ad ad

राजनीति


बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र शेखर कोइरालाबीच एक घण्टा भेटवार्ता

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र शेखर कोइरालाबीच एक घण्टा भेटवार्ता

नेपालखबर
असार २२, २०८१ शनिबार १६:४१, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ। शनिबार बिहान उनीहरूबीच बालुवाटारमा झण्डै एक घण्टा भेटवार्ता भएको हो। 

नेता कोइराला निकट स्रोतका अनुसार, बिहान साढे सात बजे प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच भेटवार्ता सुरु भएको थियो। 

करिब एक घण्टा प्रचण्डसँग छलपल गरेर कोइराला साढे ८ बजेतिर बालुवाटारबाट बाहिरिएका थिए।

पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको स्रोतले बताएको छ।

नेकपा एमाले र नेपाली कांग्रेसबीच सत्ता सहयात्रा गर्ने समझदारी बनेका बेलामा भएको यो भेटवार्तालाई अर्थपूर्ण रुपमा लिइएको छ। 

यद्यपि भेटघाटका विषयहरू भने खुलाइएको छैन। प्रधानमन्त्रीको सचिवालयले यो भेटबारे जानकारी दिन खोजेको छैन। 

प्रधानमन्त्री प्रचण्डले आगामी असार २८ गते विश्वासको मत लिँदैछन्। दुई ठूला दलहरू एकजुट भएर अघि बढ्ने समझदारी हुँदा प्रचण्डले संविधानअनुसार विश्वासको मत लिने बताएका थिए। 

एमाले र कांग्रेसमध्ये एक दलको मत नपाउँदा प्रचण्डलाई बहुमत पुर्‍याउन सम्भव छैन। यस्तो अवस्थामा प्रचण्डले निर्धक्क विश्वासको मत लिने दिन तय गर्दै संसद् सचिवालयलाई पत्र काटिसकेका छन्। 

कोइरालाले हिजो (शुक्रबार) मात्रै  नयाँ सत्ता समीकरणको विषयलाई लिएर अहिले नै खुसी हुनसक्ने अवस्था नरहेको बताएका थिए। 

संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री बनेका प्रचण्डले विश्वासको मत नपाएपछि धारा ७६ (३) अनुसार सरकार बन्नुपर्ने केहीको तर्क पनि छ। तर, कांग्रेस र एमालेले धारा ७६ (२) अनुसार ओलीलाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव गरेका छन्। 

कोइरालाले उपधारा ३ मा नजाओस् भन्ने आफ्नो चाहना रहेको बताएका थिए।

‘अहिले प्रचण्डजीले आजको दिनसम्म पनि राजीनामा दिनुभएको छैन। राजीनामा नदिएपछि संविधानतः के हुन्छ भन्ने हामीले सोच्नुपर्छ,’ कोइरालाले भनेका थिए, ‘किनभने संविधानलाई टेकेर हिँड्नुपर्छ। टेकेर हिँड्दा प्रचण्डजीले राजीनामा दिनुभएन र विश्वासको मत लिनुभयो भने संविधानको धारा ७६ को ३ मा नजाओस्।’

नेकपा एमालेले भने प्रचण्ड नेतृत्वको सरकारलाई दिएको सर्मथन फिर्ता लिएर एमालेको तर्फबाट बनेका ८ जना मन्त्रीहरूले राजीनामा दिइसकेका छन्।

यस्तै, अशोक राई नेतृत्वको जसपाका तीनजना मन्त्रीले पनि प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर मन्त्री पदबाट राजीनामा दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .