ad ad

समाज


दुई युवक मारिनासाथ पूरा गरेको माग २४ दिन धर्ना दिँदा पनि सुनेन सरकारले

मंसिर २५ गते पनि हानिएको थियो अश्रुग्यास
दुई युवक मारिनासाथ पूरा गरेको माग २४ दिन धर्ना दिँदा पनि सुनेन सरकारले

उजिर कार्की
पुस १७, २०८० मंगलबार ७:५४, काठमाडौँ

दक्षिण कोरियाको रोजगारीका लागि पानी जहाज निर्माण क्षेत्रतर्फ कोरियन भाषा परीक्षामा आवेदन दिएर अनुत्तीर्ण भएका परीक्षार्थीहरुले सोमबारदेखि उत्पादनमूलक क्षेत्रका लागि भाषा परीक्षा फाराम भर्न थालेका छन्। पहिलो दिन साँझ ६ बजेसम्ममा ४ हजार जनाको आवेदन परिसकेको वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले बताए। 

उनका अनुसार अनलाइनमार्फत आवेदन दिनेको संख्या बढिरहेको छ। उनीहरुले बुधबारसम्म आवेदन दिन पाउने छन्। पानी जहाज निर्माणको क्षेत्रमा अनुतिर्ण भएपछि यस क्षेत्रका लागि पनि भाषा परीक्षा दिन पाउनु पर्ने माग गर्दै २४ दिन देखि आन्दोलित थिए।

तर २४ दिन आन्दोलन गर्दा समेत वास्ता नगरेको सरकार र अदालतले २ जनाको ज्यान गए लगतै भाषा परीक्षा फाराम भर्न दिने निर्णय गरेको हो। यसअघि पानी जहाज निर्माण क्षेत्रमा आवेदन दिएकाहरुलाई उत्पादनमूलक क्षेत्रको लागि फाराम भर्न तीनदिनको समय दिइएको छ। उनीहरुले अनलाइनमार्फत आवेदन दिने व्यवस्था मिलाइएको छ। 

यतिकै लागि आन्दोलन गर्दा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउत मारिएका थिए। उनीहरुको पनि भाषा परीक्षा दिन पाउनु पर्ने माग थियो। 

तर सरकारले माग पूरा गर्नुअघि नै उनीहरुको ज्यान गयो।  

घटना हुनुअघि के–के भए?
उच्च अदालत पाटनले रिट निवेदन दिएका १८ जनालाई आवेदन फाराम भर्न दिनु भनी अन्तरिम आदेश दिएको थियो। सोही आदेशका आधारमा ईपीएस कोरिया शाखाले १८ जनालाई सक्कल कागजातसहित कार्यालयमा आवेदन दिन दिउँसो ३ बजेसम्मको समय तोकेको थियो। 

तर उनीहरुसँगै पानी जहाज निर्माण क्षेत्रका लागि परीक्षा दिएका झन्डै २ सय जना बिहान ७ बजे नै कार्यालयमा जम्मा भइसकेका थिए। यो क्रम २४ दिनदेखि चलिरहेको थियो। 

यसअघि उनीहरुको माग आफूहरुले पनि आवेदन फाराम भर्न पाउनुपर्ने थियो। तर त्यो दिन उनीहरुले कि आफूहरुले पनि आवेदन फाराम भर्न पाउनु पर्ने नभए पानीजहाज निर्माण क्षेत्रमा सहभागी भएका कसैलाई पनि फाराम भर्न नदिने चेतावनी दिए।

ती १८ जनालाई सुरक्षित साथ आवेदन फाराम भर्न दिन प्रहरी तैनाथ थिए। ईपीएस कार्यालयमा सातदोबाटो वृत्तका डीएसपी उमेश जोशीको कमान्डमा प्रहरी खटिएको थियो। ललितपुर जिल्लाको अप्रेसन कमान्ड इन्चार्ज थिए- डीएसपी उमेश लम्साल।  ईपीएस कार्यालयमा नाराबाजी चर्किंदै र अरु दिनभन्दा धेरैको उपस्थिति हुन थालेपछि उनीआफैँ पुगेका थिए- ईपीएस कार्यालय। 

काठमाडौँ उपत्यका प्रहरी कार्यालयबाट थप जनशक्ति मगाइएको थियो। 

बिहान १० बज्दासम्म ईपीएस शाखा कार्यालयमा कार्यालय सोहयोगीबाहेक कोही पनि कर्मचारी उपस्थित थिएनन्। १८ जनालाई आवेदन दिन आउनु भने पनि कार्यालय प्रमुख गुरुदत्त सुवेदी पनि कार्यालय आइसकेका थिएनन्। न त आवेदन दिन बोलाइएका १८ जना नै पुगे। 

तर ईपीएस कार्यालयको परिसरमा २ हजारजति आन्दोलनकारी युवा भेला भइसकेका थिए। बिहानको १० बजेपछि आन्दोलनकारी थप आक्रोशित हुन थाले। साढे १० बजेबाट आन्दोलनरत युवा र प्रहरीबिच धकेलाधकेल सुरु भयो। यो क्रम चली नै रह्यो। 

सो घटना ललितपुर प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सिद्धिविक्रम शाहले पनि नियालिरहेका थिए। उनले यसको रिपोर्ट प्रमुख जिल्लाअधिकारी र उपत्यका प्रहरी कार्यालयमा पनि गरिरहेका थिए। 

बिहानको ११ बजेर २० मिनेटमा प्रहरीविरुद्ध ढुंगामुढा सुरु भयो। त्यसपछि डीएसपी उमेश लम्साललाई भीड तितरबितर पार्न अश्रुग्यास प्रहार गर्न एसएसपी शाहले आदेश दिए। प्रहरीले अश्रुग्यास हानेपछि ईपीएस शाखाबाट भीड तितरबितर हुन थाल्यो। ईपीएस शाखाबाट तितरबितर भएको भीड चक्रपथ पुग्यो।

धेरैजसो आन्दोलनकारी बालकुमारी पुलतिर लागे। करिब २० प्रतिशत ग्वार्को चोकतिरको मुख्य सडकमा। आकाशे पुलमा पनि आन्दोलनकारी नै थिए। 

उपत्यका प्रहरी कार्यालय कन्ट्रोलबाट मन्त्रीको गाडी आन्दोलनकारीको भीडमा रोकिएको ११:५५ मा खबर पुग्यो। 

कन्ट्रोल बाटै त्यसको केही मिनेटमै फेरि अर्को सूचना गयो, ‘मन्त्रीको गाडीको हावा खुस्काइरहेका छन्, तत्काल रेस्क्यु गर्नुस्।’

उपत्यका प्रहरी कार्यालयबाट ललितपुर परिसर र त्यहाँबाट फिल्ड कमान्डर डीएसपी उमेश लम्साललाई त्यही आदेश ‘सर्कुलर’ भयो।

आन्दोलनकारीले मन्त्रीको गाडी रोकेर हावा खुस्काइरहेको र मन्त्रीलाई रेस्क्यु गर्नु भने पनि मन्त्री त्यहाँ भए नभएको कुनै जानकारी थिएन।

ईपीएस कार्यालयमा रहेका दुई डीएसपीमध्ये उमेश लम्साल ३० जनाजतिको टोली लिएर त्यसतर्फ ‘मुभ’भए। तर आन्दोलनरत युवाले उनलाई त्यहाँबाट अगाडि बढ्नै दिएनन्। आन्दोलनकारीले ढुंगामुढा गरे। त्यसपछि लम्साल नेतृत्वको टोलीले अघि बढ्न अश्रुग्यास, ब्ल्यांक राउन्ड, रबर बुलेट र हवाई फायर गर्न थाल्यो। तर आन्दोलनकारीलाई हटाएर प्रहरी टोली अघि बढ्न सकेन। मन्त्री र गाडीको अवस्थाबारे डीएसपी लम्साललाई त्यसपछि थप कुनै सूचना गएन। 

तर लम्सालले कमान्ड गरेको टोलीले एसएलआरबाट गोली पनि चलायो। त्यही क्रममा गोली लागेर ढले- अछामका वीरेन्द्र शाह। उनको नाइटोभन्दा तल गोली लाग्यो। उनी ढलेपछि आन्दोलनरत युवा उद्धारमा लागे। तर लम्साल कमान्डको टोलीले गोली चलाइरह्यो। बल्ल भीड छिचोल्यो। त्यस क्रममा प्रहरीले २० राउन्ड गोली एसएलआरबाट चलाएको छ। एउटा गोलीले ज्यान लियो, अर्को गोली झोलामा रहेको मोबाइलमा लाग्दा सम्बन्धित व्यक्तिको ज्यान जोगियो। 

यता आन्दोलनरत भीड छिचोलेर प्रहरी पुग्दा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडी प्रदर्शनकारीले जलाइसकेका थिए।

कसरी पुग्यो मन्त्रीको गाडी आन्दोलनकारीको भीडमा?
अहिले सबैभन्दा बढी आलोचना नै मन्त्री ज्वालाको भइरहेको छ। नहोस् पनि कसरी? सबै गाडी रोकिएका बेला आन्दोलनकारीको भीडमा पुगेर २ जनाको ज्यान जाने घटना उनैका कारण भएको थियो। 

मन्त्रीको गाडी आन्दोलनकारीको भीडमा रहेको र हावा खुस्काइरहेकाले रेस्क्यु गर्ने आदेश पाएका प्रहरीले उनको उद्धार गर्न जाँदा गोली चलाएका थिए। प्रहरी महानिरीक्षक वसन्त कुँवरले मन्त्री ज्वाला भीडमा गाडी लिएर नपुगेको भए यो घटना हुने नै थिएन भनिरहेका छन्। 

ईपीएस कार्यालयमा अश्रुग्यास हान्नु पहिले नै प्रहरीले चक्रपथ चल्ने गाडी कोटेश्वर र सातदोबाटोमा नै रोकेको थियो। ग्वार्को चोकको भित्र र बाहिरबाट आउजाउ गर्ने गाडी पनि चल्न पाएका थिएनन्। 

तर इमाडोलमा पार्टीको बैठकमा सहभागी भएर बाहिरिएका मन्त्री ज्वाला ग्वार्को चोकबाट दाहिनेतिर मोडिए। ग्वार्कोबाट अगाडि सडक खाली थियो। झण्डा फहराउँदै मन्त्रीको गाडी बालकुमारी पुलतर्फ अगाडि बढ्यो। तर बालकुमारीको आकासे पुलनजिकै पुगेपछि उनको गाडीलाई आन्दोलनकारीले घेरे। 

गाडी अगाडि बढ्न नसकेपछि नेपाली सेना र नेपाल प्रहरीका सुरक्षाकर्मीले उनलाई ओराले। त्यस क्रममा आन्दोलनकारीले मन्त्रीलाई धकेलेका समेत थिए। मन्त्री ज्वाला आन्दोलनकारीको माझमा गाडी छाडेर भागे।

तर उता ईपीएस कार्यालयअगाडि मन्त्रीलाई जोगाउन जान प्रहरीले चलाएको गोलीले दुई युवकको ज्यान लियो। 

पीएसओको कनेक्सन छैन ललितपुरमा
महानगरीय प्रहरी कार्यालयको कन्ट्रोलबाट जानकारी पाएको ललितपुर प्रहरीलाई मन्त्री आउजाउको कुनै जानकारी थिएन। पहिल्यै जानकारी दिएको भए उनलाई प्रहरीले स्कर्टिङ गरेर गन्तव्यतर्फ लैजाने थियो। 

तर पीएसओले सम्बन्धित निकायमा खबर नगरेको प्रारम्भिक सूचनापछि उनलाई निलम्बन गरिएको छ। पीएसओले प्रयोग गर्ने सञ्चार सेट (वाकिटकी) र ललितपुरमा प्रयोग हुने सेट फरक हुन्।

पीएसओले मोटोर्ला सेट प्रयोग गर्छन्। तर ललितपुरमा हाइटेरा प्रयोगमा छ। त्यही कारण पीएसओको सेटबाट ललितपुर प्रहरीसँग सीधै कनेक्सन हुँदैन। 

आन्दोलनको भीडमा मन्त्रीको गाडी लगेको भन्दै उनलाई पनि अहिले निलम्बन गरिएको छ। ईपीएस प्रमुख सुवेदी र गोली चलाउने कमान्डर डीएसपी लम्साल पनि निलम्बनमा छन्। 

यही घटनाका कारण ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित गृह मन्त्रालय र जिल्ला प्रहरी प्रमुख सिद्धिविक्रम शाह प्रहरी प्रधान कार्यालय तानिएका छन्। उनीहरुलाई घटना अनुसन्धानका लागि जिम्मेवारीबाट अलग गरिएको हो। तर सरकारले सोमबार न्यायिक छानबिन समितिसमेत बनाएको छ। 

मंसिर २५ को त्यो झडप
ईपीएस कोरिया शाखाले गत मंसिर १९ गते पानी जहाज निर्माण क्षेत्रमा आवेदन दिएकाले उत्पादनमूलक क्षेत्रका लागि भएको भाषा परीक्षामा आवेदन दिन नपाउने गरी सूचना जारी गर्‍यो।

यही पुस २ गतेदेखि अनलाइनमार्फत आवेदन दिन पाउने गरी अन्यका लागि भने फाराम खुलेको थियो। ५ दिनका लागि आवेदन खुले पनि त्यसअघि नै पानीजहाज निर्माण क्षेत्रको परीक्षा दिएकाहरुले आन्दोलन थाले। 

उनीहरुका मुख्य माग दुइटा थिए। कि आफूहरुलाई पनि भाषा परीक्षामा सामेल गराउनुपर्ने कि डिसेम्बरपछि मात्रै फाराम खुलाउनु पर्ने। सन् २०२४ लागेपछि आवेदन खुलाएको भए उनीहरुलाई भाषा परीक्षामा सामेल हुन कुनै समस्या थिएन। 

तर ईपीएस कार्यालयले यी दुवै निर्णय गराउन सकेन। लामो समय बित्दा पनि उनीहरुका माग सम्बोधन गर्न कुनै पहल नगरी प्रहरी लगाएर लखेट्ने नीति लियो। 

तर मंसिर २५ गतेसम्म कार्यालयमा धर्ना दिँदा पनि सुनुवाइ नभएपछि उनीहरुले ग्वार्को चोकमा भेला भएर विरोध गरेका थिए। जुन दिन पनि उनीहरुविरुद्ध प्रशासनले बल प्रयोग गरेको थियो। 

त्यतिबेला ललितपुर प्रहरीले ६ सेल अश्रुग्यास प्रहार गरेर उनीहरुलाई तितरबितर पारेको थियो। त्यसपछि पनि उनीहरुले धर्ना दिन भने छाडेनन्। हरेक दिन ईपीएस कार्यालयमा जम्मा हुँदै नारा लगाउने क्रम जारी राखे। 

तर आवेदन दिने म्याद सकिएको अवस्थामा उच्च अदालत पाटनको आदेशले फेरि उनीहरुलाई आशा जगाइदियो। १८ जनाले अन्तरिम आदेश ल्याएर परीक्षा फाराम भर्न पाउने भएपछि आन्दोलन थप चर्कियो।

अदालतको आदेशले बिथोलेका ईपीएसका परीक्षार्थी मन्त्रीको सवारीले थप आक्रोशित भए र २ जनाको ज्यानै जाने स्थिति आयो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .