ad ad

राजनीति


‘फ्लोर क्रस’ गरेका फणीन्द्रलाई कारबाही गर्ने पत्र पेरिसडाँडामा, निलम्बनको तयारी

‘फ्लोर क्रस’ गरेका फणीन्द्रलाई कारबाही गर्ने पत्र पेरिसडाँडामा, निलम्बनको तयारी

नेपालखबर
जेठ २९, २०८१ मंगलबार १७:४३, काठमाडौँ

दलको ह्वीप उल्लंघन गरेको भन्दै नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेशका सांसद फणिन्द्र देवकोटाको कारबाही प्रक्रिया अघि बढाएको छ। 

देवकोटाले सोमबार (जेठ २८) मा फ्लोर क्रस गरेर कांग्रेसका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई मत दिएका थिए।

देवकोटाको निर्णायक मत पाएर पाण्डेले गण्डकी प्रदेश सभामा विश्वासको मत पाएर सरकार जोगाएका छन्।

माओवादीले विश्वासको मतको विपक्षमा उभिन सांसदलाई ह्वीप लगाएपनि त्यसलाई देवकोटाले अवज्ञा गरेका थिए।

सोमबार नै माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलले देवकोटालाई कारबाही प्रक्रिया अघि बढाउन पार्टी कर्यालय पेरिसडाँडालाई पत्राचार गरेको थियो।

पार्टी कार्यालयले कारबाहीको प्रक्रिया अघि बढाएको छ।

‘देवकोटाजीलाई कारबाही गर्ने पत्र पाएपछि आजबाट मुख्यसचिवले तयारी थाल्नुभएको छ,’ स्रोतले नेपालखबरसँग भन्यो, ‘आज उता पठाउँछौँ।’

देवकोटालाई निलम्बन गर्ने भएकोले पहिला स्पष्टिकरणको मौका दिनुपर्नेछ।

त्यसको लागि २४ घण्टाको समय दिइनेछ।

तर, त्यो स्पष्टिकरण चित्त नबुझेपछि पदबाट निलम्बन गर्न सभामुखलाई पत्राचार गर्नेछ। 

‘दल त्याग सम्बन्धि सूचना संसदीय दलले सभामुखसमक्ष पेश गर्नुपर्‍यो, सबै प्रक्रिया टुंगिन बिहीबारसम्म लाग्छ,’ स्रोतले थप्यो।

नेकपा माओवादी केन्द्रले बैठक बसेर कारबाही गरेको निर्णय गर्नेछ। 

माओवादी केन्द्र गण्डकी प्रदेशका संसदीय दलका नेता हरिबहादुर चुमानले पनि केन्द्रको पत्रको पर्खाइमा रहेको बताए। 

‘हामी पेरिसडाँडाको पत्र कुरिरहेका छौँ,’ उनले भने, ‘प्राप्त हुनेबित्तिकै सभामुखसमक्ष निलम्बनका लागि दर्ता गराउँछौँ।’

सभामुखले दल त्याग गरेर निलम्बन भएको सूचना प्रदेश सभा बैठकमा पढेर सुनाउनुपर्नेछ।

नेपाल समाजवादी पार्टी (नेसपा)का पोलिटब्यूरो सदस्य रहेका देवकोटाले मंसिर ४ मा सम्पन्न प्रदेश सभा चुनाावमा गोरखा २ (१) बाट चुनाव जितेका थिए।

उनले नेकपा माओवादी केन्द्रको चुनाव चिन्हबाट चुनाव जितेकोले दलको ह्वीप लाग्ने बताइएको छ।

तर, देवकोटा भने त्यस्तो नहुने दाबी गर्छन्। देवकोटा मंगलबार उर्जा मन्त्री नियुक्त भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .