नेपाली सेना र अमेरिकी सेनाबीच आज (सोमबार) बाट छलफल सुरु हुने भएको छ। काठमाडौंको तीन दिनसम्म चल्ने द्वीपक्षीय सैन्य छलफलमा सहभागी हुन २२ सदस्यीय अमेरिकी सेनाको टोली आइतबार काठमाडौं आइपुगिसकेको छ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीका अनुसार यस्तो छलफल सन् २०१८ देखि हरेक वर्ष आयोजना हुँदै आएको छ।
गत वर्ष भने अमेरिकाको हवाईमा बैठक आयोजना भएको थियो।
यसपटकको छलफल शान्ति सुरक्षा, मानवीय सहायता, विपद व्यवस्थापन र विषयवस्तु विज्ञताको आदान प्रदानमा केन्द्रित हुने नेपाली सेनाले जनाएको छ।
अमेरिकी सेनासँग हुने छलफलको सम्पूर्ण तयारी पूरा भइसकेको सेनाले जनाएको छ।
छलफलमा नेपालको तर्फबाट परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयका सहसचिव र उपसचिवसहित नेपाली सेनाका उपरथीको नेतृत्वमा १४ सदस्यीय टोली सहभागी हुनेछन्।
अमेरिकी सेनाको प्यासिफिक कमाण्डका डेपुटी कमाण्डर मेजर जनरल क्रिस्टोफर स्मिथको कमाण्डमा २२ सदस्यीय टोली सहभागी हुनेछन्।
नेपाली टोलीको नेतृत्व उपरथी अशोकराज सिग्देलले गर्ने तय भएको छ।
Shares
प्रतिक्रिया