पर्सा जिल्लाको संखुवापर्सौनी गाँउपालिकाको वडा नं २ श्रीपुरमा ४४५ जनाको आँखा परीक्षण गर्दा १५८ जनामा मोतियाबिन्दुको समस्या देखिएको छ।
नेपाल नेत्रज्योति संघ आरएम केडिया आँखा अस्पतालको प्राविधिक र छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको आर्थिक सहयोगमा संखुवापर्सौनी गाउँपालिकाको वडा नं २ श्रीपुरमा शनिबार एकदिने निशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविर आयोजना गरिएको थियो।
मोतियाबिन्दु देखिएको सबै बिरामीहरुको नेपाल नेत्रज्योति संघ आरएम केडिया आँखा अस्पतालमा निःशुल्य शल्यक्रिया गरिने जनाएको छ। आर्थिक अभावमा र पहुँचको अभावमा कोही पनि नागरिक आँखा उपचार सेवाबाट बन्चित नहुन् भन्ने उद्देश्यले नेत्रज्योति संघले विभिन्न स्वदेशी तथा दातृ निकायहरुसंगको सहकार्यमा देशैभरी वार्षिक हजारौं निःशुल्क आँखा शिविर सञ्चालन गर्दै आइरहेको स्पष्ट पारेको छ।
छिमेक लघुवित्तले सामाजिक उत्तरदायित्व अन्तरगत नेत्रज्योतिलाई शिविर सञ्चालनका लागि आर्थिक सहयोग प्रदान गरेको हो। संघले हाल देशभरमा २७ वटा आँखा अस्पताल, १५० भन्दा बढी आँखा उपचार केन्द्र तथा ४४ वटा जिल्ला शाखाहरु मार्फत नेपाली नागरिकहरुलाई सस्तो मूल्यमा गुणस्तरीय आँखा उपचार सेवा प्रवाह गरिरहेको छ।
स्थापनादेखि हालसम्म संघले आफ्ना अस्पताल, उपचार केन्द्र तथा विभिन्न बाह्य कार्यक्रमहरु मार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी कुल ४ करोड २ लाख ८६ हजार ५ जना आँखाका बिरामीहरुलाई आँखा उपचार सेवा र ४८ लाख ६७ हजार ७७४ जनाको आँखाको शल्यक्रिया सेवा प्रदान गरिसकेको जनाएको छ।
प्रतिक्रिया