समाज


एसियन हाइवे : ६ लेनमा विस्तार हुँदै पूर्वपश्चिम राजमार्ग, काम सुस्त हुँदा यात्रुलाई सास्ती

एसियन हाइवे : ६ लेनमा विस्तार हुँदै पूर्वपश्चिम राजमार्ग, काम सुस्त हुँदा यात्रुलाई सास्ती

जनार्दन पोखरेल
मंसिर १५, २०८० शुक्रबार १२:४७, काठमाडौँ

सडक विस्तारको काममा ढिलाइ हुँदा पूर्वपश्चिम राजमार्ग हुँदै यात्रा गर्नेले यतिबेला सिराहा र सप्तरी खण्डमा निकै सास्ती बेहोर्नुपरिरहेको छ।

एसियन हाइवेअन्तर्गत अहिले सिराहा र सप्तरी खण्डको पूर्वपश्चिम राजमार्गमा सडक विस्तारको काम चलिरहेको छ। 

कञ्चनपुर–कमला सडक आयोजनाले सिराहा र सप्तरी जिल्लामा सडक विस्तारको काम अघि बढाएको हो। 

एसियन हाइवे मापदण्डअनुसार नयाँ सडक निर्माणका लागि यी दुवै जिल्लामा सडकको सबैजसो पिच भत्काइएका कारण सवारीसाधन गुड्दा बुङ्बुङ्ती धुलो उड्ने समस्या छ। बर्खामा हिलोको समस्या बेहोरेका यात्री र स्थानीय यतिबेला धुलोको समस्या बेहोरिरहेका छन्। 

झण्डै दुई वर्षअघिदेखि नै यहाँ सडक विस्तारको काम भइरहे पनि यो कहिले सकिन्छ, अझै ठेगान छैन। 

सप्तरीको कञ्चनपुरदेखि सिरहाको कमला नदीसम्म ८६ किमि सडकलाई ४ र ६ लेनमा विस्तार गर्ने काम भइरहेको छ। सबैतिर निर्माणको काम चलिरहेका कारण ८६ किमि दूरी पार गर्न अहिले सवारीसाधनलाई चारदेखि पाँच घण्टासम्म लाग्ने गरेको छ। 

धुलो नउडोस् भनेर निर्माण व्यवसायीले ठाउँठाउँमा पानी छिट्ने गरे पनि त्यो प्रभावकारी देखिएको छैन। 

कञ्चनपुर–कमला सडक आयोजनाअन्तर्गत पूर्वी खण्ड (कञ्चनपुर–सुरुंगा) का प्रमुख इन्जिनियर खड्गलाल श्रेष्ठले सडक विस्तारको काम सकिन अझै डेढ वर्षभन्दा बढी समय लाग्ने बताए। 

एसियन हाइवेको मापदण्डअनुसार अहिले दुई जिल्लामा पूर्वपश्चिम राजमार्ग विस्तारको काम भइरहेको जानकारी उनले दिए। 

‘सन् २०२० मै ठेक्का लागे पनि कञ्चनपुर–कमला खण्डमा एक वर्षअघिबाट मात्रै काम सुरु भएको हो,’ इन्जिनियर श्रेष्ठले नेपालखबरसँग भने, ‘यो एक वर्षमा हामीले सडक विस्तारको ३५ प्रतिशत काम सकेका छौँ। सडक कालोपत्रेसम्मको काम पूरा गर्न अझै डेढ वर्ष समय लाग्न सक्छ।’

एसियन हाइवेको मापदण्डअनुसार सडकलाई ४ देखि ६ लेनसम्ममा विस्तार गरिएको छ। सहरी क्षेत्रमा ६ लेन र ग्रामीण क्षेत्रमा ४ लेनमा सडक निर्माण भइरहेको छ। निर्माण भइरहेका सबै पुल ४ लेनका छन्। पुराना २ लेनका साँघुरा सबै पुललाई चार लेनका नयाँ पुलले विस्थापन गर्ने तयारी छ। 

कञ्चनपुर–कमला आयोजनाको पश्चिम खण्डमा पूर्वको भन्दा केही बढी काम भएको छ। 

पश्चिम खण्ड (कुशाहा (सप्तरी)-कमला (सिराहा) खण्ड) मा झण्डै ८ किलोमिटर सडक कालोपत्रे नै भइसकेको यो सडक खण्डका इन्जिनियर उज्वल श्रेष्ठले जानकारी दिए। 

दुवै खण्डमा गरेर अहिले दैनिक झण्डै एक हजार श्रमिक सडक विस्तारको काममा खटिने गरेका छन्। जसमा चिनियाँ श्रमिक ६० जना छन्। चिनियाँहरु धेरैजसो प्राविधिक, सुपरभाइजर, इन्जिनियर छन्। बाँकी सबै मजदुर नेपाली र केही भारतीय छन्। 

‘पश्चिम खण्डमा झण्डै ४१ प्रतिशत काम सकिएको छ,’ पश्चिम खण्डका इन्जिनियर श्रेष्ठले भने, ‘सबै पुलको फाउन्डेसनदेखि माथि सब स्ट्रक्चरसम्मको काम पूरा भएको छ। ६ वटा पुलको गाडी गुड्ने भाग (ढलान) पनि तयार भइसकेको छ।’

अरु सबैजसो पुलको बिमको काम सकिएको र सडक विस्तार र कालोपत्रे गर्ने काम भइरहेको उनले बताए। 

सहरी क्षेत्रमा दायाँबायाँ सर्भिस लेनसहित ६ लेन र ग्रामीण क्षेत्रमा ४ लेनमा सडक विस्तार भइरहेको उनले बताए। ‘अर्को वर्षको डिसेम्बरसम्ममा सडक विस्तारको काम सक्ने हाम्रो लक्ष्य छ,’ उनले भने, ‘केही महिनाअघि मात्रै सडक विस्तारका लागि १४ महिना समय थप भएको छ। यस अवधिमा हामी काम सक्नेगरी अघि बढेका छौँ।’

उनले समयमै काम सक्न चाडबाडका बेला पनि काम नरोकिएको दाबी गरे।  

‘मैले हेरिरहेको पश्चिम खण्डमा मात्रै अहिले दैनिक पाँच सय मजदुरले काम गरिरहेका छन्,’ उनले भने, ‘हामीले दसैँ, तिहार, छठजस्ता चाडपर्वमा पनि काम रोकेका छैनौँ। यात्रु र स्थानीयलाई धुलोबाट जोगाउन अहिले दैनिक पानी छम्कने गरिएको छ।’

एसियाली विकास बैँकको सहुलियतपूर्ण ऋण सहयोगमा सरकारले एसियन हाइवे निर्माणको काम अघि बढाएको हो। अहिले निर्माण चलिरहेको सिराहा–सप्तरी खण्डमा मात्रै १७ अर्ब रुपैयाँभन्दा धेरै खर्च हुने अनुमान गरिएको छ। 

सरकारले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको राजमार्गलाई ‘एसियन हाइवे’ का रुपमा विस्तार गर्ने योजना बनाएको छ। जसमध्ये यतिबेला पूर्वमा सिराहा र सप्तरी तथा पश्चिममा बुटबल–गोरुसिंगे खण्डमा सडक विस्तारको काम भइरहेको छ।

पूर्वमा झापा, मोरड र सुनसरी खण्डमा पनि सडक विस्तारका लागि भर्खरै ठेक्का लागेको इन्जिनियर श्रेष्ठले जानकारी दिए। 

एसियन हाइवेअन्तर्गत काँकडभिट्टा पारि (पश्चिमबंगाल, भारत) सम्म एसियन राजमार्ग निर्माणको काम पूरा भइसकेको छ। नेपाल पनि एसियन राजमार्गमा जोडिए पनि नेपालतर्फका सडक साँघुरा छन्। 

एसियन हाइवेअन्तर्गत नेपाल-भारत सीमा नाका जोड्ने काँकडभिट्टाको ५ सय ७५ मिटर लामो मितेरी पुल एक वर्षअघि नै सञ्चालनमा आइसकेको छ। काँकडभिट्टाबाट भारतको पानीट्याङ्की नाका जोड्न मेची नदीमाथि ६ लेनको मितेरी पुल आधा नेपाल र आधा भारततर्फ पर्छ। 

१ लाख ४० हजार किमि लामो हुने एसियन हाइवेले एसियाली देशहरुलाई सडक सञ्जालमा जोड्ने लक्ष्य राखेको छ। अहिलेसम्म ३२ देशले यो राजमार्गमा आबद्ध हुने सम्झौता गरिसकेका छन्।

यो राजमार्ग निर्माणको मुख्य खर्च चीन, भारत, जापान, ताइवानलगायतका देशले बेहोर्नेछन्।

भिडिओ : एसियन हाइवेको मापदण्डअनुसार सिराहा र सप्तरीमा पूर्वपश्चिम राजमार्ग ६ लेनमा विस्तार गरिँदै

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .