ad ad

राजनीति


यसकारण प्रचण्डले पाएनन् ओली–देउवा सहमतिको भेउ

ओली ‘ट्याक्टिस’ : प्रचण्डलाई काखमा राखेर देउवासँग ‘डिल’
यसकारण प्रचण्डले पाएनन् ओली–देउवा सहमतिको भेउ

सागर न्यौपाने
असार १९, २०८१ बुधबार १९:४२, काठमाडौँ

गत सोमबार मध्यराति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ताको काँध फेरिरहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलिपल्टका कार्यक्रमको सेड्युल सचिवालयबाट बुझ्दै थिए। 

बालुवाटारको सरकारी निवासमा सुरक्षा घेराभित्र रहेका प्रचण्डले बिहान तीन घण्टासम्म आफैँसँग अन्तरंग छलफल गरेका ओली कांग्रेस सभापति शेरबहादुर देउवासँग ‘सिरियस’ वार्तामा रहेको भेउ पाउनै सकेनन्।

आफूसँग ‘जादुमय’ सिट संख्या रहेको दाबी पटकपटक गर्दै आएका प्रचण्ड ओलीको चालसामु निरीह देखिन पुगे। सोझै भन्दा, प्रचण्डको ‘जादुको छडी’ ओलीको अगाडि चलेन। 

सोही दिन अपरान्ह आफ्ना मन्त्रीहरूलाई पनि प्रचण्डले ढुक्कले काम गर्न आग्रह गरेका थिए। 

शनिबार दिउँसो बालकोटमा कांग्रेस सभापति शेरबहादुर देउवासँग ओलीको भेटवार्तापछि सत्ता समीकरण फेरबदलको हल्ला सुरु भएको थियो। जसलाई मत्थर बनाउन प्रचण्डले ओलीसँग तीन घण्टा भेटेर मन्त्रीहरूलाई विश्वस्त बनाएका थिए। 

प्रचण्डले पार्टीमा ब्रिफिङ गरेअनुसार सोमबार बिहानको भेटमा पनि ओलीले वामपन्थी एकता अहिले हतारो हुने भए पनि सत्ता सहयात्रामा धोका नदिने नै बताएका थिए। 

‘हिजो ओलीजीले सम्माननीय प्रधानमन्त्रीज्यूसँग हामी दुःखसुख, मर्दापर्दा, स्वर्गनर्क सँगै जाने हो चुनाव सँगै लडौँला, चुनावपछि पार्टी एकता गर्ने भनेर कुरा क्लियर गरेर जानुभएको रहेछ,’ माओवादीका उपमहासचिव वर्षमान पुनले नेपालखबरसँग भने, ‘कांग्रेसको बारेमा त उहाँले अनेक खालका कुरा भन्नुभएछ। मैले ३० वर्षदेखि व्यहोरेको छु, यो पार्टी कस्तो छ मलाई थाहा छ, भनेर हिँड्नुभएको रहेछ।’

प्रचण्डले तत्काल गठबन्धनमा समस्या आउला भनेर कल्पनै गरेका थिएनन्।

‘उहाँले गठबन्धन छोडेर अन्यत्र जाने सम्भावना नरहेको बताएपछि विश्वास गरियो, ढुक्क भइयो,’ पुनले सुनाए।

आइतबार (असार १६) को दुई घण्टाका भेट, सोमबारको तीन घण्टा लामो भेटमा जीवन जगतदेखि पार्टी एकतासम्मका कुराले प्रचण्ड ओलीको कुरामा पूरापूर भर परेका थिए। यतिसम्म कि आफ्ना सुरक्षा संयन्त्रबाट आएका सूचनाहरूको हेक्का पनि उनले राखेनन्। 

पहिलो कार्यकालको प्रधानमन्त्री हुनेगरी ओलीले सोमबार राति कांग्रेस सभापति शेरबहादुर देउवासँग सत्ता साझेदारीको लिखित सहमति गरे। सहमतिका सबै बुँदा सार्वजनिक भइसकेका छैनन्। यद्यपि, माओवादीसँग एमालेको गठबन्धन भने टुटेको छ।

सहमतिसँगै संसदको पहिलो र दोस्रो ठूलो दलबीच सत्ता सहकार्य हुने बाटो खुल्यो।

तर, मंगलबार (असार १८) बिहान साढे नौ बजे एमाले अध्यक्ष ओलीले बालुवाटार पुगेर प्रचण्डलाई कांग्रेससँग भएको सहमतिबारे जानकारी दिएनन्।

‘आज बिहान पनि ओलीजीले मैले केही गरेको छैन, राष्ट्रिय सहमतिको सरकार बनाऔँ भनेर भनेको हो भन्न आउनुभएको रहेछ,’ अर्थमन्त्री पुनले भने, ‘यो त गठबन्धनलाई दिएको धोका हो।’

माओवादीका सचिव दीनानाथ शर्मा पनि एमालेले गठबन्धन छोडिहाल्ने सम्भावनाको कुनै संकेत नपाएको बताउँछन्।

‘ओलीजी दैनिक प्रधानमन्त्रीलाई भेटिरहनुभएको थियो, शर्माले भने, ‘त्यही भएर धेरै शंका गर्ने ठाउँ नै भएन।’

त्यति मात्र होइन, एमाले अध्यक्ष ओलीले पार्टी एकता गर्ने भन्दै प्रचण्डलाई विश्वस्त पारिरहेको शर्मा बताउँछन्।

‘अहिले पार्टी एकताको कुरा गर्दा प्रोभोकेटिभ हुन्छ, हामी नै मिलेर जाने हो, सरकारको काम राम्रो गर्न कमिटी बनाउने हो भनेर ओलीले प्रधानमन्त्रीलाई तीन घण्टा बसेर मख्ख पारेर जानुभएछ,’ सचिव शर्माले सुनाए।

मुलुककै सर्वोच्च कार्यकारी पदमा रहेका प्रचण्डले आफ्ना सुरक्षा संयन्त्रबाट पूर्वप्रधानमन्त्रीहरूबीचको भेटघाट थाहा नपाउने कुरा थिएन। तर, उनी ओलीप्रति यति ढुक्क थिए कि ती संयन्त्रबाट आएका जानकारीलाई समेत उनले विश्वास नगरेको शर्माले दाबी गरे।

‘ओलीजीले कति कुरा ढाँट्नु भएछ। प्रचण्डसँग १७ असारमै पनि केही होइन भनेर राति १२ बजे सहमति गर्नुभएछ,’ उनले भने।

ओलीले अचानक यस्तो चाल चलेपछि माओवादी नेताहरू मात्र होइन, एमालेकै नेताहरू नै छक्क परे।

एमालेमा विष्णु पौडेल, विष्णु रिमाल, शंकर पोखरेललगायत नेताहरू ओलीका विश्वासपात्रका रूपमा चिनिन्थे। तर, सोमबार साँझ अबेरसम्म बालकोट बसेका उपाध्यक्ष पौडेलले पनि यसको भेउ पाएनन्। 

बरू, ओलीले पूर्वमहान्यायाधिवक्ता समेत रहेका रमेश बडाललाई कांग्रेससँगको सम्झौतामा प्रयोग गरेका थिए। 

ओलीले चुनावपछि सरकार गठनका बेला देउवालाई यसैगरी झुक्याएका थिए। २०७९ पुस १० गते प्रधानमन्त्री बनाउँछु भनेर सबै सहमति गरेपछि अन्तिममा देउवा निवास बूढानीलकण्ठ नपुगी प्रचण्डलाई बालकोट बोलाएर उनले प्रधानमन्त्री बनाएका थिए।

ओलीकै भरमा परेका देउवाले प्रचण्डलाई पहिलो कार्यकालको प्रधानमन्त्री बनाउन अस्वीकार गरेका थिए। तर, पुस १० मा ओलीले बालकोटमा प्रचण्डलाई बोलाएर प्रधानमन्त्री बनाउने सहमति गरे।

त्यसयता प्रचण्डले ओली र देउवालाई पालैपालो झुक्याए। फागुन २१ मा प्रचण्डले कांग्रेस गठबन्धन छोडेर एमालेसहितको गठबन्धन बनाउने सहमति गरेका थिए।

तर, चार महिना पनि यो गठबन्धन टिक्न सकेन। जेठ १५ मा आएको बजेटमा ओलीले असन्तुष्टि जनाएका थिए। त्यतिबेलासम्ममा कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीको सहकार्यको जग बसिसकेको थियो।

जेठ २२ पछि भएका चारवटा महत्त्वपूर्ण बैठकले दुई ठूला दल मिल्नुपर्ने निष्कर्ष निकालेको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .