ad ad

समाज


इजरायलको काडेस बार्नियाका विद्यार्थीको गुनासो : दूतावासले सहयोग गरेन, लुक्न बंकरसमेत छैन

इजरायलको काडेस बार्नियाका विद्यार्थीको गुनासो : दूतावासले सहयोग गरेन, लुक्न बंकरसमेत छैन

विद्यानाथ अधिकारी
असोज २४, २०८० बुधबार १६:२, काठमाडौँ

इजरायलकाे काडेस बार्नियामा रहेका नेपालीहरूले घर फिर्तीको पहल छिटो गर्न आग्रह गरेका छन्।

४५ जना भन्दा बढीको संख्यामा रहेका उनीहरूले बुधबार पूर्वउपप्रधानमन्त्री एवम् राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसँग भिडिओ कुराकानी गर्दै उद्धार गर्न अनुरोध गरेका हुन्।

इजरायलको इजिप्ट सीमा नजिकको काडेस बार्नियास्थित जिमाम फार्ममा रहेका विद्यार्थी दिपेश जोशीले भने, ‘हामी बसेको स्थान एकदमै असुरक्षित छ। माथिबाट मिसाइल आयो भने बंकरसमेत छैन। ज्यान जोगाउनै मुश्किल छ। हामी छिटो घर फर्कन चाहन्छौँ।’

डोटीका दिपेश सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी हुन्। उनी कार्यरत फार्ममा सुदूरपश्चिमसहित त्रिभुवन विश्वविद्यालय र कृषि विश्वद्यिालयका विद्यार्थीहरु समेत छन्।

तेल अबिबस्थित नेपाली दूतावासको सम्पर्कमा रहेका विद्यार्थीहरूले दूतावासले समेत खासै वास्ता नगरेको गुनासो गरे।

चितवनका जनक चौलागाईंले भने, ‘हामी बसेको ठाउँमा बंकर छैन। आक्रमण भयो भने जमिनमा छरिएर बस्नुस् भनेर दूतावासले भनेको छ। यस्तो असुरक्षित भएर कहिलेसम्म बस्ने?’

जनकले बसेको स्थानमा खानेकुरासमेत नभएको बताए।

‘यता खानेकुरा पनि छैन। हिजो मात्रै दाजुदिदीहरुले केही खाना ल्याइदिनुभयो। बाँडेर खायौँ। भात पकाउन चामल त छ तर तरकारी छैन।’

उनीहरु नेपालबाट आउने प्लेनको प्रतिक्षामा छन्।

जवाफमा अध्यक्ष केसीले आफूहरुले सरकारलाई बारम्बार दबाब दिएको जानकारी दिँदै नआत्तिन सुझाव दिए।

‘सरकारलाई हामीले लगातार दबाब दिइराखेका छौँ। इजरायलबाट बितरा परेका नेपालीलाई ल्याउन ढिलासुस्ती भयो। छिटो गर्नुपर्यो भनेर मैले नै प्रधानमन्त्रीलाई भनेको छु’ केसीले भने, ‘सबैभन्दा ठूलो कुरा अहिले ज्यान जोगाउने हो। जोगिएर बस्नुहोला।’

अध्यक्ष केसीले केही दिनअघि प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा पनि सबै राजनीतिक दलले सरकारलाई छिटो उद्धार गर्न एकमत भएर दबाब दिएको बताए।

जुम बैठकमा जोडिएका राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले प्रधानमन्त्री कार्यालयबाट आज राति ११ बजे नेपाल एयरलाइन्सको जहाज उद्धारका लागि इजरायल उड्ने जानकारी पाएको बताए।

प्यालेस्टाइनी विद्रोही समूह हमासले इजरायलका विभिन्न ठाउँमा असोज २० गते आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो। घटनामा एक जना नेपाली विद्यार्थी बेपत्ता छन् भने चार जना घाइते भएका छन्। सो ठाउँमा रहेका ३२ जनालाई उद्धार गरिएको छ।

सरकारले पहिलो प्राथमिकता तिनै घटनामा परेकालाई दिन लागेको सूचना पाएपछि इजरायलका अन्य विभिन्न शहरमा रहेका उनीहरुले एउटै लटमा नेपाल फर्कादिन अनुरोध गरे।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीले इजरायलका नेपालीलाई भेदभाव नगर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने बताए।

‘यदी त्यसो गरे सरकारलाई हाम्रो पार्टीले दबाब दिन्छ’ केसीले भने।

काडेस बार्निया अन्तर्राष्ट्रिय विमानस्थल रहेको तेल अबिबबाट करिब तीन घण्टाको दूरीमा पर्दछ। त्यहाँ ४५ जना भन्दा धेरै विद्यार्थीहरु छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .