ad ad

राजनीति


हाम्रो लक्ष्य पूर्ण साक्षर मुलुक र सुखी नेपाली: प्रधामन्त्री

हाम्रो लक्ष्य पूर्ण साक्षर मुलुक र सुखी नेपाली: प्रधामन्त्री

फाइल तस्बिर


नेपालखबर
भदौ २३, २०८१ आइतबार ७:२४, काठमाडौँ

आज ५८ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस। ‘बहुभाषिक शिक्षाको प्रवद्र्धनः पारस्परिक समझदारी र शान्तिका लागि शिक्षा’ भन्ने आदर्श वाक्यका साथ विभिन्न कार्यक्रम गरी आज देश-विदेशमा साक्षरता दिवस मनाइँदैछ।

दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावक, शिक्षाकर्मी र नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्। दिवसले शान्ति, सहिष्णुता, बहुभाषिक शिक्षा र आपसी समझदारीका साथ अगाडि बढ्न प्रेरणा प्रदान गर्ने विश्वास पनि व्यक्त गरेका छन्। 

अनिवार्य र निःशुल्क शिक्षा पाउने मौलिक हकको सुनिश्चिततासँगै विद्यालय जाने उमेरका सबै बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न र विद्यालय उमेर नाघेका नागरिकका निमित्त जीवनोपयोगी शिक्षाका अवसरहरु जुटाउने विषय सरकारको प्राथमिकतामा रहेको प्रधानमन्त्रीको शुभकामना सन्देशमा उल्लेख छ। 

‘यसका निम्ति अनिवार्य र निःशुल्क शिक्षा ऐन, २०७५ को कार्यान्वयनसँगै साक्षरता÷आजीवन सिकाइका कार्यक्रमहरु सञ्चालनमा रहेका छन्,’ प्रधानमन्त्रीको सन्देशमा भनिएको छ, ‘साक्षरताका कार्यक्रमको सञ्चालनमा स्थानीय तहको भूमिका महत्वपूर्ण हुन्छ। गरिबीका कारणले तराई र दुर्गमका कतिपय ठाउँमा साक्षरता र भर्ना अभियानले सार्थकता पाउन नसकेको अवस्थालाई दृष्टिगत गरी मेरो नेतृत्वको अघिल्लो सरकारले राष्ट्रव्यापी रुपमा विद्यार्थी भर्ना अभियान कार्यक्रमको सुरुवात गरेको थियो।’ 

उनले विद्यालय उमेरका सबै बालबालिकालाई अनिवार्य रुपमा विद्यालयमा भर्ना गर्ने नीतिले पनि साक्षरताको अभियानलाई सहयोग पुर्याएको बताएका छन्। 

‘भर्ना भएका बालबालिकालाई विद्यालयबाट ड्रपआउट हुन नदिन सरकारले दिवा खाजा, छात्रवृत्ति लगायतका अन्य प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेको छ। यसलाई अझै सुधार गर्दै लैजाने सरकारको योजना छ,’ प्रधानमन्त्रीको सन्देशमा भनिएको छ।

नेपालमा पछिल्लो समयमा पूर्ण साक्षर पालिका र साक्षर जिल्ला घोषणा हुँदै गएका छन्। यो महत्वपूर्ण उपलब्धि भएको प्रधामन्त्रीको भनाई छ। 

‘विश्व अहिले सूचना प्रविधिको युुगमा प्रवेश गरेको छ। त्यसकारण प्रविधिमैत्री साक्षरता र सीप अहिलेको आवश्यकता हो। प्रविधिमैत्री शिक्षा प्रदान गर्न सरकारले योजनाबद्ध रुपमा कार्य अगाडि बढाइरहेको छ,’ प्रधामन्त्रीको सन्देशमा भनिएको छ, ‘शिक्षालाई रोजगार र स्वरोजगारसँग जोड्दै निजी क्षेत्र, सामाजिक सङ्घ संस्थाहरु लगायत सबैको भूमिकालाई प्रभावकारी बनाउँदै निरक्षरतालाई साक्षरतामा रुपान्तरण गर्न हामी सबै लाग्नु पर्ने छ। हामी सबैको योगदानले साक्षर नेपालको अभियानलाई सार्थक बनाउन सक्छौँ।’

नेपाल पूर्ण साक्षर मुलुकतर्फ अग्रसर हुँदै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने गन्तव्यमा अघि बढिरहेको उनले बताएका छन्। 

‘यस गन्तव्य प्राप्तिमा शिक्षा क्षेत्रको योगदान महत्वपूूर्ण हुने भएकाले त्यसअनुसारको भूमिका निर्वाह गर्नका लागि म सम्बन्धित सबैमा हार्दिक आह्वान गर्दछु,’ प्रधामन्त्रीले भनेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .