ad ad

समाज


आज तराईमा हावाहुरीको सम्भावना

आज तराईमा हावाहुरीको सम्भावना

फाइल तस्बिर


नेपालखबर
बैशाख २६, २०८० मंगलबार ७:३४, काठमाडौँ

यतिबेला (मंगलबार बिहान ७ बजे) देशभर मौसम सामान्यतया सफा रहेको मौसमविद्ले बताएका छन्। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार २५ प्रतिशत मात्र आकाश बादलले ढाकिएको अवस्थालाई मौसम सामान्यतया सफा रहेको मानिन्छ। 

मौसम महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो  देशका पहाडी भेगमा आंशिक बदली (२६ देखि ५० प्रतिशत आकाश बादलले ढाक्नु) रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ। दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगका एक/दुई स्थानमा भने मेघगर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ। 

यस्तै दिउँसो तराईका केही स्थानमा सामान्य हावाहुरीको समेत सम्भावना रहेको मौसम महाशाखाको बुलेटिनमा उल्लेख गरिएको छ। 

‘आज तराईका जुनसुकै ठाउँमा हावाहुरी चल्ने सम्भावना देखिएको छ’, मौसमविद् लामिछानेले भने, ‘धेरै ठूलो त होइन, तर सामान्यभन्दा अलि वेगको हावाहुरी आउने सम्भावना छ।’ त्यसैले आज तराईका बासिन्दाले केही सजगता अपनाउनु उचित हुने सुझाव उनले दिए। 

महाशाखाका अनुसार आज राति देशको पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ। कर्णाली, गण्डकी र कोशी प्रदेशका पहाडी क्षेत्रमा एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ। 

काठमाडौंमा आज मौसम कस्तो रहला?
मौसमविद् रोजन लामिछानेको अनुसार काठमाडौंमा आज मौसम आंशिक बदलीको अवस्थामा रहने अनुमान छ। ‘आजलाई यहाँ वर्षाको सम्भावना देखिएको छैन,’ उनले भने। 

गर्मी बढ्ने
मौसम बदली र वर्षा हुने क्रम ह्वात्तै घटेपछि केही दिनदेखि देशभर तापक्रम बढिरहेको छ। अझै २/३ दिन नयाँ प्रणाली (पानी पार्ने प्रणाली) आउने सम्भावना नदेखिएकाले देशभर गर्मी बढ्ने मौसमविद् लामिछानेको भनाइ छ। ‘पहाडमा आंशिक बदली हुने भएकाले ठीकठीकै होला’, उनले भने, ‘तराईमा भने गर्मी अझ बढ्ने सम्भावना छ।’

उनका अनुसार अचेल काठमाडौं उपत्यकाको अधिकतम तापक्रम नै ३० डिग्री सेल्सियस पुगेको छ। आज ३२ डिग्रीसम्म पुग्ने अनुमान गरिएको मौसमविद् लामिछानेले बताए। यस्तै तराई क्षेत्रमा अहिले अधिकतम तापक्रम ४० डिग्रीसम्म पुगेको उनले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .