चीनको चन्द्रयान पहिलोपटक चन्द्रमाको टाढापट्टिको हिस्साबाट नमुना लिएर पृथ्वीमा फर्केको छ। चाङ ई ६ दुई महिना लामो मिसनपछि भित्री मंगोलियामा मंगलबार अवतरण गरेको हो।
यो मिसनलाई निकै जोखिमपूर्ण मानिएको थियो। वैज्ञानिकहरू चाङ ईले लिएर आउने नमुनाको प्रतीक्षामा थिए। किनकि त्यसले चन्द्रमाको बनोटबारे महत्वपूर्ण प्रश्नका जवाफ दिन सक्छ।
पृथ्वीबाट सधैँ विमुख रहने चन्द्रमाको सो हिस्सामा अवतरण गर्ने चीन पहिलो र एक मात्र मुलुक हो। यसअघि २०१९ मा पनि चिनियाँ यान सो हिस्सामा अवतरण भएको थियो।
पृथ्वीबाट विमुख रहने चन्द्रमाको त्यो भागमा अवतरण गर्न दूरीका कारण चुनौतीपूर्ण छ। त्यस्तै सो भागमा ठुल्ठूला खोँच र सम्म भाग कम भएकाले पनि यहाँ चन्द्रअभियान चलाउन कठिन मानिन्छ।
यो चुनौतीपूर्ण सफलता हात पारेकाले चीन आफ्नो चन्द्रअभियानमा गर्व गर्ने गर्छ। राष्ट्रपति सी चिनफिङले यो अभियान टोलीलाई बधाई दिएका छन्।
चाङ ई ६ मेको सुरुमा प्रक्षेपण गरिएको थियो। केही सातापछि यो चन्द्रमामा अवतरण गरेको थियो। यो मिसन ५३ दिन चलेको थियो। एजेन्सी
Shares
प्रतिक्रिया