खोटाङमा एक व्यक्तिले चिर्पट प्रहार गरी पत्नीको हत्या गरेका छन्।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ मुडेस्थित लालीखर्कका ४० वर्षीय दावा शेर्पाले चिर्पट प्रहार गरी ३६ वर्षीया श्रीमती लाक्पा डिकु शेर्पाको हत्या गरेका हुन्।
मादक पदार्थ सेवन गरेका दावा र श्रीमतीबीच घरायसी विवाद हुँदा श्रीमानले गएराति प्रहार गरेको चिर्पट लागेर श्रीमतीको मृत्यु भएको प्रहरीले जनाएको छ।
श्रीमान्–श्रीमतीबीच मूलघरमा झगडा भएपछि भागेकी श्रीमती घरदेखि करिब दुई सय मिटर टाढा गोरेटो बाटोमा मृत फेला परेको स्थानीय बासिन्दाले बताएका छन्।
पत्नी हत्याको आरोपमा गएराति नै दावालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिए।
शेर्पा दम्पतीबीच यसअघिदेखि नै सामान्य विवाद हुने गरेको छिमेकीले बताएका छन्। बुधबार पनि विवाद भएपछि आफ्नो घर छाडेर मूलघर गएर बसेकी श्रीमतीलाई त्यहीँ पुगेर श्रीमानले चिर्पट प्रहार गरेको प्रत्यक्षदर्शीले बताए।
लाक्पा डिकुको शव परीक्षणका लागि गए राति नै जिल्ला अस्पतालमा लगिएको छ। शेर्पा दम्पतिका दुई छोरी छन्। रासस
Shares
प्रतिक्रिया