समाज


अनि परिवारले नै पिए विष

फाइनान्सकै कारण उजाडियो परिवार
अनि परिवारले नै पिए विष

परिवारले नै विष पिएको कोठामा अनुसन्धान गर्दै प्रहरी टोली। तस्बिर : नेपालखबर


उजिर कार्की
फागुन २४, २०७८ मंगलबार १६:६, काठमाडौँ

काठमाडौंको रामकोटमा एकै परिवारका ५ जनाले एकसाथ विष पिएको घटनामा गोरखा फाइनान्स जोडिएको छ। 

गोरखा फाइनान्सले झुटो आरोप लगाउँदै मुद्दा दर्ता गरेपछि आत्महत्याको निर्णय लिएको प्रधान परिवारले लेखेको सुसाइड नोटमा उल्लेख छ। 

विष पिएकामध्ये ३५ वर्षीया मन्दिरा प्रधान गोरखा फाइनान्समा काम गर्थिन्। तर उनलाई आर्थिक हिनामिना आरोप लगाउँदै फाइनान्सले केही महिना अगाडि जागिरबाट निकालेको थियो। 

जागिरबाट निकालिसकेपछि उनीविरुद्ध जनसेवा प्रहरी वृत्तमा उजुरी समेत हालिएको थियो।

वृत्तका डीएसपी डिलबहादुर मल्लले करिब ७ लाख रुपैयाँ हिनामिना आरोप लगाउँदै फाइनान्सले मन्दिराविरुद्ध उजुरी हालेको बताए।

प्रहरीले त्यही जाहेरीका आधारमा मन्दिरालाई गत शुक्रबार पक्राउ गरेको थियो। तर उनलाई त्यही साँझ मन्दिराका जेठाजु कुमारमान प्रधानको रोहबरमा छाडिएको थियो।

मन्दिराले भने आफन्तसँग तीन-चार लाख रुपैयाँ मात्रै हराएको बताएकी थिइन्। तर फाइनान्सले अरु पनि रकम हिनामिना गरेको आरोप लगाएको प्रहरीले जनाएको छ। 

यो परिवारले विष पिउनुअघि सुसाइड नोट लेखेको भेटिएको छ। सुसाइड नोटमा भीम प्रधान र मन्दिराले हस्ताक्षर गरेका छन्। 
भीमकी आमा ६२ वर्षीया इन्दिराले औँठाछाप हानेको भेटिएको छ। सुसाइड नोटमा फाइनान्सका ५-६ जना कर्मचारीको परिचय र मोवाइल नम्बर पनि उल्लेख छ। 

जनसेवाका डीएसपी मल्लले शुक्रबार छलफल गरेर पठाएको बताउँदै सकेसम्म मिल्न भनेको सुनाए। इन्दिरालाई शुक्रबार ६ घण्टासम्म प्रहरीले थुनेको जेठाजु कुमारमानले बताए। आइतबार हाजिर गराउने शर्तमा उनलाई छाडिएको थियो। 

तर, आइतबार पनि फाइनान्सले बारम्बार ताकेता गरेको थियो। त्यतिबेलै इन्दिराले आफूले रकम तिर्न नसक्ने भन्दै बरु आत्महत्या गर्ने बताएकी थिइन्। 

कोठा भाडामा लिएर प्रधान परिवार बस्दै आएको घर। तस्बिर : उजिर कार्की/नेपालखबर

यसबारेमा कुमारमानले फाइनान्सका कर्मचारीलाई भन्दा घुर्क्याएको भन्दै जसरी पनि प्रहरी कार्यालय ल्याउन भनेका थिए। 

फाइनान्सका कर्मचारीले अन्य रकम पनि इन्दिराले हिनामिना गरेको आरोप लगाएको कुमारमानले बताए। 

यही कारण आत्महत्या गरेको उल्लेख सुसाइड नोटमा उल्लेख गरेर विष पिएकामध्ये भीम प्रधानका भतिजा ३३ वर्षीय सुवर्णमानको मृत्यु भइसकेको छ। 

४० वर्षीय भीममान प्रधान, उनकी आमा ६२ वर्षीया इन्द्रमाया र छोरी ११ वर्षीया सुब्रिनाको स्वयम्भूस्थित मनमोहन अस्पतालमा उपचार भइरहेको छ। 

उनीहरुको स्वास्थ्य अवस्था जटिल रहेको आफन्तले बताएका छन्। अहिले ठूलो संख्यामा आफन्तहरु अस्पतालमा जम्मा भएका छन्। 

सोमबार राति ९ बजेतिर उनीहरु घरमा ढोका बन्द गरेको अवस्थामा बेहोस भेटिएका थिए। तीनवटा कोठामा उनीहरु बेहोस भेटिएको प्रहरीले जनाएको छ। 

तत्काल अस्पताल लगिए पनि भतिजको राति नै मृत्यु भएको थियो। काठमाडौंको डल्लु घर भएका उनीहरु रामकोटमा चारवटा कोठा भाडामा लिएर बस्दै आएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .