राजनीति


पुराना नेतामाथिको आक्रोशको अचानोमा कांग्रेसका गोविन्द भट्टराई

मत फेर्न तयार भएका भन्छन् : रामचन्द्रले विकासको कामै गरेनन्
पुराना नेतामाथिको आक्रोशको अचानोमा कांग्रेसका गोविन्द भट्टराई

फाइल तस्बिर


वाशुदेव मिश्र
बैशाख ७, २०८० बिहिबार २१:५८, तनहुँ

बुधबार तनहुँको डुम्रेमा आयोजित सत्ता गठबन्धनको चुनावी सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने, ‘मैले यही मञ्चबाट रामचन्द्र पौडेलजीलाई प्रधानमन्त्री बन्ने सम्भावना छ भनेको थिएँ। उहाँ प्रधानमन्त्रीभन्दा उच्च राष्ट्रपति हुनुभयो। यो राष्ट्रपतिको जिल्ला हो।’

कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि भाषिक एकताका प्रतीक भानुभक्त आचार्यको जिल्ला अब राष्ट्रपतिको जिल्ला भएको भन्दै तनहुँको चर्चा गरे।

मंसिर ४ मा विजयी बनेर फागुन २५ मा राष्ट्रपति भएपछि खाली भएको तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुँदै गर्दा रामचन्द्र पौडेलको चर्चा नहुने कुरै थिएन।

नेतामात्रै होइन, मतदाताहरुले पनि रामचन्द्रलाई विभिन्न कोणबाट सम्झिरहेका छन्। २०४८ सालको चुनावमा तनहुँ क्षेत्र नम्बर १ बाट विजयी रामचन्द्रले त्यसपछि पछाडि फर्केर हेर्नुपरेन। २०४९ सालमा स्थानीय विकास र शिक्षामन्त्री बनेका रामचन्द्र २०५१ सालमा सभामुख भए।

२०५६ सालमा तनहुँ क्षेत्र नम्बर २ मा सर्दा पनि उनको विजय यात्रा रोकिएन। रामचन्द्रले पुनः उपप्रधान र गृहमन्त्रीको जिम्मेवारी सम्हाले।

२०६२/०६३ को जनआन्दोलनपछि उनी शान्ति तथा पुनर्निर्माणमन्त्री बने। २०६४ सालको संविधानसभा चुनावमा तनहुँ क्षेत्र नम्बर २ बाट विजयी भएपछि उनी कांग्रेस संसदीय दलको नेता नै बने।

२०७० मा पनि जनताले उनलाई हराएनन् । बरु, २०७४ सालको चुनावमा उनी तनहुँ क्षेत्र नम्बर १ बाट पराजित भए।

उनको हारलाई समकक्षी नेता गोविन्दराज जोशीलाई पाखा पारेपछिको परिणामको रुपमा अर्थ्याइयो। रामचन्द्र पक्षधरले चाहिँ गोविन्दराज जोशीले पार्टीमाथि ‘घात’ गरेको विश्लेषण गरेका थिए।

गोविन्दराजलाई पार्टीबाट बाहिर राखिएको २०७९ सालको चुनावमा रामचन्द्रले सहजै विजय प्राप्त गरे। प्रधानमन्त्री बन्ने भन्दै भोट मागेका उनी अहिले भाग्यले राष्ट्रपति बन्न पुगे।

२०४८ सालमा जन्मेकाहरु अहिले ३२ वर्षका भइसके । अर्थात् रामचन्द्रलाई २०४८ सालमा भोट हालेकाहरु नै नाति–नातिना खेलाउँदै छन्।

राष्ट्रपति पौडेककै गाउँ व्यास ८ रिस्तीका बिर्ख गुरुङको कुरा मान्ने हो भने उनले ३१ वर्षदेखि कांग्रेसलाई भोट हाल्दै आए।

अर्थात् उनको भोट रामचन्द्रलाई गयो। तर, यो पटक उनै बिर्खको मन बदलिएको छ। उनी बदलिनुको कारण चाहिँ ठूलो छैन।

उनकै कुरा सुनौँ न! भन्छन्, '३१ वर्षदेखि भोट हाल्दै आएँ, उनले (रामचन्द्रले ) आफ्नो घर जाने बाटो पनि बनाएनन्।’

तनहुँको सत्रसयदेखि रिस्ती पुग्ने बाटो पक्की बनाउन नसकेको दोष उनले रामचन्द्रको टाउकोमा थोपरिदिए।

तनहुँको भानु ११, मानेचौकाका शमशेर तामाङ भन्छन्, ‘हाम्रो घर आउने  बाटोको ट्रयाक २०५१ सालमा खोलिएको हो, अहिले पनि धुलाम्य सडक चिल्लो बनेको छैन। हामीले भोट हालेका नेताहरु ठूला बने तर बाटो पनि बनाउन सकेनन्।

बिर्खको मन त यो पटक बदलिएको हो। शमशेर भने अघिल्लो चुनावमै बदलिसकेका थिए। अघिल्लो चुनावमा गोविन्दराज जोशीको कैँची चिन्हमा भोट हालेका उनी र बिर्खले यो पटक ‘घण्टी’ रोज्दैछन्।

बिर्ख र शमशेर त प्रतिनिधि पात्रमात्रै हुन्। कांग्रेसमाथि  सधैँ सत्तामा रहेर पनि विकासको काम गर्न नसकेको आरोप लगाउनेहरुको संख्या ठूलै छ।

र, त्यसबाट कांग्रेसका अर्का नेता गोविन्दराज जोशी भने बचेका छन्। उनी राजनीतिक जीवनकालमा शिक्षा मन्त्री , खानेपानी तथा सरसफाइ मन्त्री, जलस्रोत मन्त्री, स्थानीय विकासमन्त्री ,शिक्षा संस्कृति तथा समाज कल्याण मन्त्री र गृहमन्त्रीसमेत भए।

तर उनी भ्रष्टाचारको मुद्दा लागेपछि उनको राजनीतिक जीवन अन्त्य भएको थियो। खासगरी तनहुँमा वर्षौँ अगाडिदेखि खोलिएका कच्ची बाटाहरु पक्की र बाह्रै महिना चल्ने बनाउन नसकेको उनीहरुको गुनासो छ।

मतदाता भड्किएको र पक्की बाटो खोजेको आउँदो १० गतेको उपनिर्वाचनमा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका गोविन्द भट्टराईलाई जानकारी नहुने कुरै भएन।

त्यसले, बुधबार तनहुँकै डुम्रेमा आयोजित प्रधानमन्त्री प्रचण्डसहित ३ पूर्वप्रधानमन्त्री सहभागी आमसभामा उनले प्रधानमन्त्रीको हातमा एउटा चिट थमाए।

उनी स्वयंले २०७५ सालअघि नै ट्रयाक खोलिएका बाटाहरु कालोपत्रे गरिने घोषणा गरिदिन प्रधानमन्त्रीसँग आग्रह गरे।

प्रधानमन्त्रीले आफ्नो भाषणको क्रममा २०७५ सालभन्दा पहिलेका सडक कालोपत्रे गर्न नीतिगत व्यवस्था गर्ने आश्वासनमात्रै दिएनन्, पृथ्वी राजमार्ग स्तरोन्नतिलाई गति दिने पनि बताए।

हो, अहिले मुख्य दलहरुलाई आफैँले सुरु गरेका विकास संरचनाहरु चुनौती बनेर उभिएका छन्। जसले गर्दा, जनता उनीहरुसँग आक्रोशित मात्र छैनन्, मन बदलिरहेका छन्।

यसको असरको भागिदार कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई र एमालेका सर्वेन्द्र खनाल भइरहेका छन्। लाभ भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले पाइरहेका छन्। 

मौन अवधि सुरु हुनअघि उनले पुराना दलको अक्षमतामाथि प्रहार गर्दै आफूलाई मत मागिरहेका छन्। र, त्यसकै कारण उनको पक्षमा मुख्य सहरदेखि गाउँसम्मै माहोल गर्माएको छ।

तनहुँमा कांग्रेस उम्मेदवार गोविन्दको पक्षमा १० दलीय गठबन्धन छ। तर, सहरी क्षेत्रका मतदातामा राष्ट्रिय स्वतन्त्र पार्टीको यस्तो प्रभाव बढेको छ कि, यसअघि माओवादी केन्द्रकै मतदाता रहेका पनि ‘घण्टी’प्रति आकर्षित छन्।

तीमध्ये एक हुन्,व्यास १२ की पुष्पा कँडेल । स्थानीय चुनावमा माओवादीसँग गठबन्धन नगरेको रिसले पनि उनलाई रास्वपातिर ढल्कन सघाएको हो। उनी भन्छिन्,‘हामीलाई उनीहरु (कांग्रेस) ले टेरेनन्, एकपटक नयाँलाई हेर्ने हो।’

रामकुमार श्रेष्ठ पुरानाबाट आजित
आजीवन रुखमा भोट हालेका व्यासका राजकुमार श्रेष्ठकै भनाइ मान्ने हो भने,उनीहरु पुरानाबाट आजित बनेका छन्।

‘रामचन्द्रलाई जिताएर के भो र? आश मात्र देखाए, नयाँले केही गर्छ कि भन्ने हो,’ उनले थपे। उनले गोविन्दलाई नराम्रो भनेनन्, तर यसअघिका रामचन्द्रहरुसँग आजित भएको बताए। 

मौनअवधि उपयोग गर्दै मुख्य दल
बिहीबार नेपाली कांग्रेस र एमालेका स्थानीय नेताहरु मौन अवधि कसरी उपयोग गर्ने भन्नेबारे गम्भीर छलफलमा जुटेको देखियो।

औपचारिक चुनावी सभा छाडेर कांग्रेसको मुख्य टोलीले आफ्नो कमजोरीको समीक्षा गरिरहेको एक जिल्लास्तरीय नेताले बताए।

कांग्रेस तनहुँका सभापति जीतबहादुर आले मगरले अन्तिमसम्म योग्य उम्मेदवारलाई नै जनताले चुन्ने भएकाले आफूहरु ढुक्क भएको बताए। एमालेका नेताहरुको आँकलन भने केही फरक छ।

एमालेमा ३५ देखि ५५ वर्षसम्ममा मतदाताहरु संगठित छन्। ‘२०४६ सालपछि मदन भण्डारीको भाषण सुनेर, मनमोहन अधिकारीको कार्यकालको काम देखेर अनि केपी ओलीको राष्ट्रवादी छविका कारण संगठित भएका कार्यकर्ताले सूर्यमै भोट हाल्छन्,’ एक एमाले नेताले दाबीसाथ भने,‘भोट हाम्रो कतै जाँदैन, कांग्रेसको भोट घण्टीले काट्दा हामी माथि आउँछौँ।’

तर, सर्वेन्द्रले आफ्नै पार्टीका जिल्लास्तरीय र वडा तहका नेता नचिनेको मूल्य त्यति सस्तो नहुने पनि ती नेताले स्वीकारे।

अंकगणित 
तनहुँ क्षेत्र नम्बर १ मा १ लाख २३ हजार ३०५ जना मतदाता रहेका छन्। अघिल्लो चुनावमा एमाले उम्मेवार एकबहादुर रानाले १९ हजार ९८१ मत प्राप्त गरेका थिए।

कांग्रेसका  रामचन्द्र पौडेल २५ हजार ३७१ मतसहित विजयी हुँदा स्वतन्त्रबाट उम्मेदवार भएका गोविन्दराज जोशीले ६ हजार ८८६ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विकास सिग्देलले ६ हजार ४४ मत पाएका थिए।

समानुपातिकतर्फ उक्त चुनावमा कांग्रेसले सर्वाधिक २० हजार १५८ मत प्राप्त गरेको थियो।  एमालेले १६ हजार ६८३ र रास्वपाले १२ हजार ७७३ मत पाएको थियो।

त्यस्तै सत्ता साझेदार माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले सात हजार ३२३, एकीकृत समाजवादीले ९५०, जनता समाजवादी पार्टीले ३२३, जनमत पार्टीले १६३, राष्ट्रिय जनमोर्चाले ५० र लोकतान्त्रिक समाजवादी पार्टीले २४ भोट पाएका थिए।

यता, गोविन्दराज जोशी समूहले सघाउने भएपछि रास्वपा यत्तिकै उत्साहित छ। गठबन्धनमा रहेका दलहरुको मत पनि आफूतिर आउने आकलन गरेको रास्वपाले मौनअवधिमा आर्थिक चलखेल हुनेमा सचेत हुँदै टोलटोलमा युवा परिचालित गरिएको एक नेताले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .