समाज


कुकुरले संकेत दिँदा सम्भव भयो विष पिएका ५ जनाको उद्धार

कुकुरले संकेत दिँदा सम्भव भयो विष पिएका ५ जनाको उद्धार

उजिर कार्की
फागुन २४, २०७८ मंगलबार २१:५५, काठमाडौँ

आइतबार बेलुकी ७/८ बजे। काठमाडौँको नागार्जुन नगरपालिका ६ डाँडापौवाको पुरानो साढे दुई तले घरमा बेस्सरी कुकुर भुकेको आवाज आइरहेको थियो। 

पहिलो तलामा डल्लुका भीम प्रधानको परिवार बस्थ्यो।

आफूलाई शान्त ठाउँ चाहिने भन्दै गत कात्तिकको अन्तिममा उनी त्यहाँ डेरा सरेका थिए। त्यसअघि उनी घट्टे खोलामा बस्थे। डल्लुमा दाजुभाइसँग घर अंशबण्डा भएपछि डेरामा बसेको उनी बताउँथे।

सो घरमा डेरा बसिरहेका अरुलाई भीमले नै मिलाएर अन्त सारे। त्यसपछि चार वटा कोठाको फ्ल्याट पुरै प्रधान परिवारले लियो। 

घरबेटी उद्धवराज पुरीको अर्को घर स्वयम्भूमा छ। उनको सपरिवार उतै बस्छन्। सोमबार राति डाँडापौवाका छिमेकीले पुरीलाई फोन गरे। 

‘तपाईंको घरमा कुकुर भुकिरहेका छन्। भित्रबाट ढोका बन्द गरिएको छ। मान्छे बोलाउँदा पनि बोल्दैनन् भन्ने जानकारी आयो,’ पुरी भन्छन्, ‘त्यसपछि मैले झ्यालतिरबाट हेर्नु त भनेँ। झ्यालबाट चिहाउँदा भित्र मान्छेको खुट्टा देखिएछ।’

यति देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरे। घरबेटी पुरीले पनि भीमका दाइलाई जानकारी गराए। प्रहरी र स्थानीयले चेनगेटमा लगाएको ताला फुटाए। 

पश्चिमतिरबाट भित्र पस्ने ढोका छ। ढोकाबाट दायाँतर्फको कोठामा भीममान प्रधान, उनकी ६२ वर्षकी आमा इन्दिरामाया र ११ वर्षकी छोरी सुप्रिया ढलिरहेका थिए। बायाँतर्फको कोठामा भीमका भतिज ३३ वर्षीय सुवर्णमान प्रधान थिए। उनको अवस्था निकै जटिल थियो। त्यसभन्दा पूर्वतर्फको कोठामा भीमकी श्रीमती ३५ वर्षकी मन्दिरा प्रधान थिइन्। उनी भने छटपटाइरहेकी थिइन्। 

स्थानीय र प्रहरीले उनीहरुलाई तत्काल अस्पतालतर्फ लगे। सुवर्णमानलाई अस्पतालले साढे १० बजे मृत घोषित गर्यो। अरुको आईसीयूमा उपचार भइरहेको छ। तर सबैको अवस्था जटिल रहेको आफन्तले बताएका छन्। 

कुकुरले गर्दा पुगे छिमेकी 
भीमले जर्मन सेफर्ड जातका कुकर पालेका छन्। अहिले उनको घरमा चार वटा कुकुर छन्। उनी कुकुरका बच्चा हुर्काएर बेच्थे। सुरुमा उनले घरबेटी पुरीलाई कुकुर पाल्ने भनेका थिएनन्। 

‘पहिले पाल्थेँ भनेर सुनाएका थिए। घरमा बसिसकेपछि यहाँ पनि ल्याएर पाले,’ पुरीले मंगलबार दिउँसो नेपालखबरसँग भने। 

घरको माथिल्लो तलाको कोठामा घरबेटीकै राखनधरन थियो। बेलाबेला आउने जाने गर्थे। त्यही घरको तल्लो तलामा बस्नेहरुसँग आउजाउ हुँदैनथ्यो। 

‘हाम्रोमा आउनेजाने, बोल्ने केही पनि थिएन,’ तल्लो तलामा कोठा बस्ने भन्छन्, ‘उहाँ आफ्नै सुरमा, हामी हाम्रै सुरमा हुन्थ्यौँ।’

सोमबार साँझ कुकुर भुकिरहँदा पनि एकछिन् त उनीहरुले घरमा कोही मान्छे रहेनछन्, भोकले भुकेका होलान् भनठानेछन्। तर अति नै गरेपछि छिमेकीले घरबेटीलाई फोन गरिदिए। 

‘सुरुमा त मैले पनि कतै पार्टीमा गएका होलान्, उनीहरुको भोजभतेर भइरहन्छ भनेँ, पछि एक पटक गएर हेर्नुन त भनेको थिएँ,’ पुरीले नेपालखबरसँग भने। 

त्यसपछि झ्यालबाट चिहाउँदा मान्छे देखेपछि मात्रै ढोका फुटाइएको थियो। पुरानो घरका झ्यालढोका मक्किएका थिए। अगाडि सडकतिरबाट ह्वांगै भएपनि प्रधानले त्यहाँ पलास्टिकले ढाकेर भित्र नदेखिने बनाएका थिए। 

‘कुकुर नभएको भए कसैले चाल नपाउने रहेछन्,’ पुरीले भने, ‘तर कुकुरले गर्दा उनीहरुको तत्काल उद्धारचाहिँ सम्भव भयो।’

घरभित्र सल्फरलगायत अन्य विषादीका बट्टा भेटिएको छ। उनीहरुले विभिन्न विषादी मिसाएर खाएको अनुमान गरिएको प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए। 

आर्थिक संकट र सहकारीको मुद्दा कारण भएको शंका  
घटनास्थलमा तीन जनाको नाम र हस्ताक्षरसहितको ‘सुसाइड नोट’ भेटिएको छ। जसमा विष सेवन गर्ने अवस्थासम्म त्यो परिवार किन पुग्यो भन्ने उल्लेख छ। तर, प्रहरीले यसबारे केही बताउन चाहेको छैन।

‘हामी यसलाई परीक्षण गर्छौं। त्यसपछि के रहेछ प्रष्ट हुन्छ,’ एसपी मैनालीले भने। 

सुसाइड नोटका बारेमा आफन्तले पनि जानकारी पाएका छन्। मन्दिरा गोरखाली सहकारीमा काम गर्थिन्। आर्थिक हिनामिनाको आरोप लगाएर सहकारीले जागिरबाट निकालेको भीमका दाइ कुमारमान प्रधानले बताए। 

मनमोहन अस्पतालमा भेटिएका उनले भने, ‘सहकारीले बुहारीलाई मुद्दा लगाएको थियो। शुक्रबार जनसेवा वृत्तमा लगेर ६ घण्टा थुन्यो। म जमानीमा बसेर लिएर आएको थिएँ।’

आइतबार उपस्थित गराउने सर्तमा लिएर आए पनि उनले आइतबार बुहारीलाई प्रहरी कार्यालयमा हाजिर गराउन सकेनन्। मन्दिरा र भीमले प्रायः मोबाइल बन्द गर्थे। सहकारीका कर्मचारीले पटकपटक कुमारमानलाई पनि फोन गरेको उनले सुनाए। 

‘बुहारीले चारलाख जति हराएको हो भन्थिन्। तर सहकारीले १०, १२ लाख नै हिनामिना गरेको छ भन्थ्यो,’ कुमारमानले भने, ‘पैसा जति भए पनि तिरिन्थ्यो तर सहकारीले ज्यादै दबाब दिएर यो अवस्था आयो।’

उनीहरुले सहकारीले दबाब दिएपछि आत्महत्या गर्ने बताएको तर सहकारीका कर्मचारीले यसरी नघुर्काउन भनेको कुमारमानले बताए। 

सुसाइड नोटमा अन्य आर्थिक समस्यासँगै सहकारीका कर्मचारीको नाम र नम्बर नै उल्लेख रहेको उनले बताएका छन्। यस्तै परिवारलाई नै कोभिड संक्रमण भएको र महमोहन अस्पतालमा उपचार गराउँदा धेरै खर्च लागेको नोटमा उल्लेख छ। 

१०/१२ दिन पहिले घरबेटी पुरीलाई भेट्न भीममान स्वयम्भू पुगेका थिए। त्यतिबेलासम्म पनि उनी आफूलाई कोभिडले नछाडेको बताउँथे। 

‘मलाई अझै ठिक भएको छैन। छाती दुखिरहन्छ भने। हामीलाई कोभिड सर्ला भनेर घरभित्र पस्न पनि मानेनन्,’ पुरीले सुनाए। 

उनले पुरीसँग आफू र श्रीमतीले नै डिप्रेसनको औषधी खाइरहेको पनि बताएका थिए। गत कात्तिकबाटै डेरामा बसे पनि उनले घरभाडा तिरेका छैनन्। पुरीसँग सम्झौता गर्नै बाँकी छ। 

‘पटकपटक छलफल भएको हो। मन्दिराले सम्झौताको कागज बनाउँछु भनेकी थिइन्। कोभिडले गर्दा त्यत्तिकै भइरहेको थियो। सम्झौता हुनै बाँकी रहेकाले उनीहरुसँग एक रुपैयाँ पनि भाडा लिएको छैन,’ पुरीले भने।

पुरीसँग पनि उनले आर्थिक समस्या भएको सुनाउँथे। तर मन्दिरालाई सहकारीले मुद्दा लगाएको र के कारण जागिरबाट निकालिदिएको भनेका थिएनन्। मन्दिराको खुट्टा फ्याक्चर भएको र त्यही कारण अफिस जान नसक्दा जागिर गएको सुनाएको घरबेटी पुरीले बताए। 

‘कहिले मलाई पुरै घर भाडामा दिनुस्। कागजका बट्टा बनाउने फ्याक्ट्री चलाउँछु तल्लो तलामा भन्थे। कहिले अब म यहाँ बस्दिनँ। जग्गाजमिन भएको अलिक शान्त ठाउँमा जान्छु र बाख्रा पाल्छु भन्थे,’ पुरी भन्छन्, ‘मसँग भेटहुँदा खाली असफल भएँ मात्रै भन्थे। निराश भएर यसो गरेको हुनसक्छ।’ 

प्रहरीले भने सामूहिक विष सेवनको कारणबारे पनि अनुसन्धान भइरहेको बताएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .