भक्तपुरमा ढल विस्तार गर्ने क्रममा पुरिएर एक जनाको ज्यान गएको छ। अर्का एकजना घाइते भएका छन्।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार सुनसरीको गढी गाउँपालिका २ घर भई हाल भक्तपुरको बालकोट बस्ने २२ वर्षीय नितेश ऋषिदेवको मृत्यु भएको हो।
सोही ठेगानाका ३० वर्षीय सियाराम ऋषिदेवको उपचार भइरहेको भक्तपुरका डीएसपी बसन्त पाठकले जानकारी दिए।
आइतबार दिउँसो सूर्यविनायक नगरपालिका २ बालकोट रागिनी हाइटस्थित कौशलटारबाट सिरुटार जाने सडकखण्डको भित्रि बस्तीमा नयाँ ढल विस्तार गर्ने क्रममा ढिस्कोले पुरिएका हुन्।
खाल्डो खन्ने क्रममा एक्कासी माथिबाट माटोको ढिस्को खसी २ जना श्रमिक पुरिएको जानकारी आएपछि उद्धारमा खटिएको प्रहरीले जनाएको छ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय जेसीबीसहित खटिएका थिए। घाइतेलाई तत्काल उद्धार गरी भक्तपुर इन्टरनेशनल अस्पतालमा पठाइएको भए पनि एकजनाको भने साँझ ६ बजेतिर ज्यान गएको हो।
Shares
प्रतिक्रिया