ad ad

राजनीति


नेपाललाई गरिएको शान्ति क्षेत्र घोषणाको महत्व बढ्यो: प्रचण्ड

नेपाललाई गरिएको शान्ति क्षेत्र घोषणाको महत्व बढ्यो: प्रचण्ड

नेपालखबर
असोज ४, २०८१ शुक्रबार ११:७, काठमाडौँ

पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई गरिएको शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको बताएका छन्।

जनस्तरबाट गठित शान्ति क्षेत्र अभियानले बुझाएको ज्ञापनपत्र बुझ्दै उनले नेपाललाई टकरावपूर्ण बन्दै गएको विश्व राजनीतिको चपेटाबाट जोगाउँदै राष्ट्रिय स्वाधीनता कायम गर्न यो प्रस्ताव अघि बढाउने बेला आएको बताए। 

अब शान्ति क्षेत्रको प्रस्ताव देश बचाउने महत्वपूर्ण एजेण्डा हुनसक्ने उनको भनाई थियो।

‘हिजो पञ्चायतकालमा तत्कालीन राजनीतिक परिस्थितिका कारण यसको पक्ष र बिपक्षमा मत थिए, यसमा कुनै दलले समर्थन गर्ने स्थिति थिएन’, प्रचण्डले भने, ‘तर अब बदलिएको राजनीतिक परिस्थिति र विश्व परिस्थितिमा राष्ट्रिय स्वाधीनताको रक्षाका शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छ । हाम्रा पनि धेरै नेता साथीहरुले यो प्रस्ताव पार्टीभित्र छलफल गरौँ भनिरहनुभएको छ, म पनि यसमा छलफल खुला गर्ने पक्षमा छु, हामी पार्टीबाट नै यस विषयमा स्पष्ट दृष्टिकोण बनाएर जाने छौँ।’ 

आफूहरु केन्द्रीय समिति बैठकको तयारीमा रहेकोले उस्तै परे यही बैठकबाट पनि एउटा प्रस्तावको रुपमा यसलाई लैजान सकिने जानकारी उनले दिए। 

अध्यक्ष प्रचण्डले विश्व शान्तिको केन्द्र लुम्बिनीलाई प्रमुख आधार बनाएर यो क्षेत्रलाई शान्ति क्षेत्रको रुपमा अघि सार्न आवश्यक हुने तर्क गरे। यसमा जनस्तरबाट बहस थालिनु सकारात्मक भएको उनको भनाई थियो। प्रचण्डले आफ्नो पार्टीको तर्फबाट यो अभियानलाई सहयोग हुने प्रतिबद्धता व्यक्त गरे।

दाङका बरिष्ठ पत्रकार नारायणप्रसाद शर्मा शान्ति क्षेत्र अभियानको अध्यक्ष हुन्। 

अभियानको तर्फबाट हिजो प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष ज्ञापनपत्र बुझाउँदै संयुक्त राष्ट्रसंघको महासभामा आवाज उठाउन आग्रह गरेको उपाध्यक्ष दोर्जी छिरिङ शेर्पाले बताए। दाङबाट सुरु भएको यो अभियानले दाङ, लुम्बिनी र काठमाडौँमा विभिन्न समयमा विचार गोष्ठी गरिसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .