सीसीटीभी चेक प्वाइन्ट बनाउने तयारीअनुसार काठमाडौँ महानगरका विभिन्न स्थानमा सीसीटीभी जडान गरिने भएको छ। काठमाडौँ महानगरले दिने बजेटबाट काठमाडौँका विभिन्न स्थानमा एक सय ६० वटा सीसीटीभी जडान गर्न लागिएको प्रहरीले जनाएको छ।
काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी र उपत्यका प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीबीच यही वैशाख ७ गते सीसीटीभी जडान गर्ने सम्झौता भएअनुसार महानगरपालिकाले क्लोज सर्किट टेलिभिजन (सीसीटीभी) क्यामेरा जडान गर्न रु छ करोड उपलब्ध गराउने भएको छ।
काठमाडौँलाई ‘सीसीटीभी चेक प्वाइन्ट’ बनाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। अपराध गरेर भाग्ने आरोपी (अपराधी) जताबाट पनि सीसीटीभीको चेक प्वाइन्टमा पुग्ने गरी सीसीटीभी जडान गर्ने महानगरको योजना छ। काठमाडौँमा पाँचवटा चेक प्वाइन्ट बनाउने र चेक प्वाइन्टमा राति पनि खिच्ने नाइट मोड भएका क्यामरा जडान गर्ने तयारी भइरहेको उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए।
उनका अनुसार काठमाडौँ उपत्यकाभर दुई सय ४२ वटा ‘सीसीटीभी चेक प्वाइन्ट’ राख्नुपर्ने प्रहरीको प्रक्षेपण छ। बुढानीलकण्ठ नगरपालिकाले पनि सो नगरपालिका क्षेत्रभित्र सीसीटीभी जडान गर्न प्रहरीलाई रु पाँच करोड उलपब्ध गराउने निर्णय गरेको छ। बुढानीलकण्ठ नगरपालिका क्षेत्रभित्र पनि एक सय ४५ वटा सीसीटीभी जडान गर्नका लागि काम अघि बढेको प्रहरीले जनाएको छ। रासस
Shares
प्रतिक्रिया