ad ad

समाज


आजदेखि देशभरका सामुदायिक विद्यालय अनिश्चितकालका लागि बन्द

आजदेखि देशभरका सामुदायिक विद्यालय अनिश्चितकालका लागि बन्द

नेपालखबर
असोज ४, २०८० बिहिबार ८:५९, काठमाडौँ

सरकारले संसदमा दर्ता गरेको शिक्षा विधेयकविरुद्ध नेपाल शिक्षक महासंघले आजदेखि देशभरका सामुदायिक विद्यालय बन्दको घोषणा गरेको छ।

महासंघले आज (बिहीबार) देखि ​देशभरका विद्यालय अनिश्चित कालका लागि बन्द गर्ने जनाएको हो। विद्यालय बन्द हुँदा देशभरका ७० लाख भन्दा बढी विद्यार्थीको पठनपाठन अवरुद्ध हुने अवस्था सिर्जना भएको छ। 

सरकारले संसद्‍मा दर्ता गरेको  ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक-२०८०’ विरुद्ध देशभरका शिक्षक कर्मचारी आन्दोलनमा उत्रिएपछि सामुदायिक विद्यालयको पठनपाठन रोकिने अवस्था सिर्जना भएको छ।

महासंघको आह्वानमा देशभरबाट हजारौँ शिक्षक र कर्मचारी काठमाडौँ आएका छन्। उनीहरुले आफ्ना माग पूरा गर्न माग गर्दै बुधबार काठमाडौंको माइतीघरमा प्रदर्शनसमेत गरेका थिए। महासंघले काठमडौं केन्द्रीत प्रदर्शनलाई निरन्तरता दिने जनाएको छ।

देशभरका ३४ हजार विद्यालयका दुई लाखभन्दा बढी शिक्षक आन्दोलनमा उत्रिएपछि करिब ७० लाख विद्यार्थीको पढाइ नराम्ररी प्रभावित हुने अवस्था सिर्जना भएको छ।

आधा भन्दा धेरै शिक्षक काठमाडौंमा हुने आन्दोलनमा सहभागी हुन आएपछि अरु शिक्षकले पनि पठनपाठन बन्द गरेका छन्।

आन्दोलनभर पूर्णरूपमा विद्यालय बन्द रहने महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले बताए। आन्दोलनका कारण रोकिएको पढाइ पछि सार्वजनिक बिदाका दिनमा पढाएर भएपनि परिपूर्ति गर्ने महासंघले जनाएको छ।

शिक्षकहरूले सरुवा, बढुवा, नियुक्ति, कार्यसम्पादन मूल्यांकन, सेवा सुविधा, नियमनलगायत रेखदेखमा स्थानीय तहको भूमिका अस्वीकार गर्दै आन्दोलनको घोषणा गरेका हुन्।  संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले शिक्षकलाई स्थानीय तहमातहत राख्ने व्यवस्था गरेको छ। जसप्रति शिक्षक र तिनका संस्थाले विरोध गरेका हुन्। 

काठमाडौं महानगरपालिकासहित देशका कतिपय स्थानीय तहले विद्यालय बन्द गरेर आन्दोलनमा जाने शिक्षकलाई कारबाही गर्ने चेतावनी दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .