राजनीति


चितवनपछि पोखरा पुगेका सुरेन्द्र पाण्डेले के भने भेलामा?

चितवनपछि पोखरा पुगेका सुरेन्द्र पाण्डेले के भने भेलामा?

लक्ष्मी जि.सी
मंसिर ८, २०७७ सोमबार ८:४२,

नेकपाको शीर्ष नेताहरुबीच केन्द्रित आन्तरिक कलह विस्तारै प्रदेश तथा जिल्ला तहसम्म पुग्न थालेको छ।

पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको एउटा पक्ष र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको अर्को पक्षबीच नेकपाभित्र शक्ति संघर्ष चर्केको हो।

यो संघर्ष विगत् दुई सातादेखि थप पेचिलो बन्दै गएपछि दुवै पक्षले पार्टीका नेता कार्यकर्ताबीच देशव्यापीरुपमा आआफ्ना लविङ तिब्र पार्न थालेका छन्।

यसै क्रममा प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका प्रभावशाली नेता सुरेन्द्र पाण्डे पार्टी विवादबारे गण्डकी प्रदेशका नेता कार्यकर्ताको मन बुझ्न पोखरा पुगेका छन्।

पुर्व अर्थमन्त्री समेत रहेका स्थायी समिती सदस्य पाण्डेले पोखरामा आइतबार त्यहाँका नेता कार्यकर्ताको एउटा समुहसँग अन्तरक्रिया तथा छलफल गरेका छन्।

त्यहाँका अगुवा नेता कार्यकर्ताबाट सो प्रदेशको रिपोर्टिङ लिएर उनी सोमबार बिहानै काठमाडौं फर्किसकेका छन्।

सो भेलामा सहभागी नेकपा केन्द्रीय सदस्य सीता गिरी वलीले सो कार्यक्रम कुनै गुटगत भेला नभई प्रतिनिधिमुलुक तरिकाले गरिएको गण्डकी प्रदेशस्तरीय भेला भएको बताइन्।

पोखराको लेकसाइडस्थित माउण्ट कैलाश रिसोर्टमा भएको भेलामा ३० देखि ४० जना सहभागी थिए।

‘गुटगत भेला नै त हैन, समसामयिक विषयमा छलफल भएको हाे। पार्टीको वर्तमान स्थिति र कार्यदलको प्रतिवेदनबारे छलफल भएको थियो,’

नेपालखबरसँगको कुराकानीमा केन्द्रीय सदस्य वलीले भनिन्, ‘पार्टी अहिले अफ्ठेरो स्थितिबाट गुज्रिरहेको छ। दुई-तिहाइ जनसमर्थन पाएर पनि विधि, पद्धति र विचारबाट नचल्दा समस्या आएका विषयमा छलफल भयो।’

प्रतिपक्षीको समेत विश्वास जितेर सबैलाई समेट्दै प्रभावकारीरुपमा सरकार चलाउनु पर्नेमा पार्टीभित्रै समेत विवाद हुँदा समस्या सिर्जना भएकोले सच्चिएर अघि बढ्नुपर्ने कुरामा जोड दिइएको थियो।

वलीका अनुसार सहभागीहरुले पार्टी फुटाउन नहुने, घोषणापत्रअनुसार काम गर्नुपर्ने, पार्टी र सरकार लहडले नभई विधि र विधानले चल्नुपर्ने सुझाव दिएका थिए।

‘प्रधानमन्त्री पदमा अहिले केपी ओली भएपनि भोली माधव नेपाल वा अरु कोही आउनसक्छन् तर जो भएपनि व्यक्तिले सिस्टमलाई मान्नुपर्छ। व्यक्तिगत रुपमा कुनै आरोप लगाएका छैनौं, हामीले पनि लगाएनौं, उहाँ (पाण्डे) ले पनि लगाउनुभएको छैन,’ उनले भनिन्।

उनले लाखौ जनताले भोट हालेको पार्टी विधिअनुसार नचलेको हुँदा जो त्यसरी चलेको छैन उसलाई विधिअनुसार चल्न भनेको जिकिर गरिन्।

एकदुई जना व्यक्तिबीच निर्णय गरेर र निश्चित व्यक्तिहरुलाई खुशी पारेर मात्र नहुने, पार्टी कमिटीमा निर्णय गर्नुपर्ने र गरिएका निर्णयको कार्यान्वयन हुनुपर्ने कुरालाई छलफलमा जोड दिइएको उनले बताइन्।

यो पनि : प्रचण्डको प्रस्ताव सात वटै प्रदेशमा पठाइयो, यस्तो छ काउन्टर रणनीति

‘पार्टीको समस्या समाधान गर्न भनी कार्यदल बनाइयो, त्यसको प्रतिवेदनअनुसार निर्देशन पनि दिइयो, तर त्यसपछि दुई–चार दिनमा नै के भयो सबैलाई थाहा छ, त्यही विषयमा छलफल भएको हो,’ उनले भनिन्।

शनिबार चितवनमा एउटा पार्टी कार्यक्रममा पाण्डेले सम्बोधन गर्ने क्रममा नेकपाकै अर्को गुटका कार्यकर्ताले होहल्ला गरी सो कार्यक्रम बिथोलेका थिए।

नेताहरुले तुरुन्तै त्यसको भर्त्सना गरेका थिए। नेकपाभित्र ओली र प्रचण्ड–नेपाल पक्षमा बाँडिएका नेता कार्यकर्ताहरु त्यसपछि थप विवादमा उत्रिएका छन्।

पोखराको भेलामा पाण्डेले त्यसबारे पनि बताएका थिए।

‘चितवनमा भएको विषयमा पनि बोल्नुभएको थियो। उहाँ नेता मान्छे त्यो कुराले खासै फरक परेको रहेनछ,’ वलीले भनिन्।

एउटा नेताले भाषण गरिरहेका बेला अरु त्यसरी प्रस्तुत हुनु उद्दण्डता भएको पाण्डेले बताएका थिए।

‘मदन भण्डारीको नाममा नारा लगाँउदै आउनु ठिक होइन। पार्टीमा व्यापकरुपमा बहस हुन्छ तर छलफबाटै समस्याका समाधान निकाल्न सकिन्छ र त्यसै गर्नुपर्छ, चितवनमा जस्तो व्यवहार देखाइयो त्यो उदण्डता हो,’ पाण्डेले भनेका थिए।

यो पनि :
सुरेन्द्रमाथिको दुर्व्यवहारले नेकपामा तरंग, माधवपछि झलनाथले पनि गरे कारबाहीको माग

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .