राजनीति


जातीय विभेद गर्ने घरबेटी छुटाउन शिक्षामन्त्री नै गएपछि कांग्रेस प्रवक्ताको प्रश्न

जातीय विभेद गर्ने घरबेटी छुटाउन शिक्षामन्त्री नै गएपछि कांग्रेस प्रवक्ताको प्रश्न

नेपालखबर
असार ९, २०७८ बुधबार १४:५०,

काठमाडौंमा डेरा खोज्ने क्रममा सञ्चारकर्मी रूपा सुनारलाई जातीय विभेद गरेको आरोपमा पक्राउ परेकी घरधनीलाई शिक्षामन्त्री नै गएर छुटाएपछि नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विरोध गरेका छन्।

सरकारले नै जातीय भेदभावको पक्ष लिएको भन्दै प्रवक्ता शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका हुन्।

जातीय विभेदको कहालीलाग्दो व्यथा अन्त्य गर्न पहल गर्नुपर्ने मन्त्रीले नै विभेदको पक्षधरता लिएर खुला सन्देश दिएको शर्माको टिप्पणी छ।

‘जातीय विभेदको प्रश्नमा राज्य कहाँ उभिनुपर्छ, प्रधानमन्त्री केपी शर्मा ओली? हिजो गिटार बजाउँदै समानताको गीत गाउँदै, आज गाडी गुडाउँदै, मन्त्रीको साइरन बजाउँदै राज्य एउटा पक्षमा उभिन मिल्छ,’ कांग्रेस प्रवक्ता शर्माले प्रश्न गरेका छन्, ‘जातीय विभेदको कहालीलाग्दो व्यथा अन्त्य गर्न साझा पहल गर्ने कि मन्त्रीले नै पक्षधरताको खुला सन्देश दिने?!!’

यही असार १ गते काठमाडौंको बबरमहलमा भाडामा कोठा हेर्न गएकी रूपा सुनारलाई पहिले कोठा दिने सहमति गरिसकेकी घरधनी सरस्वती प्रधानले पछि उनको जात थाहा पाएपछि बहिष्कार गरेकी थिइन्।

आफूलाई जातीय विभेद गरेको भन्दै सुनारले यही असार ३ गते घरबेटी प्रधानविरुद्ध महानगरीय प्रहरी वृत्त (सिंहदरबार) मा उजुरी दिएकी थिइन्। त्यसपछि ६ गते प्रहरीले उनलाई पक्राउ गरेको थियो।

तर जिल्ला सरकारी वकिलको कार्यालय (काठमाडौं) ले यथेष्ट प्रमाण नभएको भन्दै मुद्दा फिर्ता गरेपछि आजै (बुधबार) घरबेटी प्रधान रिहा भएकी छन्। उनलाई छुटाउन शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ पनि प्रहरी वृत्त पुगेका थिए भने आफ्नै सरकारी गाडीमा घरबेटी प्रधानलाई लिएर फर्किएका थिए। 

यो पनिरूपा सुनारको विद्रोहमा सबैले साथ दिऔं: डा. बाबुराम भट्टराई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .