ad ad

राजनीति


सबैभन्दा धेरैपटक प्रधानमन्त्री बन्ने कम्युनिस्ट नेता भए ओली

सबैभन्दा धेरैपटक प्रधानमन्त्री बन्ने कम्युनिस्ट नेता भए ओली

नेपालखबर
असार ३०, २०८१ आइतबार १८:१८, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार प्रधानमन्त्री नियुक्त भएका छन्। उनको यो चौथो कार्यकाल हो। 

उनीसहित हालसम्म ६ जना कम्युनिस्ट नेता ११ पटक प्रधानमन्त्री भएका छन्। सबैभन्दा बढी (चारपटक) प्रधानमन्त्री बन्ने कम्युनिस्ट नेताको इतिहास ओलीले बनाएका छन्। दोस्रोमा पुष्पकमल दाहाल प्रचण्ड (तीनपटक) छन्।

कम्युनिस्ट नेताका रूपमा सबैभन्दा पहिला मनमोहन अधिकारीले प्रधानमन्त्री बन्ने अवसर पाए। नेकपा एमालेका तत्कालीन अध्यक्ष अधिकारी २०५१ मा प्रधानमन्त्री भएका थिए। ओली त्यही सरकारमा गृहमन्त्री थिए।

अधिकारीको त्यो कार्यकाल ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता, आफ्नो गाउँ आफैँ बनाऔँ लगायतका कार्यक्रमका लागि विशेष रूपमा सम्झिइन्छ।

अधिकारीको २०५६ सालमा ७८ वर्षको उमेरमा निधन भइसकेको छ। उनीबाहेक सबै कम्युनिस्ट प्रधानमन्त्री जीवित छन्। दोहोरिएर प्रधानमन्त्री हुने ओली र प्रचण्ड मात्र छन्। बाँकी चारजना एक-एकपटक मात्र प्रधानमन्त्री भएका छन्।

अधिकारीपछि एकैपटक २०६५ मा कम्युनिस्ट नेताले प्रधानमन्त्री बन्ने मौका पाए। ती नेता थिए, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड। भूमिगत सशस्त्र संघर्षबाट आएको माओवादी त्यतिखेर देशको सबैभन्दा ठूलो शक्तिका रूपमा उदाएको थियो। करिब बहुमतनजिकको माओवादीको नेतृत्वमा सरकार बनाउन एमालेले सघाएको थियो।

तर, प्रचण्ड ९ महिनाभन्दा बढी सरकारमा बस्न पाएनन्। तत्कालीन प्रधानसेनापति रुक्मांगद कटवाललाई कारबाही गर्न खोज्दा राष्ट्रपति रामवरण यादवले थमौती गरिदिए। प्रचण्डले नैतिकताका आधारमा राजीनामा दिए।

त्यसपछि माओवादीको निरन्तर शक्तिक्षय हुँदै गयो। शक्ति घट्दै गए पनि प्रचण्डलाई प्रधानमन्त्रीको अवसरले भने छाडेन। उनी तीनपटक प्रधानमन्त्री भए। 

दोस्रोपटक २०७३ मा कांग्रेसको समर्थनमा उनी प्रधानमन्त्री भए। पछि उनले कांग्रेससँगको समझदारीअनुसार शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गरे। देउवाले नै चुनाव गराए।

प्रचण्डले तेस्रोपटकमा भने फेरि एमालेकै सहयोगमा प्रधानमन्त्री बन्ने अवसर पाए। २०७९ मंसिरमा सम्पन्न चुनावपछि प्रतिनिधि सभामा जम्मा ३२ सिट जितेर तेस्रो शक्ति बन्न पुगेको माओवादीलाई दोस्रो ठूलो दल एमालेले समर्थन गरेपछि प्रचण्डको हातमा पछिल्लोपल्ट सत्ताको बागडोर पुगेको थियो। 

उनी प्रधानमन्त्री भएपछि राष्ट्रपतिको चुनावमा कोल्टे फेरे र कांग्रेससँग साझेदारी गर्न पुगे। फेरि कांग्रेसको साथ छाडेर गत फागुनमा एमालेसँग मिल्न पुगे। अन्ततः कांग्रेस र एमाले एउटै कित्तामा उभिँदा उनले सत्ता गुमाए। यद्यपि, निकै कमजोर अवस्थामा पनि उनी १८ महिनासम्म प्रधानमन्त्री भए।

कम्युनिस्ट प्रधानमन्त्रीका लागि पहिलो संविधानसभा निकै उर्बर रह्यो। २०६५ देखि २०६९ को बीचमा माओवादीबाट प्रचण्ड र बाबुराम भट्टराई, एमालेबाट माधव नेपाल र झलनाथ खनाल प्रधानमन्त्री भए। 

दोस्रो संविधान सभाले संविधान नबनाउँदासम्म कुनै पनि कम्युनिस्ट नेताले प्रधानमन्त्री बन्ने अवसर पाएनन्। संविधान जारी भएपछि भने एमालेबाट केपी शर्मा ओली नयाँ सरकार प्रमुख भएर आए। त्यो उनको पहिलो कार्यकाल थियो।

पहिलो कार्यकालमा ओलीलाई माओवादीले सघाएको थियो। पछि माओवादी र कांग्रेस मिल्दा ओलीको त्यो सरकार ९ महिनामै ढल्यो। २०७२ असोज २५ देखि २०७३ साउन १९ सम्म उनी प्रधानमन्त्रीका रूपमा रहे। 

२०७४ को चुनावमा जाँदासम्म माओवादी र एमाले फेरि मिल्न पुगिसकेका थिए।

चुनावपछि माओवादी र एमालेबीच एकता नै भयो। प्रधानमन्त्रीको अवसर भने ओलीलाई मिल्यो। 

२०७४ फागुन ३ मा प्रधानमन्त्री नियुक्त भएका उनले इतिहासका थोरै शक्तिशाली प्रधानमन्त्रीका रूपमा काम गर्ने अवसर पाए। त्यतिखेर एमाले एक्लै बहुमतनजिक थियो भने माओवादीसमेत जोड्दा झण्डै दुई तिहाइ हुन्थ्यो। माओवादी र एमालेबीच एकीकरण पनि भएको थियो।
त्यतिखेर ३ वर्षभन्दा बढी उनले सत्ता सम्हाले। यद्यपि, पार्टीभित्रको कचिंगलका कारण न एकता टिक्यो, न ओलीको सरकार नै पूरा कार्यकाल चल्यो।

ओलीले दुईपटक प्रतिनिधि सभा विघटन गरे। त्यहीबीचमा संसदको ठूलो दलको हैसियतमा अल्पमतको प्रधानमन्त्री नियुक्त भए र दुई महिनामै सर्वोच्च अदालतको आदेशमा उनी सत्ताच्युत भए।

चौथोपटक प्रधानमन्त्री बन्दा भने संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले उनलाई साथ दिएको छ। उनीहरूबीच आउँदो चुनावसम्म आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ।

नेपालका बहुदलकालीन प्रधानमन्त्रीहरूको सूचीमा सर्वाधिक पटक भने गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवा भएका छन्। उनीहरू दुवैजना पाँच-पाँचपटक प्रधानमन्त्री भएका छन्। उनीहरू दुवैजना कांग्रेस नेता हुन्। कोइरालाको निधन भइसकेको छ भने देउवा अझै प्रधानमन्त्री बन्न प्रतीक्षारत छन्। एमालेसँगको सहमति पालना भए यसपछि उनकै पालो हुनेछ।

पञ्चायतकालको समेत जोड्दा सूर्यबहादुर थापा समेत ५ पटक नै प्रधानमन्त्री भएका छन्। 

जतिपटक प्रधानमन्त्री भए पनि अहिलेसम्म उनीहरू कसैले पनि पूरा कार्यकाल (लगातार ५ वर्ष) को अवधि सरकार चलाउन सकेका र पाएका छैनन्।

२०६३ यताको लगत हेर्दा कांग्रेसबाट ३ जना प्रधानमन्त्री हुँदा कम्युनिस्ट खेमाबाट ५ जना भएको देखिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .