प्रतिनिधिसभा समानुपातिकतर्फ मत गणना जारी छ। यो खबर तयार पार्दासम्म ८३ लाख ९२ हजार ५ सय ९१ सदर मत गनिसकिएको निर्वाचन आयोगले जनाएको छ।
अहिलेसम्मको तथ्यांकअनुसार पाँच दलले ‘थ्रेसहोल्ड’ कटाएका छन्।
आयोगका अनुसार कूल मतदाता १ करोड ७९ लाख ८८ हजार ५ सय ७० रहेकामा ६१ प्रतिशत अर्थात् १ करोड ९ लाख ७० हजार मत खसेको छ। यसमा ३ लाखजति मत बदर भएको अहिलेसम्मको अनुमान छ (पछि बढ्न सक्छ)। अहिलेको हिसाबअनुसार सदर मतको संख्या १ करोड ६ लाख ७० हजार हुन्छ। यसको ३ प्रतिशत थ्रेसहोल्ड ३ लाख २० हजार हुन्छ। प्रत्यक्षतर्फ कम्तीमा एक सिट जितेको दलले समानुपातिकमा थ्रेसहोल्ड पार गरेपछि राष्ट्रिय दलको मान्यता पाउँछ।
यसैबीच यो खबर तयार पार्दासम्म पाँच दलले थ्रेसहोल्ड पार गरिसकेका छन्। आयोगको तथ्यांकअनुसार समानुपातिकमा पहिलो स्थानमा रहेको नेकपा एमालेले २३ लाख ६ हजार ८ सय ३३ मत पाइसकेको छ। दोस्रोमा नेपाली कांग्रेसले २२ लाख १० हजार २ सय ९ मत ल्याएको छ भने तेस्रो स्थानमा रहेर नेकपा माओवादी केन्द्रले ९ लाख ६८ हजार ५ सय ९३ मत प्राप्त गरेको छ। यसपछि चौथो स्थान ओगटेको राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख २५ हजार ३३ समानुपातिक मत पाएको छ। पाँचौं स्थानमा रहेर राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ लाख ८७ हजार ४ सय ८४ मत ल्याएको तथ्यांक छ।
नेकपा एकीकृत समाजवादीलगायत केही दल थ्रेसहोल्ड कटाउन संघर्षरत छन्। यो खबर तयार पार्दासम्म एकीकृत समाजवादीले २ लाख २२ हजार २ सय ३४ मत ल्याएको छ। थ्रेसहोल्ड ३ लाख २० हजार हुँदा उसले अझै १ लाख मत ल्याएमा राष्ट्रिय दलको मान्यता पाउनेछ।
यसैगरी जनता समाजवादी पार्टी (जसपा) पनि २ लाख ८८ हजार १ सय ६२ मतका साथ थ्रेसहोल्ड पार गर्न प्रयासरत छ। उसले ३२ हजार मत ल्याएमा थ्रेसहोल्ड कट्ने देखिन्छ।
जनमत पार्टीले पनि एक अरू लाख मत ल्याउन सके राष्ट्रिय दलको मान्यता पाउनेछ। प्रत्यक्षतर्फ प्रतिनिधिसभामा एक सिट जितिसकेको उसले यो खबर तयार पार्दासम्म २ लाख २२ हजार २ सय २५ समानुपातिक मत पाइसकेको छ।
यस्तै नागरिक उन्मुक्ति पार्टी पनि थ्रेसहोल्ड कटाउन संघर्षरत छ। प्रत्यक्षतर्फ ३ सिट जितेको उसले यो खबर लेखिरहँदा १ लाख ९९ हजार ७९ समानुपातिक मत पाएको छ। उसले थ्रेसहोल्ड कटाउन १ लाख २१ हजारभन्दा माथि मत ल्याउनुपर्छ।
Shares
प्रतिक्रिया