ad ad

समाज


अर्थसचिव हुन नपाएका अर्याल बने मुख्यसचिव

अर्थसचिव हुन नपाएका अर्याल बने मुख्यसचिव

फाइल तस्बिर


वसन्त अर्याल
जेठ ३२, २०८० बिहिबार १३:११, काठमाडौँ

अर्थमन्त्रालयका क्याडर डा. बैकुन्ठ अर्याल मुख्यसचिवमा नियुक्त भएका छन्। बजेट र अन्तर्राष्ट्रिय सहायता महाशाखा प्रमुख भएर पनि अर्थसचिव हुन नपाएका अर्याल अवकाशको अन्तिम समयमा मुख्य सचिव भएका हुन्। 

अर्याल यही असार २ गते सचिव पदबाट बिदा हुँदै थिए। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले वर्तमान मुख्य सचिव शंकरदास बैरागीलाई राष्ट्रिय सुरक्षा सल्लाहकार बनाएपछि अर्याल कर्मचारीको उच्च पदमा पुगेका हुन्। 

मुख्य सचिव बैरागीको समय असोज १५ गतेसम्म थियो। तर, समयअगावै राजीनामा गराएर अर्याललाई प्रधानमन्त्री कार्यालयमा ल्याइएको छ।

२०७५ असार ३ गते सचिवमा बढुवा भएका अर्याल यही असार २ गते सचिवको ५ वर्षे सेवाअवधि सकिएर अवकाशमा जाँदै थिए। 

सचिवबाट अवकाश हुनुअगावै उनलाई मुख्य सचिवमा बढुवा गरिएको हो। अर्याल सबैभन्दा वरिष्ठ सचिव हुन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार प्रशासनिक कामलाई प्रभावकारी बनाउन अर्याललाई मुख्यसचिवमा नियुक्त गरिएको बताए। 

‘अहिलेका वरिष्ठतम् सचिवमध्ये उहाँ क्षमतावान हुँनु हुँदो रहेछ,’ आचार्यले भने, ‘योजना आयोग, अर्थ, वाणिज्य, राष्ट्रिय वित्त आयोग, सञ्चार, प्रधानमन्त्री कार्यालयमा क्षमता देखाएकाले नियुक्त गरिएको हो।’

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कमलराज भट्टराईले ५८ वर्षको उमेर पुगे अवकाश पाउने बताए। 

‘सचिवको पदावधि ५ वर्ष हुन्छ, मुख्य सचिवको ३ वर्ष,’ भट्टराईले भने, ‘५८ वर्षको उमेर पुगे मुख्य सचिवको पदबाट अवकाश हुने प्रावधान छ।’

अर्यालले २०४९ सालमा हुलाक सेवाबाट सरकारी सेवा सुरु गरेका थिए। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार अर्यालले ३ वर्षे पूरा कार्यकाल बिताउने छन्। काठमाडौंको दक्षिणकालीमा जन्मिएका उनी ललितपुरको ढोलाहिटीमा बस्दै आएका छन्। 

यस्तो छ अर्यालको ट्रयाक रेकर्ड 
अर्थमन्त्रालयको क्याडरका रुपमा परिचित अर्यालले संघीयता कार्यान्वयनमा महत्वपूर्ण मानिएको प्राकृतिक स्रोत तथा वित्त आयोगको सचिवका रुपमा काम गरेका थिए। 

आयोगले संविधानकै व्यवस्था अनुसार संघीय व्यवस्थामा प्राकृतिक स्रोत तथा वित्त व्यवस्थापन र बाँडफाँटका लागि सिफारिस गर्ने निकाय रहेको छ। 

उनले आयोगबाट प्रधानमन्त्री कार्यलय हुँदै वाणिज्य सचिवको जिम्मेवारी पूरा गरेका थिए। 

उनले सचिवमा बढुवाअघि नै ५ महिना कायम–मुकाम सचिव भएर काम गरेका थिए। 

अर्याल सचिव हुँदा अर्थमन्त्रालयका महत्वपूर्ण मानिने बजेट तथा कार्यक्रम महाशाखा र अन्तराष्ट्रिय सहायता समन्वय महाशाखा प्रमुख भएरसमेत काम गरेका थिए। अर्थमन्त्रालयमा रहँदा अर्यालले २ वटा बजेट ल्याएका थिए। 

विष्णु पौडेल पहिलो पटक अर्थमन्त्री हुँदा उनलाई वैदेशिक महाशाखा प्रमुखको जिम्मेवारी दिएका थिए। 

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्तीय आयोगमा उनको भूमिकालाई प्रशासनिक निकायका अधिकारीले राम्रो मान्ने गरेका छन्।   

आयोगबाट प्रधानमन्त्री तथा मन्त्रिपरिष्दको कार्यालयबाट उद्योग तथा वाणिज्य मन्त्रालयमा पुगेका थिए।

केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि देउवा सरकारको पालामा तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सचिव अर्याललाई मन्त्रालयमा तानेका थिए। 

२०७८ साउनमा सञ्चार सचिव भएका उनी रेखा मन्त्रीमा शर्मा आएसगै चैत १५ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्मा सरुवा भएको थियो। 

अर्याललाई प्रधानमन्त्री कार्यालयमा थन्काइएको भन्दै कांग्रेसनिकट अर्थविज्ञले अर्थसचिवका रुपमा ल्याउन अर्थमन्त्री डा. प्रकाशशरण महतलाई सुझाव दिए थिए। तर, महतले उद्योग मन्त्रालयबाट अर्जुन पोखरेललाई अर्थसचिव बनाए। 

सन् २०११ जुलाई मा सहसचिव भएका अर्याल ६ वर्ष ६ महिना अर्थमन्त्रालयका ४ वटा महाशाखा प्रमुख भएर बसे। 

सचिवको रुपमा नियुक्त भए पनि प्राकृतिक स्रोत तथा वित्तय आयोगमा १ वर्ष ९ महिना काम गरे। 

ओली सरकारको पालामा २ वर्ष ९ महिना, करिब २ वर्ष सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा काम गरेका उनी अहिले प्रधानमन्त्री कार्यालयमै छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .