समाज


नेपाललाई थप सहयोग गर्न एडीबी तयार

नेपाललाई थप सहयोग गर्न एडीबी तयार

नेपालखबर
बैशाख २२, २०८१ शनिबार १३:२०, काठमाडौँ

एसियाली विकास बैंक (एडीबी) ले जलवायु परिवर्तनको असरसँग जुध्न नेपाललाई थप सहायता उपलब्ध गराउने भएको छ।

एडीबीको ५७औं वार्षिक बैठकमा सहभागी हुन जर्जियाको राजधानी त्बिलीसी पुगेका अर्थसचिव मधुकुमार मरासिनीसँगको साइड लाइन वार्तामा एडीबी अध्यक्ष मासात्सुगु आसाकावाले उक्त प्रतिबद्धता जनाएका हुन्।

सचिव मरासिनीले जलवायु परिवर्तनमा नगण्य योगदान भए पनि नेपाल त्यसबाट उच्च प्रभावित मुलुकको सूचीमा रहेको भन्दै त्यससँग जुध्न सहयोग बढाउन प्रस्ताव गरेका थिए।

जवाफमा अध्यक्ष मासात्सुगुले नेपाललाई जलवायु परिवर्तनका नकारात्मक प्रभावसँग जुध्न सहयोग बढाइने बताए।

‘जलवायु परिवर्तनबाट नेपालले भोग्नुपरेका समस्याहरुका बारेमा म जानकार छु’, मासात्सुगुको भनाइ उद्धृत गर्दै भेटमा सहभागी अर्थ मन्त्रालयका सहसचिव एवं अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपालले भने, ‘थप सहयोगका लागि एडीबी तत्पर छ।’

भेटका क्रममा सचिव मरासिनीले एडीबीले नेपालको विकसामा पुर्‍याएको योगदानको सराहना गर्दै विकास वित्तको कमी पूरा गर्न थप सहयोगका लागि आग्रह गरे।

अध्यक्ष यस्तै मरानिसीले अर्थमन्त्री वर्षमान पुनका तर्फबाट अध्यक्ष मासात्सुगुको कार्यकालमा एडीबीले नेपालमा सहयोग बढाउने अपेक्षा गरिएको समेत उनले बताए।

सचिव मरासिनील अर्थमन्त्री वर्षमान पुनका तर्फबाट अध्यक्ष मासात्सुगुलाई नेपाल भ्रमणको निमन्त्रणा दिए। जवाफमा उनले एडीबीले नेपाललाई प्राथमिकतामा राखेको जानकारी दिँदै उपयुक्त समयमा नेपाल भ्रमण गर्न इच्छुक रहेको बताए।

यस्तै सचिव मरासिनीले एडीबी उपाध्यक्ष इङमिङ याङसँग पनि भेटेका छन्। त्यस क्रममा नेपालमा निजी क्षेत्रको विकास, निजी लगानी विस्तार, पोर्टफोलियो कार्यान्वयनमा सुधार, पाइपलाइनमा रहेका विकास आयोजना मुख्य गरी जलासययुक्त दूधकोसी जलविद्युत् आयोजना, मेलम्ची खानेपानी आयोजना र बजेटरी सहायताका कार्यक्रम समयमै सम्पन्न गर्नेबारे सहमति भएको सहसचिव नेपालले जानकारी दिए।

नेपालका अनुसार सहुलीयतपूर्ण स्रोत परिचालन बढाउन कार्यान्वयन क्षमतामा सुधार गर्नुपर्ने तथा जलवायु वित्तमा पहुँच बढाउन दुवै पक्षले सहकार्य गर्ने समझदारी भएको बताए। उपाध्यक्ष याङले जारी कन्ट्री साझेदारी प्रेमवर्क तयारी विश्व बैंकसँगको सहकार्यमा भइरहेकामा अन्य मुलुकका लागि समेत यो नमुना हुनसक्ने बताइन्।

भेटमा नेपालका तर्फबकाट सचिव मरासिनी र सहसचिव नेपाल तथा एडीबीका तर्फबाट उपाध्यक्ष याङसहित कार्यकारी निर्देशक सुपक चइयावान, दक्षिण एसिया हेर्ने महानिर्देशक ताकेयो कोनिसीसहितका पदाधिकारी सहभागी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .