ad ad

समाज


विद्यार्थीलाई कला, संस्कृति र सम्पदाबारे जानकारी गराउन ‘स्टुडेन्ट एम्बेस्डर’

विद्यार्थीलाई कला, संस्कृति र सम्पदाबारे जानकारी गराउन ‘स्टुडेन्ट एम्बेस्डर’

नेपालखबर
बैशाख २५, २०८० सोमबार १५:४२, काठमाडौँ

विद्यार्थीलाई कला, संस्कृति र सम्पदाको बारेमा जानकारी गराउने उद्देश्यले आयोजना गरिएको स्टुडेन्ट एम्बेस्डरको काठमाडौं संस्करण सम्पन्न भएको छ।

संस्कृति तथा पुरातत्व अध्ययन केन्द्रको आयोजना एवं त्रिभुवन विश्वविद्यालयको नेपाली इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभागको सहकार्यमा सम्पन्न यस कार्यक्रममा विभिन्न विद्यालयका ३१ जना विद्यार्थीहरु सहभागी भएका थिए।

साथै, सोही विद्यालयका सामाजिक विषय पढाउने शिक्षक शिक्षिकाहरुले पनि कार्यक्रममा सहभागिता जनाएका थिए।

बसुन्धरास्थित साउथ वेस्टर्न स्टेट कलेजमा शुक्रबार नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले उद्घाटन गरेको कार्यक्रममा काठमाडौं उपत्यकाका ६ वटा निजी तथा सरकारी विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो।

कार्यक्रममा कक्षा ९ र १० को पाठ्यक्रममा उल्लेखित विषयलाई समेत समेटेर नेपाली कला, संस्कृति र सम्पदाको महत्व एवं यसको उपादेयताको बारेमा बताइएको थियो।

कार्यक्रममा त्रिविको नेपाली इतिहास संस्कृति तथा पुरातत्व केन्द्रीय विभागका विभागीय प्रमुख प्राडा सोमप्रसाद खतिवडा, पूर्व विभागीय प्रमुख प्राडा मदनकुमार रिमाल, सहप्राध्यापक डा सन्ध्या खनाल पराजुली, उपप्राध्यापक डा निर्मला पोखरेल र उपप्राध्यापक अभिजित थापाले आफ्नो प्रस्तुति दिएका थिए।

त्यस्तै, इन्फो नामक संस्थाका पदाधिकारीले सम्पदा क्षेत्रमा प्रदूषणको असरको बारेमा प्रस्तुतीकरण दिएका थिए भने वन उपभोक्ता महासंघको तर्फबाट तेस्रो दिन सुजन खनालले प्राकृतिक सम्पदामा जलवायु परिवर्तनको असर शीर्षकमा आफ्नो प्रस्तुतीकरण दिएका थिए।  

तीन दिनसम्म चलेको यो कार्यक्रमको पहिलो दिन केन्द्रीय विभागका प्राध्यापकहरुले प्रस्तुतीकरण दिएका थिए भने दोस्रो दिन पाटन दरबार क्षेत्र र पशुपति क्षेत्रमा अवलोकन भ्रमणको लागि लगिएको थियो। तेस्रो दिन विद्यार्थीहरुको बुझाइ परीक्षणको कार्यक्रम राखिएको थियो।

यसरी कार्यक्रममा सहभागी भएकाहरुलाई संस्थाले स्टुडेन्ट एम्बेस्डरको संज्ञा दिएका छन्। उनीहरुलाई आफ्नो क्षेत्र वरपर रहेका सम्पदा संस्कृति र पुरातात्विक महत्वका धरोहरहरुको संरक्षणमा लाग्नको लागि प्रेरित गरिएको थियो।

यो कार्यक्रम यो वर्षभरिमा देशका ८ ठाउँमा गर्ने लक्ष्य लिइएको आयोजक संस्थाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .