ad ad

राजनीति


देश आर्थिक संकटमा जाने अवस्थामा छ : डा‍ लोहनी

देश आर्थिक संकटमा जाने अवस्थामा छ : डा‍ लोहनी

फाइल फोटो


नेपालखबर
असोज ८, २०८१ मंगलबार १६:३८, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीको पूर्वअध्यक्ष डा‍ प्रकाशचन्द्र लोहनीले देश आर्थिक रुपले संकटमा जाने अवस्थामा रहेको बताएका छन्।

मंगलबार पार्टीको आन्दोलन केन्द्रित प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै निवर्तमान अध्यक्ष लोहनीले देश आर्थिक रुपमा संकटको अवस्थामा रहेको बताएका हुन्।

उनले देशको अवस्था कर्मचारीलाई तलव दिन पुग्ने समेत नरहेको भन्दै विकासका काम गर्न नसक्ने अवस्था रहेको उल्लेख गरे। उनले ठूला राजनीतिक दलहरूले देशलाई माग्नेको स्थितिमा पुर्याएका बताए।

उनले भने, ‘जनतालाई गर्नुपर्ने लगानीको खर्च घटेर गयो। फाल्तु खर्च, साधारण खर्च, टिएडिए खर्च, प्रशासन खर्च व्यापक बढेर गयो। त्यसले गर्दा नेपालीहरुले पठाएको राजस्वबाट नेपालले विकास गर्ने मौका थियो, त्यो मौका खेर गयो। त्यो मौकाको उपयोग भएन। जसले गर्दाखेरी आज यो सरकारलाई कर्मचारीको तलव दिन पनि पुग्ने अवस्था छैन।’

डा. लोहनीले देशको यस्तो अवस्थामा परिवर्तन वर्तमान शिर्ष राजनीतिक दलका नेताहरुबाट हुन नसक्ने दाबी गरे। उनले नेताहरू भ्रष्टाचारमा लिप्त भएर एक अर्कालाई बचाउन लागेका भन्दै उनीहरुबाट देशको अवस्था रुपान्तरण हुन नसक्ने स्पष्ट पारे।

देशको वर्तमान अवस्थालाई परिवर्तन गर्नका लागि व्यवस्थाकै परिवर्तन गर्नुपर्ने लोहनीको भनाई थियो। उनले त्यसका लागि संविधान नै परिवर्तन गर्नुपर्ने बताए।

उनले भने, ‘१९७० को दशकमा बंगलादेशलाई भन्थे, यो संसारको माग्ने हो भन्थे त्यही माग्नेको स्थितिमा हामीलाई यिनीहरुले पुर्याएका छन्। यो यथार्थतालाई हामीले बताउनुपर्छ। यसलाई परिवर्तन गर्नलाई श्री ३ हरुबाट हुँदैन। किनभने यिनीहरु यति भ्रष्टाचारमा लिप्त भएका छन्, एकले अर्कालाई बचाउनपट्टि लाग्छन्।’

पूर्वअध्यक्ष लोहनीले देशको अस्तित्व बचाउनका लागि अभिभावकीय भूमिकामा राजसंस्थालाई राख्नुपर्ने दाबी गरे। उनले राजसंस्थालाई सक्रिय रुपमा नभई संविधानभित्रको राजसंस्थाको रुपमा अभिभावकीय रुपमा राख्नु उपयुक्त हुने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .