समाज


यति विमान दुर्घटनामा बितेका ४ भारतीय पशुपति दर्शन गर्न आएका थिए, फेसबुक लाइभ गर्ने सोनु जैसवाल (भिडिओ)

यति विमान दुर्घटनामा बितेका ४ भारतीय पशुपति दर्शन गर्न आएका थिए, फेसबुक लाइभ गर्ने सोनु जैसवाल (भिडिओ)

यतीको विमान दुर्घटनास्थल


नेपालखबर
माघ २, २०७९ सोमबार १८:५१, काठमाडौँ

पोखरामा आइतबार भएको यती विमान दुर्घटनामा मृत्यु भएकामा ५ भारतीय पनि छन्। उनीहरूमध्ये चारजना उत्तर प्रदेश गाजीपुरका बासिन्दा थिए। उनीहरू काठमाडौंस्थित पशुपतिनाथ मन्दिर दर्शन गर्न आएको भारतबाट प्रकाशन हुने अंग्रेजी पत्रिका द इन्डियन एक्सप्रेसले जनाएको छ। 

पोखरा विमानस्थलनजिकै आइतबार भएको विमान दुर्घटनामा यो खबर लेख्दासम्म ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ। अझै ३ जनाको अवस्था अज्ञात छ। उक्त विमानमा चालक दलका चार सदस्यसहित ७२ जना सवार थिए। 

द इन्डियन एक्सप्रेसले मृतक पाँच भारतीयमध्ये चारजनाको बारेमा मात्र जानकारी दिएको छ। यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका पाँच भारतीयमध्ये अभिषेक कुशवाहा, विशाल शर्मा, अनिल कुमार राजभर र सोनु जैसवाल छन्। उनीहरू सबैको उमेर २५ देखि ३० वर्षसम्म रहेको बताइएको छ। उनीहरु सबै उत्तर प्रदेशको गाजीपुर जिल्लाका बासिन्दा थिए। तर, पाँचौं मृतक सञ्जय जैसवालको बारेमा भने खास जानकारी आएको छैन। 

गाजीपुर जिल्ला मजिस्ट्रेट आर्यका अखौरीले प्रशासन मृतकका परिवारसँग सम्पर्कमा रहेको बताएका छन्। पत्रिकाका अनुसार सोनु जैसवालको चक जैनब र अलावलपुरमा घर थियो तर हाल उनी वाराणसीमा बसेका थिए। विशाल शर्मा पनि अलवलपुर निवासी थिए। राजभर चक जैनब गाउँका र कुशवाहा गाजीपुरको नोनहरा क्षेत्रको धर्वामा बस्थे। 

सोनु जैसवाल व्यवसायी थिए। विशाल शर्मा निजी कम्पनीमा काम गर्थे। राजभर र कुशवाहा मिलेर गाजीपुरमा सार्वजनिक सेवा केन्द्र चलाउँथे। 

सोनु जैसवालका बुबा राजेन्द्र जैसवालले सोनु र उनकी श्रीमती रागिनी हालै तीन सन्तानसहित वाराणसी सरेका थिए। उनीहरूका सबैभन्दा कान्छो सन्तान १८ महिनाको छ। 

राजेन्द्र जैसवालले भने, ‘दुर्घटना हुँदा सोनु फेसबुक लाइभ गरिरहेको थाहा पाएको छु। विमानभित्रको उनको भिडिओ सामाजिक सञ्जालमा सेयर भइरहेको छ, त्यसको अनुसन्धान गर्नुपर्छ।’

उनले थपे, ‘शनिबार मैले सोनुकी श्रीमतीलाई फोन गरेर छोराको बारेमा सोधेको थिए उनले सोनु सकुशल नेपाल पुगेको र छिट्टै फर्किने बताएकी थिइन्।’

यी सबै गाजीपुरवासी पशुपतिनाथ मन्दिर दर्शन गर्न काठमाडौं आएको बताइएको छ। राजेन्द्र जैसवालले द इन्डियन एक्सप्रेससँग भनेका छन्, ‘सोनु लामो समयदेखि पशुपतिनाथ जाने सोचमा थिए। त्यसैले उनले आफ्ना साथीहरूसँग जाने योजना बनाए।’

चक जैनाब गाउँपालिकाका प्रमुख विजय जैसवालले सञ्चारमाध्यमबाट पीडित परिवारलाई विमान दुर्घटनाबारे थाहा भएको पत्रिकालाई बताए। परिवारले आफन्तलाई फोन गर्दा चारै जनाको मोबाइल स्विच अफ पाइएको उनले बताए। उनका अनुसार चारैजना बसबाट नेपाल आएका थिए। 

समाचार एजेन्सी पीटीआईलाई उद्धृत गर्दै पत्रिकाले चारै जना शुक्रबार काठमाडौं पुगेर पोखरामा प्याराग्लाइडिङ गर्ने योजना बनाएको जनाएको छ। सर्लाहीका अजय कुमार शाहले पीटीआईलाई भनेका छन्, ‘हामी सबै एउटै गाडीमा आएका थियौं। उनीहरू पोखराबाट गोरखपुर हुँदै भारत फर्कने योजनामा ​​थिए।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .