गएराति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा धेरै जनधनको क्षति भएको छ।
अहिलेसम्म सार्वजनिक तथ्यांक अनुसार भूकम्पबाट ज्यान गुमाउनेको संख्या डेढसय नाघेको छ भने सयौँ घाइते भएका छन्। केही बेपत्ता छन्। हजारौँ भौतिक संरचना भूकम्पले ध्वस्त बनाएको छ।
यसअघि गएको असोज १६ गते पनि सुदूरपश्चिमको बझाङ केन्द्रबिन्दु भएर ६.३ रेक्टर स्केलको भूकम्प गएको थियो। बझाङ भूकम्पबाट एक जनाको मृत्यु भएको थियो भने ३० जना भन्दा धेरै घाइते भएका थिए। कयौँ भौतिक संरचना त्यो भूकम्पले पनि नष्ट बनाएको थियो।
आठ वर्षअघि ०७२ सालको वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको ७ दशमलव ६ रेक्टर स्केलको भूकम्पको घाउमा खाटा बस्न नपाउँदै जाजरकोट र बझाङमा गएका भूकम्पले हामीलाई फेरि त्रसित बनाएको छ।
भूकम्पविद्हरु ८ रेक्टर स्केलभन्दा माथिको भूकम्पलाई मात्रै ठूलो अथवा महाभूकम्प मान्छन्।
त्यसआधारमा हेर्दा गएराति जाजरकोट र एक महिनाअघि बझाङमा गएका भूकम्प मझौला खालका भूकम्प मात्रै हुन्।
आखिर किन गइरहेका छन् त नेपालमा पटक-पटक ठूलो मानवीय क्षति हुनेगरी भूकम्प?
राष्ट्रिय भूकम्प मापन केन्द्रका सिनिअर डिभिजनल सिस्मोलोजिस्ट डा. लोकविजय अधिकारीका अनुसार नेपाल आफैँमा भूकम्पीय जोखिमयुक्त क्षेत्रमा अवस्थित मुलुक हो।
‘त्यसमा पनि पश्चिम नेपालमा भूकम्पीय जोखिम मध्य र पूर्वी नेपालको तुलनामा धेरै बढी छ,’ वरिष्ठ भूकम्पविद् अधिकारीले नेपालखबरसँग भने, ‘पश्चिम नेपालको भूगर्भभित्र सञ्चित भएर बसेको भूकम्पीय शक्तिले कुनै पनि बेला त्यस क्षेत्रमा महाविनाश निम्त्याउन सक्ने सम्भावना अहिले पनि जीवितै छ।’
डा. अधिकारी पश्चिम नेपालमा विगत पाँच सय वर्षयता ठूलो भूकम्प नगएको कारण त्यसक्षेत्रको भूगर्भभित्र ठूलो भूकम्प जाने शक्ति सञ्चित भएर बसेको बताउँछन्।
‘अहिलेसम्म हामीलाई प्राप्त रेकर्डअनुसार वि.सं. १५०५ पछि पश्चिम र सुदूरपश्चिम क्षेत्रमा ठूलो अथवा महाभूकम्प गएको छैन,’ अधिकारीले भने, ‘ठूलो भूकम्प नगएको कारण नै पश्चिम नेपालको पृथ्वीको गर्भभित्र विनाशकारी भूकम्प जाने शक्ति सञ्चित भएर बसेको छ भनेर हामीले भन्दै आएका हौँ।’
अधिकारीका अनुसार भौगोलिक अवस्थितिको आधारमा हेर्दा नेपालको सम्पूर्ण हिमालय क्षेत्र भूकम्पको उच्च जोखिमयुक्त क्षेत्र हो। काठमाडौं उपत्यका पनि हिमालय क्षेत्र नजिकै पर्छ। त्यसैले काठमाडौं उपत्यका पनि भूकम्पको जोखिमयुक्त क्षेत्रमै पर्छ।
वि.सं. १९९० साल माघ २ गते पूर्वी नेपाल केन्द्रविन्दु भएर ८.३ रेक्टर स्केलको भूकम्प गएको थियो। २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्प ७.६ रेक्टर स्केलको थियो। पछिल्लो समय नेपालमा ठूला भूकम्प पूर्वी र मध्य नेपालमा मात्रै गएका छन्।
पूर्वी नेपालमै वि.सं.१२५५ मा पनि ठूलो भूकम्प गएको थियो। यसरी हेर्दा पूर्वी र मध्य नेपालमा ठूला भूकम्प गएका छन्। तर, गोरखाभन्दा पश्चिमको नेपालमा चाहिँ विगत पाँचसय वर्षभन्दा लामो समयदेखि महाभूकम्प गएको छैन।
अधिकारी पश्चिम र सुदूरपश्चिमका विभिन्न जिल्लामा पटक-पटक गइरहेका साना र मझौला खालका भूकम्पले त्यस क्षेत्रमा ठूलो भूकम्प जाने सम्भावनामा जीवितै छ भन्ने सन्देश दिएको तर्क गर्छन्।
‘त्यस क्षेत्रको भूगर्भमा सञ्चित त्यो शक्ति जहिले पनि ठूलो भूकम्पमार्फत् बाहिर निस्कन सक्छ,’ उनले भने, ‘त्यो बेला अहिले भन्दा ठूलो विनास निम्तिन सक्छ।’
कमजोर भौतिक संरचनाले बढी क्षति
विगतमा हाइटीमा गएको ७ रेक्टरको भूकम्पले तीन लाख मानिसको मृत्यु भएको थियो। तर, जापानमा ९.१ को भूकम्प जाँदा जम्मा २० हजार मान्छेले मात्रै ज्यान गुमाएका थिए। त्यो पनि भूकम्पले हल्लिएर होइन, सुनामीको कारण।
सन् २०१० तिर इरानमा गएको झण्डै ६ रेक्टरको भूकम्पले पनि ३० हजार मानिसको मृत्यु भएको थियो।
सामान्यतया ठूलो भूकम्प जाँदा क्षति धेरै हुन्छ। तर, भौतिक संरचना बलिया हुँदा ठूलो भूकम्प जाँदा पनि क्षति धेरै नहुने अधिकारी तर्क गर्छन्।
‘हाइटीमा ७ रेक्टरको भूकम्प जाँदा ३ लाख मान्छे मरे, जापानमा ९ रेक्टरभन्दा माथिको भूकम्प जाँदा पनि २० हजार मात्रै मान्छे मर्नुको कारण हाइटीका कमजोर र जापानका मजबुत भौतिक संरचना नै हुन्,’ अधिकारीले भने।
भूकम्पको क्षति विभिन्न कुरामा निर्भर हुन्छ। जाजरकोटमा हिजो राति गएको भूकम्पले धेरै मानवीय क्षति हुनुको प्रमुख कारण कमजोर भौतिक संरचना नै भएको अधिकारीको भनाइ छ।
‘हाम्रा भौतिक संरचना कमजोर त छँदै थिए, त्यसमाथि जाजरकोटमा राति भूकम्प जाँदा पनि क्षति बढी भयो,’ उनले भने।
अधिकारीका अनुसार बझाङमा गएको भूकम्प दिउँसो गएकाले धेरै मानवीय क्षति हुन पाएको थिएन। ०७२ सालमा गएको गोरखा भूकम्प दिउँसो नगएर राति गएको थियो भने त्यो भन्दा झन् ठूलो जनधनको क्षति हुने अधिकारीको अनुमान छ।
बझाङमा एक महिनाअघि ६.३ को ठूलो भूकम्प जानुअघि साना भूकम्प गएका थिए। त्यतिबेला मान्छे सतर्क भएर बाहिर बसेका कारण पनि पछि ठूलो भूकम्प जाँदा धेरै क्षति भएन।
भौगोलिक बनोटको आधारमा पनि भूकम्पको तीव्रता र क्षतिमा फरक पर्ने अधिकारीको तर्क छ।
‘एकै प्रकारको रेक्टर स्केल भएको भूकम्पले पनि कुनै ठाउँमा कम र कतै बढी क्षति हुन सक्छ,’ उनले भने, ‘भूकम्पले पानीको मात्रा धेरै भएको दलदले जमिनलाई बढी हल्लाउँछ। त्यस्तो क्षेत्रमा क्षतिको सम्भावना पनि बढी हुन्छ। चट्टानी बनोट भएको जमिनमा कम क्षति हुन्छ।’
मुख्यरुपमा भूकम्पले गर्ने क्षति भनेको हामीले निर्माण गरेका संरचनामा निर्भर हुने उनको भनाइ छ।
‘जाजरकोटको भूकम्पले धेरै क्षति हुनु भनेको त्यस क्षेत्रका भौतिक संरचना ६ रेक्टरको भूकम्पलाई पनि थेग्ने खालका रहेनछन् भन्ने बुझ्नुपर्छ,’ उनले भने।
जाजरकोट र बझाङमा गएका भूकम्पले पाँच सय वर्षदेखि पश्चिम नेपालको भूगर्भमा सञ्चित भएर बसेको भूकम्पीय शक्तिलाई क्षीण गरे होलान् त?
यो प्रश्नमा भूकम्पविद् डा.अधिकारीले भने, ‘गरेको छैन।’
‘सात रेक्टर स्केलको भूकम्पको शक्ति भनेको ६ रेक्टर स्केलको भूकम्पको शक्तिभन्दा ३२ गुणा बढी हुन्छ। अर्थात् जमिनको गर्भमा ७ रेक्टर स्केलको भूकम्प जाने शक्ति सञ्चित छ भने त्यो शक्ति क्षीण हुन ६ रेक्टर स्केलका ३२ वटा भूकम्प त्यही ठाउँमा जानु पर्छ,’ उनले भने।
‘जमिनमुनि सञ्चित भएर बसेको ८ रेक्टरको भूकम्पको जाने शक्ति समाप्त हुन ६ रेक्टर स्केलका भूकम्प एक हजार २४ वटा जानुपर्छ,’ उनले भने, ‘यसले ८ रेक्टरको भूकम्प जानसक्ने शक्ति यदि पश्चिम र सुदूरपश्चिको भूगर्गभित्र सञ्चित भएर बसेको छ भने ६ रेक्टरसम्ममा भूकम्प त्यस क्षेत्रमा एक हजारभन्दा धेरै जानु पर्छ। त्यसले मात्रै ८ रेक्टर स्केल बराबरको शक्ति समाप्त हुन्छ।’
जाजरकोट र बझाङमा गएको भूकम्पले पश्चिम नेपालमा पाँच सय वर्षदेखि थुप्रिएर बसेको महाभूकम्पको जोखिमको सम्भावनालाई न्यूनीकरण नगरेको उनले बताए।
‘यस्ता मझौला दुईचार वटा भूकम्पले त्यस क्षेत्रमा भूकम्पीय जोखिम घटेको छैन,’ उनले भने, ‘बरु यस्ता भूकम्पले हामीलाई तिमीहरु सचेत बन है भन्ने सन्देश दिएको छ।’
Shares
प्रतिक्रिया