ad ad

राजनीति


महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने रास्वपाको निर्णय

महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने रास्वपाको निर्णय

पार्टी बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिने क्रममा महामन्त्री डा. मुकुल ढकाल (तस्बिर : सरोज बैजु)


नेपालखबर
असार १९, २०८१ बुधबार २३:५९, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने निर्णय गरेको छ। पार्टी अनुशासन आयोगको सिफारिसमा बुधबार केन्द्रीय समितिको बैठकले ढकाललाई निलम्बन गरेको एक पदाधिकारीले नेपालखबरलाई जानकारी दिए। 

पार्टी अनुशासन विपरीतका गतिविधि गरेको र पार्टीका विरुद्धमा लागेको भन्दै ढकाललाई निलम्बन गर्ने निर्णय भएको ती पदाधिकारीले बताए। 

आजै अनुशासन आयोगको बैठकले ढकाललाई कारबाहीको लागि सिफारिस गरेको थियो।

बैठकमा बोल्न नमानेर बैठकबाहिर मिडियासँग पार्टीविरुद्ध बोलेकोमा पार्टीले कारबाही गरेको हो। 

महामन्त्री ढकाल बुधबारको बैठकमा मुखमा मास्क र कालो टेप लगाएर पुगेका थिए। उनले नै तयार पारेको प्रतिवेदनमाथि रास्वपामा दिनभर छलफल भएको थियो। 

बैठकमा बोल्ने ५२ मध्ये ५० केन्द्रीय सदस्यले महामन्त्री ढकालको क्रियाकलापमाथि प्रश्न उठाएका थिए। 

‘उहाँ नै अघि लागेर बनेको पार्टीलाई सक्ने गरी लाग्नुभयो,’ ती पदाधिकारीले सुनाए, ‘खासमा आजै कारबाहीसम्मको प्रक्रियामा पुग्ने तयारी थिएन। तर बैठकपछि बाहिर आएर उहाँले जे बोल्नुभयो, त्यसपछि अनुशासन आयोगले कारबाहीको सिफारिस गरेको हो।’

महामन्त्री ढकालले पार्टी सभापति रवि लामिछानेले गृह मन्त्रालयमा हुँदा प्रहरी संगठनको सरुवा बढुवादेखि अन्य काम पारदर्शी ढंगबाट नगरेको आरोप लगाएका थिए। 

साथै, उनले आफू अहिले नै सबै कुरा नभन्ने बताउँदै समय आएपछि खोल्ने चेतावनीसमेत दिएका छन्। 

विशेष गरी महामन्त्री ढकालले एक महिने देश दौडाहापछि तयार पारेको प्रतिवेदन पार्टी सभापतिलाई बुझाएपछि विवाद सतहमा आएको थियो। 

उनले पार्टी यही ढंगबाट चले आगामी निर्वाचनमा राष्ट्रिय पार्टी नहुनेदेखि पार्टीमा एकलौटी ढंगले सभापति चलेकोसम्मका आरोप लगाएका थिए। 

यसबारे आफूले लेखेको प्रतिवेदन जस्ताको तस्तै सार्वजनिक हुनुपर्ने र केन्द्रीय कमिटी बैठक लाइभ गर्नुपर्ने उनको भनाइ थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .