ad ad

समाज


पार्क बनाउन नदिएपछि काटियो एयरपोर्टको तार, मेयर शाहले पत्र बुझ्नै मानेनन्

प्राधिकरण भन्छ : एक व्यक्तिको सनकले अप्ठेरो पर्न सक्छ
पार्क बनाउन नदिएपछि काटियो एयरपोर्टको तार, मेयर शाहले पत्र बुझ्नै मानेनन्

फाइल तस्बिर


वसन्त अर्याल
असार ४, २०८० सोमबार २०:९, काठमाडौँ

काठमाडौं महानगरपालिकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षाका लागि राखिएको तार गैरजिम्मेवारपूर्वक काटेको पाइएको छ। 

नेपाल नागरिक उड्डयन प्राधिकरणको सिनामंगलस्थित जग्गामा पार्क बनाउन नदिएको ‘झोँक’मा फेन्सिङ तार काटेको पाइएको हो। 

काठमाडौं महानगरले प्राधिकरणलाई जेष्ठ नागरिक तथा बच्चाका लागि पार्क बनाउन जग्गा उपलब्ध गराउन आग्रह गरेको थियो। 

तर, प्राधिकरणले विमानस्थलको जग्गा दिन नमिल्ने बताएपछि महानगरले नगर प्रहरी खटाएर घेराबार गरिएको फेन्सिङ काटिदिएको हो। 

गत जेठ ३२ गते काठमाडौं महानगर प्रहरीले सिनामंगलस्थित विमानस्थल क्षेत्रमा प्राधिकरणले लगाएको फेन्सिङ काटेका थिए। 

प्राधिकरणले विमानस्थल सञ्चालन गर्न अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुरक्षाको ग्यारेन्टी गर्नुपर्छ। 

कसैले विमानस्थल क्षेत्रका संरचनामा क्षति पुर्‍याएको सन्देश अन्तर्राष्ट्रिय समुदायमा जाँदा नेपाललाई अप्ठेरो पर्न सक्ने प्राधिकरणका अधिकारीहरु बताउँछन्। 

‘कसैका सनकका भरमा अन्तर्राष्ट्रिय विमानस्थलको सम्पत्तिमा हात लगाउन पाइँदैन,’ प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने, ‘कुनै समस्या भए संवादबाट समाधान गर्नुपर्छ। तर, विमानस्थलकै सम्पत्तिमा छेडछाड गर्दा अन्तराष्ट्रियस्तरमै हामीलाई अप्ठेरो पर्छ।’

प्राधिकरणले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई लेखेको स्पष्टीकरण पत्रमा तत्कालीन श्री ५ को सरकारले अधिग्रहण गरी तारबार गरेको जनाएको छ।

‘उक्त क्षेत्रमा नगर प्रहरी प्रमुख उपरीक्षक राजु पाण्डेसमेतले प्राधिकरणलाई कुनै जानकारी नदिई जेठ ३२ गते फेन्सिङ तार काट्न लाग्दा प्राधिकरणका कर्मचारी यस्तो नगर्न आग्रह गरेको,’ प्राधिकरणले शाहलाई सोधेको प्रश्नमा उल्लेख छ, ‘अटेरगरी जबरजस्तीपूर्वक कानुनविपरीतको कार्य गरेकाले नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ को दफा २५ (१) बमोजिम सजाय किन नगर्ने?’

प्राधिकरणले बालेन्द्रसँगै नगर प्रहरी उपरीक्षक पाण्डे, वडा नम्बर ९ का अध्यक्ष रामजी भण्डारीलाई असार १ गते स्पष्टीकरण सोधेको छ। 
बालेन्द्रले पत्र बुझ्न मानेनन्।

प्राधिकरणले पठाएको पत्र काठमाडौं प्रमुख शाहले बुझ्न मानेका छैनन्। प्राधिकरणले भौतिक रुपमा र ईमेलबाट पनि पत्र पठाए पनि उनले बुझ्न मानेका छैनन्। 

‘प्राधिकरणले पठाएको पत्र महानगर प्रमुखले बुझ्नै मानेनन्,’ भुलले भने, ‘ईमेलबाट पनि पत्र पठाएकाले औपचारिक मान्दा हुन्छ।’

प्राधिकरणले काठमाडौं महानगरसँग समस्या सुल्झाउन असार ३ गते छलफल गरे पनि सहमति हुन सकेन। महानगरको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी छलफलमा थिए। तर, छलफलबाट निष्कर्ष आएको छैन। 

‘काठमाडौं महानगरसँग छलफल भएको थियो,’ प्राधिकरणका उपप्रबन्धक भुलले भने, ‘कुनै निष्कर्ष निस्किएको छैन।’

नागरिक उड्डयन प्राधिकरणले जग्गा नदिएपछि काठमाडौं महानगरले सिनामंगलस्थित नवनिर्मित भवनको नक्सा पासलाई मुद्दा बनाएको दाबी गरेको छ।

नक्सा पास गर्ने अधिकार स्थानीय तहलाई छ। तर पनि नयाँ कार्यालय भवनको नक्सा पास महानगरमा नगरेको प्राधिकरणले जनाएको छ। प्राधिकरणले भवनको नक्सा पास सुरक्षाको विषयसमेत हुने दाबी गर्दै आएको छ। 

यद्यपि काठमाडौं महानगर पालिकाले नागरिक उड्डयन प्राधिकरणलाई मात्र नभई थापाथलीमा बनेका नेपाल राष्ट्र बैंक र नेपाल बाणिज्य बैंकको भवनको नक्सा पास गर्न भनेको छ। 

काठमाडौं महानगरका सार्वजनिक निर्माण विभाग प्रमुख राम थापाले सरकारी निकायले महानगरमा नक्सा दर्ता गर्नै पर्ने बताउँछन्। सुरक्षाको विषय भए संबोधन गरि दर्ता गरिरहेको थापाको भनाइ छ। 

यस्तो छ सवाल जवाफ
मंगल युवा क्वबले गत फागुनमै काठमाडौं महानगरपालिका वडा नं. ९ लाई जेष्ठ नागरिक तथा बालबालिका उद्यान निर्माण गर्न सहयोग मागेको थियो। 

वडाध्यक्ष रामजी भण्डारीले महानगर प्रमुख शाहलाई प्राधिकरणको  खाली जग्गामा आर्थिक वर्ष ०७९/८० भित्रै पार्क निर्माण गर्न आग्रह गरेको छ। 

काठमाडौं महानगरले २०७९ चैत १२ गते प्राधिकरणलाई पार्क बनाउन दिने सहमतिका लागि पत्र पठाएको थियो। 

‘स्थानीयहरुबाट उक्त जग्गामा जेष्ठ नागरिक तथा बालबालिका उद्यान निर्माण गर्न माग भएकामा नागरिक उड्डयन प्राधिकरणको नाममा देखिएकाले उक्त जग्गामा पार्क निर्माण गर्न आवश्यक सहमति लागि अनुरोध छ,’ सार्वजनिक निर्माण विभाग महाशाखा उपनिर्देशक मनोजसिंह सुवालले प्राधिकरणलाई पत्र काटेका थिए। 

पत्र लेखेको २ दिनपछि प्राधिकरणले महानगरको सार्वजनिक निर्माण विभागलाई जग्गा उपलब्ध गराउन नसक्ने पत्र पठयो। 

‘प्राधिकरण आफैंले आर्थिक एवम् वित्तीय स्रोत आफैँले जुटाउनु पर्ने भएकाले प्राधिकरणको स्वामित्व रहेको सिनामंगलस्थित कित्ता नं. ३० को जग्गा उद्यानका लागि उपलब्ध गराउन नसकिने,’ रवीन्द्रराज रेग्मीले काठमाडौं महनगरलाई जवाफ फर्काए। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .