समाज


दुवै जिल्ला अदालतले दोषी ठहर गरे पल शाह कति जेल बस्नुपर्छ?

दुवै जिल्ला अदालतले दोषी ठहर गरे पल शाह कति जेल बस्नुपर्छ?

उजिर कार्की
चैत ११, २०७८ शुक्रबार २१:२९, काठमाडौँ

अभिनेता पल शाहलाई बालिका बलात्कार मुद्दाको फैसला नहुन्जेल कारागारमै राख्न जिल्ला अदालत तनहुँले आदेश दिइसकेको छ। तर उनीविरुद्ध बलात्कारकै आरोपमा नवलपरासी पूर्वमा पनि अर्को मुद्दा दर्ता छ। त्यहाँ थुनछेक बहस बाँकी नै छ। 

अब जिल्ला अदालत नवलपुरले पुर्पक्षका लागि थुनामा राख्न नपर्ने आदेश दिए पनि उनलाई तनहुँ कारागारमा राखिने छ। तनहुँ कारागारले जिल्ला अदालत नवलपुरको पत्रअनुसार पुर्पक्ष बहसका लागि उनलाई नवलपुर उपस्थित गराउनेछ। थुनछेक बहसपछि जे आदेश भए पनि उनलाई कारागारमा ल्याइनेछ। 

मुद्दा दुवै ठाउँ बलात्कारको। पीडित नाबालिग उही। तर घटनास्थल र घटनाको समय भने फरक। प्रहरीले जुटाएका प्रमाण पनि एउटै। माग गरिएको सजाय पनि दुवै ठाउँमा उस्तै १२ देखि १४ वर्ष कैद र ४ लाख रुपैयाँ जरिवाना। तर पल शाहविरुद्ध पीडितले किन दुई ठाउँमा जाहेरी दिइन्? 

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख सहन्यायाधिवक्ता गंगाप्रसाद पौडेल भन्छन्, ‘घटना हुँदाको पीडितको उमेर, घटनाका प्रमाणले पनि सजायमा फरक पर्छ। त्यही भएर दुई ठाउँमा मुद्दा लानुको अर्थ छ।’

थुनछेक बहसपछि अब दुवै अदालतले आ–आफ्नो प्रमाणअनुसार मुद्दाको अन्तिम फैसला गर्छन्। नवलपुरको घटना २०७७ चैत ७ गतेको भनिएको छ। तनहुँको घटना २०७८ वैशाख १४ गते। आ–आफ्ना प्रमाणको आधारमा सजाय घटिबढी हुनसक्छ।

यो मुद्दामा दुवै ठाउँमा माग गरिएको सजाय एउटै भए पनि सजाय बराबर नै नतोकिन सक्छ। एउटा अदालतले निर्दोष मानेर अर्कोले सजाय तोक्न पनि सक्छ। 

दुवै अदालतले दोषी ठहर गरेर कैद सजाय तोकेको अवस्थामा भने अभियुक्तले एउटा अदालतको आदेशअनुसार मात्रै सजाय भोग्नुपर्छ। 

सहन्यायाधिवक्ता पौडेल भन्छन्, ‘दुवै अदालतको फैसलापछि प्रतिवादीले कैद हद कायम गरी पाऊँ भनी निवेदन दिनुपर्छ। त्यसपछि अदालतले कैद निर्धारण गरिदिन्छ। जहाँको बढी सजाय छ, त्यही कायम गरिदिन्छ।’

जतिवटा मुद्दामा सजाय भए पनि जहाँ बढी सजाय दिइएको हुन्छ, त्यही कार्यान्वयन हुने पौडेलले बताए। त्यसो त जिल्ला अदालतको फैसला नै अन्तिम हुन्छ भन्ने पनि छैन। 

जिल्ला अदालतको फैसला चित्त नबुझे प्रतिवादी वा पीडित उच्च अदालतमा पुनरावेदनका लागि जान सक्छन्। पुनरावेदनको फैसला चित्त नबुझे सर्वोच्च सम्म पुग्न सक्छन्। 

पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत तनहुँको आदेशविरुद्ध पल शाहले उच्च अदालतमा पुनरावेदन दिने भएका छन्। उनलाई धरौटीमा राखेर मुद्दाको अन्तिम किनारा लगाउनु पर्ने उनी पक्षका वकिलको माग छ। केही दिनभित्रै उच्च अदालतमा निवेदन गर्ने पलका वकिल कमलामोहन वाग्लेले बताए। 

थुनछेक आदेशजस्तै यो मुद्दा जिल्लाको फैसलापछि उच्च अदालत र उच्च अदालतपछि सर्वोच्चसम्मै पुग्न सक्छ। त्यसो भएमा सर्वोच्च अदालतको फैसलापछि मात्रै पलको सजाय तय हुन्छ। जिल्ला अदालतको फैसलाअनुसारको सजाय उच्च र सर्वोच्चसम्म पुग्दा कम हुन वा बढी सक्छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .