ad ad

राजनीति


घण्टीघरमा तनावका १२ घण्टा

घण्टीघरमा तनावका १२ घण्टा

गीता चिमोरिया
असार २०, २०८१ बिहिबार ०:२८, काठमाडौँ

गत जेठ पहिलो साता केन्द्रीय समितिको बैठक रोकेर महामन्त्री डाक्टर मुकुल ढकाललाई देश दौडाहामा पठाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्रीको समीक्षा प्रतिवेदनबारे केन्द्रीय समिति बैठकमा आज दिनभर छलफल गर्‍यो।

घण्टीघर भनिने पार्टी मुख्यालय चःमती (वनस्थली)मा बिहान ८ः३० बजेबाट सुरु भएको केन्द्रीय समितिको बैठकमा सबै केन्द्रीय सदस्यले बोलिसक्दा राति साढे ८ नै बजिसकेको थियो । 

महामन्त्री ढकाल यो बैठकमा मुखमा कालो टेप लगाएर सहभागी थिए । यिनै १२ घण्टाको बैठकले पार्टीका संस्थापक महामन्त्री ढकालको पद भने धरापमा पुर्‍याएको छ । 

महामन्त्री ढकालले आजको बैठक लाइभ (प्रत्यक्ष प्रसारण) गर्न माग गरेका थिए । बैठक लाइभ गर्न महामन्त्रीले गरेको प्रस्तावबारे सभापति रवि लामिछानेले केन्द्रीय सदस्यहरूको धारणा बुझ्दा महामन्त्री बाहेक कसैले पनि बैठक लाइभ गर्ने कुरामा सहमति नजनाएको सहप्रवक्ता मनीष झाको भनाइ छ। बैठकमा कतिपय आन्तरिक र संवेदनशील विषयमा छलफल हुने भएकाले ती सबै विषय सार्वजनिक गर्नु परिपक्वता नदेखिने भन्दै लाइभ गर्न नहुने मत देखिएको थियो। 

बैठक लाइभ नहुने भएपछि महामन्त्री ढकाल मुखमा कालो टेप लगाएर बैठकमा सहभागी भएका थिए। 

महामन्त्रीले आफ्नो अभिव्यक्ति स्वतन्त्रता हनन् भएको भन्दै प्रतिवेदन प्रस्तुत गर्न नमानेपछि सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले प्रतिवेदन पढेर सुनाए।     

६४ जना केन्द्रीय सदस्यमध्ये आजको बैठकमा ५२ जना उपस्थित थिए । बैठकमा उपस्थित सबै केन्द्रीय सदस्यहरूले धारणा राखे । एकजनाका लागि ५ देखि ७ मिनेट बोल्ने समय छुट्याएको भए पनि अधिकांशले १० देखि १५ मिनेट बोले। 

बैठकमा बोलेका दुईजना केन्द्रीय सदस्यबाहेक सबैजना समीक्षा प्रतिवेदनलाई  लिएर महामन्त्रीप्रति आक्रामक रुपमा प्रस्तुत भए। उनीहरूले पार्टी यो अवस्थामा पुग्नुको कारण के हो भन्दै महामन्त्रीलाई नै प्रतिप्रश्न गरेका थिए। 

दुईजना मात्रै उभिए ढकालको पक्षमा
बैठकमा दुई जना केन्द्रीय सदस्यले महामन्त्री मुकुल ढकालको पक्षमा बोले। 

‘दुईजना सदस्यहरू महामन्त्रीको पक्षमा सफ्ट तरिकाले प्रस्तुत हुनुभयो, बैठकमा सहभागी एकजना केन्द्रीय सदस्यले भने, ‘उहाँहरू अन्य सदस्यजस्तो आक्रामक देखिनुभएन।’  

अन्य ५० जना केन्द्रीय सदस्यले भने समीक्षा प्रतिवेदन र महामन्त्री ढकालको कार्यशैलीलाई लिएर प्रश्न गरेका थिए। उनीहरूले सरकारमा जानेदेखि पार्टीले चालेका हरेक कदममा महामन्त्रीकै मुख्य हात रहेको भन्दै पार्टी यो अवस्थामा पुग्नुमा उनकै बढी दोष रहेको किटान गरे। 
सबै केन्द्रीय सदस्यले बोलुन्जेल बैठकमा बसेका महामन्त्री ढकाल आफ्नो बोल्ने पालो आएपछि भने बोलेनन्। बैठकमा नबोलेका महामन्त्री आफूलाई ह्यार्यासमेन्ट भएको भन्दै बाहिर आएर मिडियामा भने बोले। उनले सभापति लामिछानेलाई विभिन्न आरोपसमेत लगाए। 

००० 

मध्य असारबाट सुरु भएको वर्षाले मौसम केही शीतल छ। यही शीतलताका बीच पछिल्लो दुई दिनदेखि राष्ट्रिय राजनीति भने गर्माएको छ। सत्ता राजनीति त गर्माएको थियो नै, सरकारमा गएको चार महिना पुग्दा नपुग्दै सत्ता गुमाउन लागेको पार्टी रास्वपाभित्र द्वन्द्वको राँको बलेको छ।

हुन त राष्ट्रिय स्वतन्त्र पार्टी जहिलेबाट घोषणा भयो, त्यही दिनबाट सधैं चर्चामै छ। २०७९ को आम निर्वाचनमा अपत्यारिलो उपस्थिति जनाएको यो पार्टी संसद र सरकारमा पुगेपछि झन् चर्चाको चुलीमा छ।

कहिले पार्टी सभापतिका विभिन्न ‘काण्ड’हरूले त कहिले बहालवाला सांसदले मन्त्री बन्न कोर टिमलाई रकम बुझाउनुपरेको भनी विवादास्प व्यापारीसँग रकम माग गरेको टेपका कारण। कहिले उपनिर्वाचनमा अपार जनसमर्थन पाएर त कहिले उम्मेदवारको जमानतै जफत भएर।
अहिलेको विवादलाई सतहमा ल्याउने काम भने गत वैशाखमा सम्पन्न उपनिर्वाचनमा जमानत जफत प्रकरणपछि भयो। इलाम–२ मा रास्वपा उम्मेदवार जमानत जफतसहित चौथो स्थानमा पुगेपछि पार्टीले महामन्त्री ढकाललाई समीक्षायात्रामा पठाएको थियो।     

ढकालले एक महिनाको दौरान ३२ जिल्ला घुमेर तयार पारेको ३२ पृष्ठको समीक्षा प्रतिवेदनले नै रास्वपालाई तरंगित पारेको हो।

महामन्त्री ढकालले समीक्षा प्रतिवेदन पार्टी सभापतिलाई बुझाउनुअघि नै केही विवरण बाहरिएपछि त्यसले थप चर्चा पायो। सभापतिलाई बुझाउँदा समीक्षा प्रतिवेदन जस्ताको त्यस्तै सार्वजनिक नहुने बुझेपछि महामन्त्रीले पहिल्यै मिडियामा बोलेको रास्वपाभित्रकै कतिपयको बुझाइ छ।  

सञ्चारमाध्यम र सामाजिक सञ्जालमा मात्रै होइन, रास्वपा महामन्त्रीको प्रतिवेदनले प्रचण्ड–ओलीको बैठकमा समेत राम्रै चर्चा पायो। दुई नेतासँगको भेटमा गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछानेलाई नेताहरूले प्रश्न गरे, ‘तपाईँको पार्टीमा के भएको हो?’ जवाफमा रविले ‘खास केही होइन’ भने पनि महामन्त्रीको समीक्षा प्रतिवेदनले रास्वपालाई तरंगित मात्रै पारेन, स्वयम् महामन्त्रीको पद नै जोखिममा पारेको छ। 

रास्वपाले पार्टी अनुशासनभन्दा बाहिर गएको भन्दै महामन्त्री ढकाललाई कारबाही प्रक्रिया अघि बढाएको छ। कारबाहीको तयारीस्वरुप गत शुक्रबार नै उनलाई अनुशासन आयोगले स्पष्टीकरण सोधिसकेको थियो। 

बैठकमा बोल्न नमानेर बाहिर निस्किएर मिडियासँग सभापति लामिछानेमाथि गम्भीर आरोप लगाएका ढकाललाई अब पार्टीमा राख्न नहुने भन्दै अधिकांश केन्द्रीय सदस्यले बैठकमा बताएका छन्।  

सिमसिम झरीका बीच दिनभर रास्वपा पार्टी कार्यालय वनस्थलीमा भिडभाड थियो। ५२ जना केन्द्रीय सदस्यसहित केन्द्रीय समितिको बैठक पाँचौँ तलामा चलिरहँदा भुईँतलामा नेता, कार्यकर्ता, सञ्चारकर्मी र सुरक्षाकर्मीको बाक्लो उपस्थिति थियो। बिहान गृहमन्त्री सामेल बैठक सुरु हुँदा नहुँदै भित्र तनाव भएको बखर बाहिरिएपछि बाहिर सुरक्षा तैनाथी बढाइएको थियो।

खाना र खाजाका लागि छुट्याइएको विश्रामको अवधिमा नेताहरूले मिडियालाई बैठकको बारे अपडेट गराइरहेका थिए। रास्वपाका नेताहरुले यसरी बैठककै बीचमा खुलेर बाहिर विवरण सार्वजनिक गरेको पनि सम्भवतः पहिलोपल्ट हो। 

रविलाई दोहोरो तनाव
यता छँदाखाँदाको सरकार ढल्ने अवस्था आउँदा रास्वपा सभापति रवि लामिछाने डेढ वर्षको बीचमा दोस्रोपल्ट उपप्रधान तथा गृहमन्त्रीको कुर्सी गुमाउँदै छन्। अर्कोतिर पार्टी स्थापनाकालदेखिका एकदमै विश्वास गरेर जिम्मेवारी दिइएका महामन्त्री ढकालसँग लगभग विच्छेदको अवस्थामा पुगेका छन्। अझ ढकाल त पार्टी स्थापनाभन्दा पनि पहिला कालीकोटको रास्कोटमा अस्पताल निर्माणमा सहकार्य गरेका व्यक्ति हुन्।

यसबीचमा तिनै ढकालले रविको आडमा धेरै शक्ति अभ्यास गरे। पार्टीका प्रत्येक निर्णयमा उनी हाबी भए। अन्ततः निकै अप्रिय क्षण आयो। बुधबार दिनभरजसो अन्य नेताहरू बैठक कक्षबाट बाहिर आए। सञ्चारकर्मीहरुका जिज्ञासाका जवाफ दिए। तर सभापति लामिछाने दिनभरजसो बेचैनजस्तै देखिए। उपसभापति स्वर्णिम वाग्लेका शब्दमा त, पहिलोपटक सभापतिका केही प्रस्तावहरू पार्टीमा अस्वीकृत पनि भए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .