समाज


डीआईजी बढुवा ढिलो हुँदा यी पाँच जनालाई फाइदा

खाली हुने २० डीआईजीमा ३० एसएसपीको प्रतिस्पर्धा
डीआईजी बढुवा ढिलो हुँदा यी पाँच जनालाई फाइदा

फाइल तस्बिर


उजिर कार्की
चैत २९, २०७८ मंगलबार १२:५०, काठमाडौँ

सरकारले नेपाल प्रहरीमा रिक्त प्रहरी नायव महानिरीक्षक (डीआईजी) बढुवा स्थानीय तहको निर्वाचनपछि मात्रै गर्ने भएको छ। तीनजना एआईजीमा बढुवा भएपछि हाल ती डीआईजीको दरबन्दी रिक्त छ। 

वसन्तकुमार पन्त, धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुक एआईजीमा बढुवा भएका छन्। उनीहरुको स्थानमा बढुवा गर्न आचारसंहिता लागु भइसकेकाले अब निर्वाचन आयोगको सहमति लिनुपर्छ।

सरकारलाई आफूले चाहेका व्यक्ति छनौटमा सकस भएपछि तत्काल डीआईजी बढुवा नहुने भएको हो। वर्तमान सरकारले बढुवा गर्न चाहेका एसएसपीहरु वरीयतामा निक्कै पछाडि छन्। 

यस्तै, अहिले नै बढुवा गर्दा केही एसएसपीहरु आईजीपी थापा र एआईजी सहकुल थापाका ब्याची पनि दाबेदार छन्। 

प्रहरी प्रधान कार्यालय भने अहिले रिक्त पदमा उनीहरुलाई नै बढुवा गर्नु पर्ने पक्षमा थियो। तर, प्रधानमन्त्री देउवाले सुदूरपश्चिमका केही एसएसपीलाई डीआईजीमा बढुवामा नाम लिएपछि बढुवा अलमलमा परेको हो।

यसअघि एआईजी बढुवामाथि पनि सर्वोच्च अदालतमा मुद्दा परेको छ। त्यसमाथि दुवै पक्षलाई छलफल गर्न सर्वोच्चले बोलाएको छ।

छलफलपछि अन्तरिम आदेश नभएमा रिट खारेज हुने निश्चित जस्तै देखिन्छ। तर, सर्वोच्च अदालतले वरीयतामा अगाडी रहेकालाई पनि एआईजीमा बढुवा गर्न निर्देशन दिएको यसअघिको नजिर छ। 

सर्वोच्चको आदेशकै कारण यसअघि एआईजीको संख्या १४ पुगेको थियो। त्यस्तो आदेश सर्वोच्चबाट आएमा रिक्त डीआईजीको संख्या तत्कालै बढ्ने देखिन्छ। नभए उनीहरु वैशाख १९ गते अनिवार्य अवकाशमा जाँदै छन्। 

वैशाख १९ पछि २० डीआईजी खाली
वैशाख १९ गते आईजीपी थापाको ब्याच अनिवार्य अवकाशमा जाँदैछ। ३० वर्षे सेवा हदका कारण केही एसएसपी, अधिकांश डीआईजी र चार एआईजी अवकाशमा जान्छन्। 

एआईजीहरु हरि पाल, निरज शाही, प्रद्युम्नकुमार कार्की र वसन्तकुमार पन्त आईजीपीसँगै अवकाशमा जानेछन्। यस्तै ६ डीआईजीबाहेक १४ जना डीआईजी पनि अनिवार्य अवकाशमा जाने छन्। 

हालका डीआईजी वसन्तकुमार लामा, उत्तमराज सुवेदी, अरुणकुमार बीसी, दिवेश लोहनी, मुकुन्द आचार्य र पूजा सिंह मात्रै बाँकी रहन्छन्। उनीहरुमध्ये वसन्त लामा उमेर हदका कारण जेठ ७ गते अनिवार्य अवकाशमा जानेछन्। 

हालका एआईजीमध्येबाट एकजना आईजीपी र चारजना अवकाशमा जाँदा ५ जना एआईजी रिक्त हुन्छ। त्यसपछि बाँकी रहेका डीआईजीहरू उत्तमराज सुवेदी, अरुणकुमार बिसी, दिवेश लोहनी, मुकुन्द आचार्य र पूजा सिंह एआईजी हुनेछन्। 

उनीहरु सबै २०४९ चैतमा प्रहरी निरीक्षकमा भर्ना भएका हुन्। 

वसन्त लामा पनि त्यही ब्याचका भए पनि डीआईजी र एआईजीमा रहने उमेर हद ५६ वर्षे भएकाले लामा अवकाश हुनेछन्। लामा अवकाशमा जाने भएपछि नेपाल प्रहरीको जनपदतर्फ एकसाथ २० डीआईजी रिक्त हुनेछ। 

२० डीआईजीमा ३० एसएसपीको दौड  
रिक्त हुने २० जना डीआईजीका लागि ३० जना एसएसपी प्रतिस्पर्धामा छन्। उनीहरु तीन चरणमा बढुवा भएका हुन्। 

नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य, मसउद आलम खाँ एआईजी सहकुल थापासँगै प्रहरी निरीक्षकबाट भर्ना भएका हुन्। 

मसउद आलम २०६९ माघ ११ गते तथा अरु दुई जना नलप्रसाद र मोहनकुमार २०७० साउन ४ गते एसएसपीमा बढुवा भएका हुन्। उनीहरु २०४९ चैत ११ गते प्रहरी निरीक्षकमा भर्ना भएका थिए। 

त्यसपछि २०५१ साल चैत ५ गते प्रहरी निरीक्षकमा भर्ना भएर २०७५ फागुन ६ गते एसएसपीमा बढुवा भएका दाबेदार हुन्। यो ब्याचबाट एकजना आईजीपी पनि हुने सम्भावना छ। 

वैशाख १९ गते आईजीपीको अवकाशपछि यो ब्याचबाट एकजनाले प्रहरीको नेतृत्व गर्ने सम्भावना छ। तर एकसाथ तीन चरणमा भर्ना भएका र तीन चरणमै एसएसपी बढुवा भएका डीआईजी हुने सम्भावना रहेकाले यो ब्याचकै आईजीपी नियुक्त हुने निश्चित भने छैन। 

२०७५ माघमा सन्दीप भण्डारी, टेकप्रसाद राई, उमेशराज जोशी, श्यामलाल ज्ञवाली, रामदत्त जोशी, दीपक थापा, मीरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोख्रेल, टेकबहादुर तामाङ, वसन्तबहादुर कुँवर, भीमप्रसाद ढकाल एकसाथ एसएसपीमा बढुवा भएका हुन्। 

तर यीमध्ये पनि दीपक थापा, टेकबहादुर तामाङ र भीमप्रसाद ढकाल २०५२ भदौ १९ गते प्रहरी निरीक्षकमा भर्ना भएका हुन्। सँगै एसएसपी भएका अरुभन्दा ५ महिना पछिसम्म उनीहरु प्रहरी सेवामा रहन्छन्। भण्डारीसहितको अन्य १० जना भने २०५१ चैत ५ गते प्रहरी निरीक्षकमा भर्ना भएका हुन्। 

यसपछि २०७७ वैशाखमा एसएसपीमा बढुवा भएका जनक भट्टराई, विष्णुकुमार केसी, भरतबहादुर बोहरा, कुबेर कडायत, केदार ढकाल, अशोक सिंह, सुदीप गिरी, दुर्गा सिंह, रविन्द्र केसी, राजेशनाथ बाँस्तोला, किरण राणा, लालमणि आचार्य, यज्ञविनोद पोख्रेल, चन्द्रकुवेर खापुङ पनि डीआईजीका प्रतिस्पर्धी हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .