जर्मनीमा जारी युरो कप २०२४ अन्तर्गत क्वार्टर फाइनलका खेलहरु आज शुक्रबार रातिदेखि सुरु हुँदैछन्।
पहिलो दिन आज राति क्वार्टर फाइनलका दुई खेल हुनेछन्। पहिलो दिन उपाधि दाबेदार मानिएका चार पूर्व विजेता टोली आपसमा भिड्ने छन्। दुई टोलीले सेमिफाइनलमा स्थान बनाउँदा दुई टोली भने यो संस्करणको युरो कपबाट बाहिरिने छन्।
हेभिवेट क्वार्टर फाइनलका दुई खेलमा आज सबैको नजर छ। अघिल्लो चरण पुग्न चारै टोली दबाबमा छन्।
पहिलो क्वार्टर फाइनलमा आयोजक जर्मनी र स्पेन भिड्नेछन्। सो खेल राति पौने १० बजे सुरु हुनेछ।
अन्तिम १६ मा जर्मनीले डेनमार्कलाई २–० ले तथा स्पेनले जर्जियामाथि ४–१ को फराकिलो जित निकाल्दै क्वार्टर फाइनलमा भेट तय गरेका थिए।
आज राति नै हुने दोस्रो क्वार्टरफाइनलमा पोर्चुगल र फ्रान्स आमनेसामने हुनेछन्। यो खेल भने राति पौने १ बजे सुरु हुनेछ।
पोर्चुगलले पेनाल्टी सुटआउटमा स्लोभेनियालाई ३–० ले हराउँदै अन्तिम ८ मा स्थान पक्का गरेको हो।
उता फ्रान्सले भने बेल्जियमको उपहार गोलमा क्वार्टर फाइनलमा स्थान बनाएको थियो। आजको खेलको विजेताले सेमिफाइनलमा भेट गर्नेछन्। पहिलो सेमिफाइनल खेल बुधबार हुनेछ।
Shares
प्रतिक्रिया