँगैको छाप्रोमा उनको किराना पसल छ।
एक्कासि छाल घरभित्रै पस्यो। ईश्वरको होस उड्यो। उनी अत्तालिए।
४० वर्षकी श्रीमती गोमा तिमल्सिना, ७ वर्षका छोरा प्रिन्स, ६५ वर्षकी आमा सोमकुमारी र भाइकी श्रीमती निर्मलालाई सुरक्षित स्थानमा बस्न सुझाव दिएर उनी सुन, केही लत्ताकपडा, नगद लिन पक्की घरतिर गए। भूकम्प प्रतिरोधी पक्की घरसँगै उनको होम स्टे पनि छ।
तीनैजना (गोमा, प्रिन्स र निर्मला) सुरक्षित स्थानमा भागिसकेका थिए।
आमा सोमकुमारीले निस्कन ढिलाइ गरिन्। दुई बुहारी र नातिलाई सुरक्षित हुन माथि जाने आदेश दिइन् र आफू विस्तारै आउने बताइन्।
ईश्वरले आमालाई छोडेर जान चाहेनन्। सँगै लिएर सुरक्षित ठाउँमा जान खोज्दै थिए १०–१५ मिनेटपछि खोलाको छाल आउन छोड्यो।
स्थानीयको भनाइ उधृत गर्दै गोमाका भाइ उमेश घिमिरेले नेपालखबरसँग भने, ‘भिनाजूले खोलो फर्क्यो भनेर दिदीलाई बोलाउनुभएछ, अनि दिदी नगद, सुन र केही महत्त्वपूर्ण कागजात बोकेको झोलासहित फर्कनुभएछ।’
साढे ८ बजे
चन्दनपुर, कालेश्वर हुँदै बग्ने टुङ्गुन खोला, धामी खोला, र मसान खोला वैतरणी धामनेर मिसिन्छन्।
यी खोला मानिखेल, बुखेल र बागमती गाउँपालिका वडा नम्बर ५ इकुडोल हुँदै बागमती ४ र २ को सिमाना बगुवाबाट बागमती नदीमा मिसिन्छ। वर्षा नरोकिएकोले तीनैवटाको सतह बढिरहेको थियो।
ईश्वरका परिवारको पाँचजना पुरानो घरमै थिए।
साढे ८ जति बजेको हुँदो हो। मडारिएर आएको भेलबाढीले पुरानो घर र गोठ बगाउन थाल्यो।
ईश्वरका छोरा प्रिन्स र सानी छोरीलाई लिएर बुहारी निर्मला खोला आएको उल्टो दिशा भागिन्।
२० मिटर पर रहेको पक्की घरमा पुग्न ईश्वर, गोमा र सोमकुमारी भागे तर, निमेषभरमै उर्लिएको खोलाको छालले बेपत्ता बनायो।
६ वर्षअघि ईश्वरले भूकम्प प्रतिरोधी घर बनाएका थिए। त्यही घर पुग्न सके ज्यान सुरक्षित गर्न सकिनेमा उनी आशावादी भए।
तर, गडगडाएर तीनवटा खोला मिसिएर उर्लिएको खोलाले उनको प्रयास असफल पार्यो।
‘माथिबाट भेलबाढी आएको देखेपछि भान्जा र दिदीको देउरानी खोला आएको अर्काेतिर भाग्नुभएछ,’ घिमिरेले प्रहरी र उद्धारकर्ताको भनाइ उधृत गर्दै भने ‘तर, दिदी, भिनाजू र उहाँको सासू नयाँ पक्की घरतिर लाग्दा भेलमा पर्नुभएछ।’
हराएको तीन दिनपछि असोज १४ गते गोमा र ईश्वरको शव भेटिए पनि सोमकुमारीको अवस्था अझै अज्ञात छ।
‘दिदी भिनाजूको शव १४ गते मात्र भेटियो,’ उमेश भन्छन् ‘सासूको अवस्था अहिलेसम्म अज्ञात छ।’
खोलालले गोटिखेल बजारलाई भग्नावशेष बनाइदिएको छ। बजार रहेको ठाउँ र धानखेतमा अहिले बगर छ।
त्यतिमात्र होइन, ईश्वरका तीनवटै घरमाथि खोला हिँडेको छ। जग्गाको जगजिलो बाँकी छैन।
प्रिन्सकै अगाडि बगे तीनजना
प्रिन्सको आँखैअगाडि बुबाआमा र हजुरआमा बगेका हुन्। सुरक्षित हुन भागेका उनले अलि माथिबाट सो दृश्य भयानक दृश्य देख्नुपर्यो।
अहिले उद्धार गरेर चापागाउँ ल्याइएका उनलाई त्यो कहालीलाग्दो दृश्य सम्झाउन दिइएको छैन।
उमेश भन्छन्, ‘दुईजना भान्जीहरू चापागाउँ र भैँसेपाटीमा हुनुहुन्थ्यो, एकजना भान्जीको बिहे भइसकेको थियो, तर, गोटिखेलमै रहनुभएका भान्जा त्यो भेलबाट बाँच्नुभयो।’
चार सन्तान बेसहारा
४५ वर्षका ईश्वरका तीन छोरी र एक छोरा छन्।
ल्याब टेक्निसियन पढेका उनले सो पेसा अपनाएनन्। सुरुमा भैँसीपालन गरे। दूध बेचे।
गोटिखेल बजारमा तीव्र जनघनत्व हुन थालेपछि पर्यटन क्षेत्रतिर लागे।
उनकी जेठी छोरीको बिहे भइसकेको छ। अर्की छोरी मनिषाले प्लस टु सकेकी छन्।
कान्छी छोरी अनुस्का चापागाउँमा मावि तह पढ्दैछिन्।
छोरा प्रिन्स गोटिखेलमै रहेको हिलसाइड बोर्डिङ स्कूलमा २ कक्षामा पढिरहेका छन्।
ईश्वरका परिवारका तीनैजना अभिभावकको मृत्यु भएपछि सन्तान बेसहारा भएका छन्।
अहिले चापागाउँस्थित टाहाखेलमा उनीहरूलाई काका उत्तम तिमल्सिनाले राखेका छन्।
गोमा थिइन् ईसीडी शिक्षक
चन्दनपुरबाट २०५७ सालमा बिहे गरेर उनी गोटिखेल आइपुगेकी हुन्।
गोमाले २०६४ देखि गोटिखेलमै रहेको महांकाल माविमा शिशु कक्षा पढाइरहेकी थिइन्।
दैवी विपत्तिमा अभिभावक गुमाएका चारैजना विह्वल छन्।
महांकालमा अहिले पनि विद्युत अवरुद्ध छ। सडक बन्द छ। टेलिफोन सम्पर्क हुन कठिन छ।
अविरल वर्षाले तहसनहस पारेको महांकालमा धेरै वर्षपछि विपत्ति परेको पालिका अध्यक्ष गणेश केसी बताउँछन्।
Shares
प्रतिक्रिया