‘किलर माउन्टेन’का रुपमा प्रख्यात पाकिस्तानको माउन्ट के-टु आरोहण गरेर नेपालका १७ वर्षीय निमारिञ्जी शेर्पाले विश्वकीर्तिमान बनाएका छन्।
१७ वर्ष ९९ दिनमै विश्वको दोस्रो अग्लो (८६११ मिटर) माउन्ट के-टु को शिखरमा पुगेर सबैभन्दा कान्छो आरोहीका रूपमा संखुवासभाका निमारिञ्जीले नयाँ कीर्तिमान बनाएका हुन्।
उनले पाकिस्तानको समयअनुसार बिहीबार बिहान १० बजेर ४५ मिनेटमा माउन्ट के-टु को शिखर चुमेका हुन्।
उनीसँगै आरोहण साथी पासाङ नुर्बु शेर्पा र तेन्जिङ शेर्पा पनि विश्वको दोस्रो अग्लो हिमाल आरोहण गर्न सफल भए।
निमारिञ्जीसँगै नर्वेकी चर्चित आरोही क्रिस्टिन ह्यारिला र नेपाली गाइड तेन्जिङ ल्हामा शेर्पाले पनि माउन्ट के-टु को सफल आरोहण गरेका छन्। क्रिस्टिन र तेन्जिङले माउन्ट के-टु आरोहण गरेपछि ९२ दिनमा विश्वका सबै ८ हजार मिटर अग्ला १४ हिमाल चुम्ने विश्वकीर्तिमान पनि बनाएका छन्।
निमाले यसअघि ८ हजार मिटर अग्ला सातवटा हिमाल चुमिसकेका छन्। जसमा मनास्लु, सगरमाथा, ल्होत्से, नाङ्गा पर्वत, गाशेरब्रुम दोस्रो, गाशेरब्रुम पहिलो ब्रोड पिकको सफल आरोहण गरिसकेका थिए।
निमारिञ्जीले आफ्नो किशोर उमेरमै ८ हजार मिटर अग्ला सबै १४ हिमाल चढ्ने योजना बनाएका छन्। अब उनले चोयु हिमाल चढ्ने योजना बनाएका छन्।
Shares
प्रतिक्रिया