समाज


सक्रिय भयो पश्चिमी वायु, देशभर घट्यो गर्मी

सक्रिय भयो पश्चिमी वायु, देशभर घट्यो गर्मी

प्रतिकात्मक तस्बिर


नेपालखबर
बैशाख २२, २०८१ शनिबार ९:५३, काठमाडौँ

आज (शनिबार) देखि देशभर तापक्रम घट्ने र गर्मीमा राहत हुने मौसमविद्ले बताएका छन्।  

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार हिजोअस्तिको भन्दा पश्चिमी वायु सक्रिय भएकाले देशभर मौसम बदली भएको हो। 

‘पश्चिमी वायुको सक्रियताले हिजो (शुक्रबार) रातिदेखि नै नेपालको पश्चिमी क्षेत्रबाट बादल आइरहेको छ, जसले गर्दा देशभ धेरथोर मौसम बदली भएको छ’, उनले भने, ‘जसले गर्दा अहिले देशभरजसो नै गर्मी केही कम भएको छ।’

उनका अनुसार अब दिनभर चर्काे घाम लाग्ने क्रम कम भई तापक्रम घट्नेछ र केही शीतल महसुस हुनेछ। 

‘लुम्बिनी र मधेस प्रदेशका जिल्लामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगिसकेको थियो’, उनले भने, ‘अहिले ४० पुगेको छैन।’

मौसमविद् पुडासैनीका अनुसार यो क्रम कम्तीमा ३ दिन जारी रहनेछ। मौसम महाशाखाले सामान्यतया ३ दिनसम्मको मौसम अनुमान गर्ने गर्छ।  

मौसम बदली (बादल लाग्ने) देशभरजसो भए पनि पानी पर्ने सम्भावना भने केही ठाउँमा मात्र छ। 

‘आज दिउँसो कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। साथै देशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना पनि छ’, मौसमविद् पुडासैनीले भने। 

तर काठमाडौँ उपत्यकामा भने आज वर्षाको सम्भावना नदेखिएको उनले बताए। ‘आज काठमाडौँ उपत्यकामा आंशिक बदलीको सम्भावना छ’, उनले भने। बादल लागेका कारण काठमाडौँ उपत्यकामा पनि हिजोअस्तिको तुलनामा आज केही शीतल महसुस भएको छ। 

मौसम महाशाखाका अनुसार राति पनि कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ।

हेर्नुहोस् आजदेखि सोमबारसम्मको मौसम अनुमान-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .