निर्वाचनमा सोचेजस्तो विजय दिलाउन नसकेपछि माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्षले राजीनामा दिएका छन्।
गत महाधिवेशनका क्रममा लुम्बिनी प्रदेश अध्यक्षमा निर्वाचित सुदर्शन बरालले हारको नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका हुन्।
सत्ता गठबन्धनका बाबजुद माओवादी केन्द्रले लुम्बिनीमा अपेक्षित सफलता प्राप्त गर्न सकेको छैन। दाङ– ३ मा रेखा शर्मा, रोल्पामा वर्षमान पुन र रुकुमपूर्वमा पूर्णबहादुर घर्तीबाहेक यो प्रदेशबाट प्रतिनिधि सभा सदस्यमा माओवादी केन्द्रका अन्य उम्मेदवारले विजय हासिल गर्न सकेका छैनन्।
प्रदेश सभामा पनि माओवादीको उपस्थिति पहिलेजस्तो राम्रो छैन। रोल्पा ‘ख’ र रुकुमपूर्व ‘क’ मा सत्ता गठबन्धनका उम्मेदवारहरुलाई हराउँदै माओवादीका बागी उम्मेदवारहरुले विजय हासिल गरेका छन्।
बराल आफैँ पनि २०७४ मा विजय हासिल गरेको गुल्मी–१ ‘क’ मा एमाले उम्मेदवार दिनेश पन्थीसँग पराजित भएका छन्।
२०७४ को तुलनामा यसपटक माओवादीको चुनावी प्रदर्शन निकै खराव छ। तर, चुनावी हारको नैतिक जिम्मेवारी लिदै राजीनामा दिने पहिलो प्रदेश अध्यक्ष बराल बनेका छन्।
Shares
प्रतिक्रिया