जाजरकोट भूकम्पलगत्तै प्रधानमन्त्री नरेन्द्र मोदीले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनासाथ कात्तिक २० गते भारतीय सेनाको विशेष विमान 'सी–१२०' भूकम्प प्रभावित क्षेत्रनजिकै पर्ने नेपालगन्जमा अवतरण भयो।
गत शुक्रबार रातिको भूकम्पबाट प्रभावितका लागि आएको राहत बुझ्न उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का विमानस्थल पुगे।
उपप्रधानमन्त्री खड्कालाई नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले विमानस्थलमै ती सामग्री हस्तान्तरण गरे।
केरुङ–रसुवागढी नाका हुँदै एक खेप राहत सामग्री नेपाल पठाइसकेको अर्को मित्रराष्ट्र चीनले पनि त्यसको २ दिन नबित्दै भारतीय शैलीमै सहयोगको अर्को प्याकेज पठायो।
कात्तिक २२ गते बुधबार बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ सेनाका दुईवटा कार्गो विमान अवतरण भए।
सम्बन्धि समाचार
- भूकम्प पीडितलाई राहत लिएर भारतीय विशेष विमान नेपालगन्जमा
- चीनले पठाएको २८ करोड बराबरको राहत सामग्री गृहमन्त्रीले बुझे
- भूकम्पपीडितका लागि राहत सामग्री लिएर पोखरा आइपुगे दुई चिनियाँ विमान (तस्बिर)
- भारतले भूकम्प पीडितलाई दोस्रो चरणमा पठायो ९ टन राहत सामग्री
- चीनले पठाएको २८ करोड बराबरको राहत सामग्री गृहमन्त्रीले बुझे
सिचुवान प्रान्तको राजधानी छेन्दुबाट उडेका ती विमानहरू झण्डै १९ सय ९८ किलोमिटर पार गर्दै नेपाल आइपुगेका हुन्। ती चिनियाँ विमानहरूले अवतरणका लागि उसकै सहयोगमा निर्मित पोखरा विमानस्थल नै रोजे।
पोखरामा विमान ओर्लिँदा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ स्वयम् उपस्थित मात्रै भएनन्, नेपालका लागि चिनियाँ राजदूत छन सोङबाट राहत सामग्री पनि बुझे।
पोखरा विमानस्थल मित्रराष्ट्र चीनको ऋण सहयोगमा निर्मित परियोजना हो। चालु अंग्रेजी वर्षको सुरुमै उद्घाटन भएको विमानस्थलबाट हालसम्म व्यावसायिक अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन।
यसअघि चीनकै छेन्दु र भुटानको थिम्पुबाट चार्टर्ड उडान भइसकेकाले यहाँ ठूला विमान उड्न र ओर्लन सक्ने प्रमाणित भएको छ।
स्पष्ट छ, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा चिनियाँ चासो बढी छ। प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा असोज ९ गते जारी संयुक्त वक्तव्यको बुँदा नम्बर ७ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनेकामा खुसी व्यक्त गर्दै दुवै पक्षबाट पोखरा एयरपोर्टसहितबाट नेपालमा उडान र थप हवाई रुट विस्तारमा सहमति जनाइएको थियो।
‘दुवै देशले आफ्ना एयरलाइन्स कम्पनीलाई उडान सुरु र थप उडानका लागि सहयोगसँगै सहजीकरण गर्ने’, संयुक्त वक्तव्यमा भनिएको थियो, ‘पोखराबाट सीधा उडान गरी बजारको आवश्यकता, व्यापार र आर्थिक अन्तरक्रियाका लागि हवाई रुट व्यवस्थापन गर्ने।’
चीनले राहत सामग्रीसहितका विमान पोखरामा अवतरण गराएर प्रधानमन्त्री प्रचण्डले बेइजिङमा गरेको सम्झौता स्मरण पनि गराएको छ।
‘चीनले सेनाको जहाज पोखरामै अवतरण गराउनु कूटनीतिकरूपमा पनि अर्थपूर्ण छ,’ एक कूटनीतिज्ञ भन्छन्, ‘विपत्तिको बेला भएको सहयोगमा पनि भूराजनीतिक प्रभाव र चासो देखियो।’
चिनियाँ सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई बेल्ट एण्ड रोड इनिसियटिभ्स (बीआरआई) अन्तर्गतकै परियोजना भएको व्याख्या गर्दै आइरहेको छ।
तर, नेपालले बीआरआईमा हस्ताक्षर गर्नुअगाडि नै ऋण सहयोग सम्झौता भएको पोखरा विमानस्थललाई बीआरआईअन्तर्गतको परियोजना मान्न तयार छैन।
उपप्रधानमन्त्री यसो भन्छन्
सहयोग सामग्री बुझ्न पोखरा आएका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले दुवै मित्रराष्ट्रप्रति कृतज्ञता प्रकट गरे।
‘सहयोगका लागि हामी दुवै मित्रराष्ट्रप्रति कृतज्ञता ज्ञापन गर्न चाहन्छौँ। अहिलेको सहयोगलाई शक्ति संघर्ष (दुई देशबीच)को रूपमा बुझ्नु हुँदैन,’ विमानस्थलमै भएको पत्रकार सम्मेलनमा उनले भने, ‘उहाँहरू (भारत) ले नेपालगन्जनजिक छ, सजिलै ल्याइदिन्छौँ भन्नुभयो। चिनियाँहरूले पहिला पनि पोखरामा उडान भरेकाले यहीँ सजिलो हुन्छ भन्नुभयो। यसलाई भूराजनीतिक प्रभावका रूपमा लिनुहुँदैन।’
२८ करोडको राहत आयो
चीन सरकारले नेपाललाई २८ करोड रुपैयाँ बराबरको आपतकालीन सहयोग प्रदान गरेको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
उनका अनुसार, विमानबाट ल्याइएका सामग्रीमा ४६ सय तातो कम्बल र ६ सयवटा त्रिपाल छन्। कम्बलहरू असाध्यै गुणस्तरीय र त्रिपालहरू ठूला कार्यालय सञ्चालन गर्न मिल्ने छन्।
‘जाजरकोटमा जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयमा पनि क्षति भएको छ, त्रिपालहरू यस्ता कार्यालय सञ्चालन गर्न उपयोगी छन्,’ उनले भने।
गृहमन्त्री श्रेष्ठका अनुसार, चिनियाँ सहयोगका राहत सामग्री नेपालगन्ज हुँदै गाडीमार्फत् सशस्त्र प्रहरीले प्रभावित क्षेत्रमा ढुवानी गर्नेछ।
गृहमन्त्रीले भूकम्प प्रभावित क्षेत्रमा राहत र पुनर्स्थापनामा कमजोरी नभएको जिकिर पनि गरे।
उनले भने, ‘हामीले त्यहाँ सीडीओ र प्रशासनलाई कोही पनि पीडितहरू खुला आकाशमा बस्न नपरोस्, भोकै हुन नपरोस् भन्ने निर्देशन जारी गरेका छौं । कसैलाई खुला आकाश र खाली भुइँमा राखेमा कारबाही गर्छौं भनेका छौँ।’
Shares
प्रतिक्रिया