ad ad

समाज


गोपाल खड्कालाई एक वर्ष तीन महिना कैद, दम्पतीकै सबै सम्पत्ति जफत

गोपाल खड्कालाई एक वर्ष तीन महिना कैद, दम्पतीकै सबै सम्पत्ति जफत

नेपालखबर
असार १५, २०८० शुक्रबार १५:५४, काठमाडौँ

नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्कालाई एक वर्ष तीन महिना कैद सजाय तोकिएको छ। गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा दोषि ठहर गर्दै विशेष अदालतले उनलाई शुक्रबार सजाय सुनाएको हो।

विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र खुसीप्रसाद थारुको इजलासले खड्काको नाममा रहेको घरजग्गा, बैंक मौज्दात, सेयरलगायतका सम्पत्ति जफत हुने आदेश गरेको छ।

अख्तियारले २३ पुस २०७५ मा खड्काविरुद्ध मुद्दा दायर गरेको थियो।

गोपालसँगै उनकी श्रीमती शर्मिला खड्कालाई समेत प्रतिवादी बनाइएकोमा शर्मिलाका नाममा रहेको कित्ता नं. १५२२ र १४२३ मा रहेको घरसमेत जफत हुने भएको छ।

यसै मुद्दाकी अर्की प्रतिवादी अमिता लामा सोदेम्बाको नाममा रहेको जग्गासहितका सम्पत्ति पनि जफत हुने भएको छ। 
अख्तियारले सिजी डेभलपर्स प्रालिलाई पनि प्रतिवादी कायम गरेकोमा उक्त कम्पनीको सम्पत्ति पनि जफत हुने फैसला भएको छ।

गोपालसँगै उनकी श्रीमती शर्मिला खड्कालाई समेत प्रतिवादी बनाइएकोमा शर्मिलाका नाममा रहेको कित्ता नं. १५२२ र १४२३ मा रहेको घरसमेत जफत हुने भएको छ।

यस्तै मुद्दाकी अर्की प्रतिवादी अमिता लामा सोदेम्बाको नाममा रहेको जग्गासहितका सम्पत्ति पनि जफत हुने भएको छ। 

अख्तियारले सिजी डेभलपर्स प्रालिलाई पनि प्रतिवादी कायम गरेकोमा उक्त कम्पनीको सम्पत्ति पनि जफत हुने फैसला भएको छ।

खड्काले गैरकानूनी रूपमा १८ करोडभन्दा बढी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियारले २०७५ पुस २३ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

२०६९ चैत २ गतेदेखि निगमको कार्यकारी निर्देशक रहेका खड्काले पदमा बहाल रहँदा २७ करोड ३० लाख ७५ हजार ३८० रुपैयाँ खर्च तथा लगानी गरेकोमा ८ करोड ६४ लाख ६९ हजार ७५१ को मात्र स्रोत खुलेको दाबी अख्तियारले गरेको थियो।

स्रोत नखुलेको १८ करोड ६६ लाख ५ हजारको सम्पत्ति गैरकानूनी रुपमा आर्जन गरेको दाबी अख्तियारको थियो।

पदमा बहाल रहँदा ४० लाख ५७ हजार १५५ पारिश्रमिक, जग्गा बिक्रीवापत ५८ लाख ७५ हजार, ऋण सापटीको ५ करोड ३३ लाख ३६ हजार, घरभाडावापत १३ लाख ५६ हजार, जागिरबाट अवकाश हुँदा प्राप्त गरेको २९ लाख २२ हजार, पेन्सनवापत प्राप्त १४ लाख ७८ हजार, विप्रेषण आयबाट प्राप्त ८ लाख २६ हजार, गाडी बिक्रीवापतको ३५ लाख, छोरा–बुहारीको पारिश्रमिकबाट ११ लाख ४ हजार गरी ७ करोड ४४ लाख ५६ हजार २५२ मात्र खड्काको वैध आम्दानी रहेको अख्तियारको दाबी थियो।

उनले पुख्र्यौली घरबाहेक ३ वटा घर निर्माण तथा खरीद गरेको, २ वटा घर खरीदका लागि आंशिक भुक्तानी दिएको तथा काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेका विभिन्न स्थानमा ११ कित्ता जग्गा खरिद गरेको अनुसन्धानबाट खुलेको थियो।

घर खरिदमा ११ करोड ६१ लाख ४३ लाख, विभिन्न कम्पनीको शेयर खरिदमा १ करोड ६ लाख ४ हजार, ऋणको साँवा–ब्याज भुक्तानीमा ४ करोड २२ लाख ९६ हजार २३९, व्यक्तिगत रूपमा दिएको सापटीवापत १ करोड २५ लाख ६० हजार, विभिन्न व्यक्ति तथा संस्थालाई दिएको चन्दा तथा सहयोग १ करोड १७ लाख खड्काले लगानी गरेको देखिएको छ।

छोराछोरीको अध्ययन र सामाजिक व्यवहारमा भएको खर्च २५ लाख १४ हजार ६९५, गाडी खरिदमा १ करोड १७ लाख ४२ लाख, सुपर मार्केटहरूमा खर्च गरिएको १ करोड ८० लाख १६ हजार, ५५ भन्दा बढी बैंक, वित्तीय संस्था र सहकारीमा २ करोड ७१ लाख ५३ हजार र उनी सार्वजनिक सेवामा प्रवेश गरेदेखि २ चैत २०६९ सम्म २ करोड २ लाख ७० हजार गरी करिब रु २७ करोड ३० लाख ७५ हजार खर्च तथा लगानी गरेको अनुसन्धानबाट खुलेको थियो।

अख्तियारले अन्य व्यक्तिको नाममा लुकाइराखेको ७ करोडभन्दा बढीको सम्पत्तिसमेत जफतको मागदाबी गरेको थियो।

खड्काको गैरकानूनी सम्पत्ति श्रीमती शर्मिला खड्काको नाममा घर जग्गा र अमिता लामा सोदेम्बाको नाममा ७ करोड ५४ लाख ५७ हजार ८७५ बराबरको सम्पत्ति लुकाएको दाबी अख्तियारले गरेको थियो।

अख्तियारले मुद्दा दायर गरेको विज्ञप्तिको पूर्णपाठ

प्रेस विज्ञप्ति : मिति २०७५।९।२३ गते
आरोप-पत्र दायर गरिएको
गोपालबहादुर खड्का विरुद्ध १८ करोडभन्दा बढी गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर अन्य ब्यक्तिको नाममा लुकाई राखेको ७ करोडभन्दा बढीको सम्पत्ति समेत जफतको मागदाबी र दशीको रूपमा रु.८९,८९,०००।- नगदै अदालत दाखिला।

नेपाल आयल निगम लिमिटेडका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्काले गैरकानूनी सम्पत्ति आर्जन गरेको भनी आयोगमा परेको उजुरीका सम्बन्धमा आयोगबाट गरिएको अनुसन्धानबाट निज गोपालबहादुर खड्का सार्वजनिक सेवा प्रवेशगरे पश्चातको समग्र आय र व्ययको विश्लेषण गर्दा -

निजको आम्दानीतर्फ-
मिति २०६९।१२।२ देखि अनुसन्धान अवधिसम्ममा निजको पारिश्रमिकबाट जम्मा रु. ४०,५७,१५५।४७, जग्गा बिक्रीबाट जम्मा रु. ५८,७५,०००।-, ऋण सापटीबाट जम्मा रु. ५,३३,३६,०००।-, घर भाडाबाट रु. १३,५६,०००।-, नोकरीबाट अवकाश हुँदा प्राप्त गरेको आर्थिक सुविधा रु. २९,२२,६९८।२८, पेन्सनबाट रु. १४,७८,४८२।२४, विप्रेषण आयबाट प्राप्त रु. ८,२६,९१३।५४, गाडी बिक्रीबाट रु. ३५,००,०००।-, निजको छोरा बुहारीको पारिश्रमिकबाट रु. ११,०४,००३।- गरी जम्मा रु.७,४४,५६,२५२।५३ का साथै निजले सार्वजनिक सेवामा प्रवेश गरेदेखि मिति २०६९।१२।२ सम्ममा देखिएको विभिन्न शीर्षकको आय रु.१,२०,१३,४९९।- समेत गरी रु.८,६४,६९,७५१।५३ आय आर्जन गरेको देखियो।

निजको खर्च तथा लगानीतर्फ
मिति २०६९।१२।२ देखि अनुसन्धान अवधिसम्ममा निजले पुर्ख्यौली घर बाहेक नै ३ वटा घर निर्माण तथा खरिद गरिसकेको र २ वटा घर खरिदका लागि आंशिक भुक्तानीसमेत दिइसकेको र काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रे जिल्लाका विभिन्न स्थानमा ११ कित्ता जग्गा खरिद गरेको पाइयो।

निजले घरजग्गा खरिदमा रु.११,६१,४३,२०६।३१, विभिन्न कम्पनीको शेयर खरिदमा रु.१,०६,०४,०००।-, ऋणको सावाँब्याज भुक्तानीमा रु. ४,२२,९६,२३९।९९, व्यक्तिगत रूपमा दिएको सापटी रु.१,२५,६०,०००।-, विभिन्न व्यक्ति तथा संस्थालाई दिएको चन्दा तथा सहयोग रु. १,१७,७५,०००।-, छोराछोरीको अध्ययन र सामाजिक व्यवहारमा भएको खर्च रु. २५,१४,६९५।-, गाडी खरिदमा रु. १,१७,४२,०००।-, विभिन्न बैंकका एटीएमबाट सुपरमार्केटहरूमा खर्च गरिएको समेतका रकम रु. १,८०,१६,४४६।८२ र विभिन्न ५५ वटाभन्दा बढी बैंक वित्तीय संस्था तथा सहकारीमा जम्मा मौज्दात रु. २,७१,५३,४२१।६४ समेत गरी जम्मा रु.२५,२८,०५,००९।७६ र निज सार्वजनिक सेवामा प्रवेश गरेदेखि मिति २०६९।१२।२ सम्ममा विभिन्न शीर्षकमा गरेको खर्च तथा लगानी रु.२,०२,७०,३७१।- समेत गरी जम्मा रु. २७,३०,७५,३८०।७६ खर्च तथा लगानी गरेको देखिन आई सो लगानीमा निजको स्रोत खुलेको आय रु.८,६४,६९,७५१।५३ घटाउँदा देखिन आउने रु. १८,६६,०५,६२९।२३ बराबरको खर्च तथा लगानीको स्रोत खुल्न नआएको हुँदा रु.१८,६६,०५,६२९।२३ गैरकानूनी रूपमा आर्जन गरी निज गोपालबहादुर खड्काले साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निज गोपालबहादुर खड्कालाई जम्मा बिगो रु.१८,६६,०५,६२९।२३ (अठार करोड छयसठ्ठी लाख पाँच हजार छ सय उनान्तीस रुपैयाँ तेइस पैसा) कायम गरी साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५, दफा १६(ग) तथा दफा २९ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम सजाय हुन र निज गोपालबहादुर खड्का नेपाल सरकारको विशिष्ट श्रेणीको हैसियतको पदबाट अवकाश भएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजाय हुन र भ्रष्टाचार गरी गैरकानूनी रूपमा आर्जन गरेको चल अचल सम्पत्तिहरू साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ (ग) तथा दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२), दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ (ख) बमोजिम जफत हुन मागदाबी लिई आजै विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।

त्यसैगरी निजले आर्जन गरेको गैरकानूनी सम्पत्ति मध्ये जिल्ला तेह्रथुम साबिक जिरीखिम्ती गा.वि.स. वडा नं. २ घर भई का.जि. बूढानीलकण्ठ न.पा. वडा नम्बर ४ बस्ने कृष्णबहादुर लामाकी छोरी, दिपक सोदेम्बाकी श्रीमती अमिता लामा सोदेम्बा र निज गोपालबहादुर खड्काले आफ्नी श्रीमती शर्मिला खड्काको नाममा समेत लुकाई छिपाई राखेको देखिंदा निजहरूको नाममा रहेको चल अचल सम्पत्ति जफत गर्ने प्रयोजनका लागि साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६(ग) तथा दफा २९ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ (ख) बमोजिम जफत हुन मागदाबी लिने र जफत गर्ने प्रयोजनका लागि मात्र निजहरूलाई प्रतिवादी कायम गरी आरोपपत्र दायर गरिएकोछ।

अमिता लामा सोदेम्बाको नाममा जम्मा रु. ७,५४,५७,८७५।- बराबरको देहाय बमोजिमको सम्पत्ति लुकाई राखेको देखियो।

१. जिल्ला काठमाडौं साबिक महांकाल गा.वि.स. वडा नं. ४ स्थित कित्ता नं. १९१ मा सि.जी. डेभलपर्सले निर्माण गरेको सि.जी. हिल्स हात्तीगौंडामा मूल्य रु. ३,२५,००,०००।- मा खरिद गरेको घर नं. ३२।
२. जिल्ला काठमाडौं साबिक बिष्णु बूढानीलकण्ठ गा.वि.स. वडा नं. ३ ख स्थित कित्ता नं.६८९, १४८२ र १५२० को मूल्य रु. ४०,११,८७५।- मा खरिद गरेको ८ आना जग्गा।
३. मूल्य रु. ८४,४६,०००।- मा खरिद गरेको बा.१६च.८४८४ नं. को टक्सन गाडी।
४. जिल्ला काठमाडौं साबिक महांकाल गा.वि.स. वडा नं. ४ स्थित कित्ता नं. ३५० मा सि.जी. डेभलपर्सले निर्माण गरेको घर नं. २२ खरिद गर्नका लागि भुक्तानी गरेको रु. ३,०५,००,०००।-
५. अमिता लामाको नाममा रहेको एनएमबी बैंक र सिटिजन बैंकको खाताहरूबाट गोपालबहादुर खड्काले नै कारोबार गर्ने गरेको देखिएको।

दशी प्रमाणको रूपमा नगद दाखिला
जिल्ला काठमाडौं साबिक विष्णु बूढानीलकण्ठ गा.वि.स. वडा नं. ७ 'ग' मा रोडशो रियलस्टेट प्रा.लि.ले निर्माण गरेको घर खरिद गर्नको लागि बैना स्वरूप रू. ८९,८९,०००।- भुक्तानी दिएकोमा रोडशो रियलस्टेट प्रा.लि. ले पत्रसहित उक्त रकम बराबरको गुड फर पेमेन्ट चेक आयोगमा दाखिला गरिदिएको हुँदा उक्त चेकको रकम रू. ८९,८९,०००।- जफत प्रयोजनका लागि दशीका रुपमा आरोपपत्र साथ सम्मानित अदालत समक्ष दाखिला गरिएको छ।

रामेश्वर दंगाल
सह-सचिव एवं प्रवक्ता

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .