ad ad

समाज


शरणार्थी प्रकरणमा दोस्रो चरणको अनुसन्धान थालेपछि हटाइए तीन प्रहरी इन्चार्ज

शरणार्थी प्रकरणमा दोस्रो चरणको अनुसन्धान थालेपछि हटाइए तीन प्रहरी इन्चार्ज

एआईजी श्यामलाल ज्ञवाली तथा एसएसपीद्वय मनोजकुमार केसी र दानबहादुर कार्की


उजिर कार्की
भदौ ४, २०८० सोमबार १९:३३, काठमाडौँ

नक्कली शरणार्थी प्रकरणको दोस्रो चरणको अनुसन्धान सुरु गरेपछि सम्बन्धित प्रहरी कार्यालयका प्रमुखहरुको सरुवा गरिएको छ। शरणार्थी प्रकरणको अनुसन्धान गरेका उपत्यका प्रहरी कार्यालय, काठमाडौं परिसर र उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख नै सरुवा भएका हुन्। 

साउन ३० गते बसेको मन्त्रिपरिषद् बैठकले उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीलाई सरुवा गरेको थियो। 

सोमबार काठमाडौं जिल्ला परिसर प्रमुख एसएसपी दानबहादुर कार्की र उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा. मनोजकुमार केसीलाई पनि सरुवा गरिएको हो। 

यसअघि ज्ञवालीसहित ५ एआईजीको सरुवा गरिए पनि मुख्य लक्ष्य भने ज्ञवालीलाई उपत्यका प्रहरी कार्यालयबाट हटाउनु थियो। काठमाडौं परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालय उनी मातहत थिए। 

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं ठगी गरेको मुद्दाको अनुसन्धान ज्ञवालीकै नेतृत्वमा भएको थियो। जसको सुरुवात उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा. मनोजकुमार केसीले गरेका थिए। 

केसीले आएका जाहेरी दर्ता गरेर अनुसन्धान सुरु गरेका थिए। सुरुमा केशव दुलाल, सानु भण्डारी, टंक गुरुङसहितलाई पक्राउ गरेर काठमाडौं परिसरमा अनुसन्धानका लागि बुझाएका थिए। 

परिसर प्रमुख थिए दानबहादुर कार्की। एआईजी ज्ञवाली र एसएसपीद्वय कार्की र केसीले पहिलो चरणमा शरणार्थी प्रकरणको मुद्दा अनुसन्धान टुंग्याएका थिए। 

उनीहरुकै नेतृत्वमा भएको अनुसन्धानपछि नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण र नेकपा एमालेका सचिव एवम् पूर्वउपप्रधानमन्त्री रहेका टोपबहादुर रायमाझी हाल केन्द्रीय कारागारमा छन्। उनीहरुलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको हो। 

ज्ञवाली उपत्यका प्रहरी प्रमुख भएको साढे चार महिना मात्रै भएको थियो। यस्तै अपराध अनुसन्धान र काठमाडौं प्रहरी प्रमुख पनि ७ महिनामै सरुवा भएका हुन्।
 
सामान्यतया प्रहरी प्रमुख एक वर्षमा मात्रै सरुवा गर्ने मापदण्ड छ। तर उक्त मापदण्डको कार्यान्वयन भएको छैन। यसअघि पनि यी दुवै कार्यालय प्रमुख ६ महिनामै सरुवा भएका थिए। 

तर यसपटक भने शरणार्थी प्रकरणको अनुसन्धानकै कारण सरुवा गरिएको हो। यसअघि नै उनीहरुलाई सरुवा गर्ने तयारी गरिएको थियो। तर शरणार्थी प्रकरणको पहिलो चरणको अनुसन्धान टुंगिएपछि मात्रै सरुवा गरिएको हो। 

१८ जनाको जाहेरी लिएर अनुसन्धान थालेपछि सरुवा
नक्कली शरणार्थी प्रकरणमा उपत्यका अपराध अनुसन्धान कार्यालयले १८ जना पीडितको जाहेरी लिएर थप अनुसन्धानका लागि काठमाडौं परिसरमा पठाएको थियो। परिसरले यसको अनुसन्धान सुरु गरेको थियो। 

पहिलो चरणमा नाम जोडिएका केही शीर्ष नेतासम्म दोस्रो चरणको अनुसन्धान पुग्ने आशंकापछि सत्ता साझेदार र प्रमुख प्रतिपक्षी दल नै त्रसित थिए। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा र पूर्वगृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँणसम्म दोस्रो चरणको अनुसन्धान पुग्ने चर्चा भएको थियो। 

यस्तै प्रतिपक्षी एमालेका पनि शीर्ष नेतासम्म अनुसन्धान पुग्ने चर्चा भएको थियो। एमाले उपाध्यक्ष रामबहादुर थापा बादल, उनकी पत्नी नैनकला, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राई लगायत तानिन सक्ने चर्चा भइरहेका बेला अनुसन्धान गर्ने प्रहरी नै हटाइएको हो। 

पहिलो चरणको अनुसन्धानको फाइलमा पनि उनीहरुको नाम उल्लेख गरिएको थियो। अदालतमा बहसका क्रममा पनि उनीहरुलाई प्रतिवादी नबनाइएको भन्दै आलोचना भएको थियो। सरकारी वकिलले दोस्रो चरणको अनुसन्धानमा प्रमाण जुटे उनीहरुलाई पनि तानिने बताएका थिए। 

अहिले १८ जनाको जाहेरी परेपछि पुनः पहिलेकै प्रहरी नेतृत्वले अनुसन्धान थालेका थिए। प्रहरी सरुवा गरेर उक्त मुद्दालाई कमजोर बनाउन खोजिएको आशंका छ। 

प्रहरी सरुवामा कांग्रेस सभापति शेरबहादुर देउवाले मुख्य गरी दबाब दिएका थिए। प्रहरी सरुवा नगरे गृहमन्त्री फेर्नेसम्मको कुरा उठाएर उनले दबाब दिएका थिए। देउवाकै दबाबमा गृहमन्त्री तत्काल प्रहरी सरुवा गर्न बाध्य भएको आशंका गरिएको छ। 

यसअघि शरणार्थी प्रकरणको अनुसन्धानका क्रममा प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवर र एआईजी ज्ञवालीबीचको मनमुटाव समेत सतहमा आएको थियो।

ज्ञवालीले आईजीपीलाई समेत जानकारी नगराई नेताहरुलाई पक्राउ गरेको भन्दै आईजीपी असन्तुष्ट थिए। यस्तै आफूविरुद्धका सामग्री समेत बाहिर ल्याएको भन्दै आईजीपीले असन्तुष्टि पोखेका थिए। विवाद बढ्दै गएपछि गृह मन्त्रालयमै बोलाएर उनीहरुलाई समझदारीमा ल्याइएको थियो।

कसले कहाँ पाए जिम्मेवारी? 
सरकारले ज्ञवालीसहित ५ एआईजीलाई सरुवा गर्दा उपत्यका प्रहरी कार्यालयमा दीपक थापालाई ल्याएको छ। एआईजी ज्ञवाली कार्य विभागमा सरुवा भएका छन्। 

प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सन्दीप भण्डारीलाई पठाएर त्यहाँ कार्यरत टेकप्रसाद राईलाई मानव स्रोत विकास विभागमा सरुवा गरिएको छ। प्रशासन विभागमा कार्यरत दीपक थापा सरुवा भएपछि उनको स्थानमा मीरा चौधरी र कार्य विभागमा ज्ञवालीलाई सरुवा गरिएको छ। 

सोमबार गृह मन्त्रालयले ५ जना एसएसपीलाई सरुवा गरेको छ। काठमाडौं प्रहरी प्रमुखबाट दानबहादुर कार्कीलाई सरुवा गरेर भूपेन्द्र खत्रीलाई जिम्मेवारी दिइएको छ। 
अपराध अनुसन्धान कार्यालयबाट डा. मनोजकुमार केसीलाई सरुवा गरेपछि सोमेन्द्र सिंह राठौरलाई जिम्मेवारी दिइएको छ। राठौर एसपी हुँदा पनि उक्त कार्यालयमा कार्यरत थिए। 

एसएसपी सानुराम भट्टराई महिला बालबालिका तथा जेष्ठ नागरिक निर्देशनालयबाट राष्ट्रिय सुरक्षा परिषदमा सरुवा भएका छन्।

निर्देशनालयमा एसएसपी केसीलाई सरुवा गरिएको छ। एसएसपी कार्की प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भएका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .