राजनीति


बागमतीको सभामुखमा राप्रपाका भुवन पाठकको सम्भावना, उद्धव थापा मन्त्री बन्ने

बागमतीको सभामुखमा राप्रपाका भुवन पाठकको सम्भावना, उद्धव थापा मन्त्री बन्ने

राप्रपाका प्रदेश सांसद भुवन पाठक। तस्बिर : बागमती प्रदेशसभा


सुनिता विष्ट
पुस २५, २०७९ सोमबार १८:४, हेटौंडा

बागमती प्रदेशको मुख्यमन्त्री नेकपा माओवादी केन्द्रको भागमा पर्ने भएपछि माओवादीको पोलिटब्यूरो सदस्य शालिकराम जम्मकट्टेल बागमतीको चौथो मुख्यमन्त्री बने। 

केन्द्रको सात दलीय सत्ता गठबन्धनबाट सातै प्रदेशमा लगाइएको भागवण्डाले माओवादीको भागमा बागमती परेको हो। 

केन्द्रको अन्तिम निर्णय नआएसम्म मुख्यमन्त्रीको दाबी गरिरहेको नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यो कार्यकालको पहिलो मुख्यमन्त्रीबाट वञ्चित हुन पर्यो। 

तर यसै कार्यकालको दोस्रो मुख्यमन्त्री भने एमालेको भागमा परेको छ। जसअनुसार, एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया दोस्रो मुख्यमन्त्री बन्नेछन् भने राप्रपाको मुख्यमन्त्रीको भाग खोसिएको छ। 

सत्ता गठबन्धनमा रहेका दलहरुलाई भागवण्डा पुर्याउनका लागि एकै कार्यकालमा दुई मुख्यमन्त्री पाउने निर्णय नै भइसकेको अवस्थामा राप्रपाले भने बागमती प्रदेश सभाको सभामुख पाउने भएको छ। 

सरकार गठनका लागि निर्णायक भूमिकामा रहेको राप्रपाले केन्द्रको निर्णय स्वीकार गर्दै सभामुखमा चित्त बुझाउने भएको हो। 

त्यसो त, सभामुखमा राप्रपाले कसलाई अघि बढाउला भन्ने सबैको चासोको बिषय बनिरहँदा संसदीय दलका नेता उद्धव थापा भने आफू सभामुख भएर नबस्ने बताएका छन्। 

पार्टीले दिए एमाले-माओवादीको समर्थनमा, केन्द्रले छुट्टै अधिकार दिए कांग्रेससँगको समर्थनमा मुख्यमन्त्री बन्ने दाउमा रहेको तपाईं के अब सभामुखमा चित्त बुझाउनुहुन्छ? नेपालखबरको प्रश्नमा थापाले लामो हाँसोसहित भने, ‘म संसदीय दलको नेता, पाए मुख्यमन्त्री नपाए मन्त्री भए हुनपर्यो नि। सभामुख बन्न हाम्रो पार्टीमा अरु सक्षम सांसदहरु हुनुहुन्छ। उहाँहरुमध्ये एकलाई सभामुख बनाउने हो। म त मन्त्रिपरिषद्मा सहभागी हुन्छु।’ 

थापाका अनुसार उनी सभामुख बनेर बस्न चाहेका छैनन्। यता, राप्रपाका केही सांसदहरुका अनुसार सभामुखमा भुवनकुमार पाठकलाई अघि सार्ने तयारी भइरहेको बताइएको छ।

 काठमाडौं जिल्लाबाट राप्रपाको समानुपातिकतर्फ निर्वाचित भएका पाठकलाई सभामुख बनाउन छलफल भइरहेको चर्चा चलेको छ। 

यसै बिषयमा तपाईं प्रदेश सभा सभामुखको दौडमा हो? भन्ने नेपालखबरको प्रश्नमा पाठकले अहिले नै केन्द्रबाट निर्णय आइपुगिनसकेको बताए। 

‘सभामुख राप्रपाको भागमा परेको हो, तर हामी १३ जनामध्ये कसले पाउने भन्ने बिषयमा छलफल भएको छैन,’ उनले भने, ‘केन्द्रले कस्लाई मन्त्री बनाउने ? कस्लाई सभामुख बनाउने भन्ने निर्णय गरेपछि मात्रै हामी अगाडि बढ्ने हो। अहिले आकांक्षी भएर मात्रै पनि केही हुँदैन।’

बागमती प्रदेश सभामा राप्रपाको १३ सिट छ। सात राजनीतिक दलको नेतृत्व रहेकोमा राप्रपा चौथो स्थानमा छ। 

सत्ता गठबन्धनको भागवण्डाअनुसार बागमतीको मुख्यमन्त्रीको आधा-आधा कार्यकाल माओवादी र एमालेको भागमा परेको छ भने राप्रपाले सभामुख पाउने केन्द्रले निर्णय गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .