ad ad

समाज


तस्करको घरसम्मै सुन पुर्‍याउन जान्थे विमानस्थलका कर्मचारी

सुन तस्कर र विमानस्थल कर्मचारीको साँठगाँठको बेलिबिस्तार
तस्करको घरसम्मै सुन पुर्‍याउन जान्थे विमानस्थलका कर्मचारी

उजिर कार्की
पुस २३, २०८० सोमबार १६:२२, काठमाडौँ

१३८ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका ८ जना पुर्पक्षका लागि कारागार चलान भएका छन्। जिल्ला अदालत काठमाडौँका न्यायाधीश शंकरबहादुर राईको इजलासले सबै प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो। 

दुबईबाट १४ किलो सुन लिएर आएका गोरखाका चन्द्र घलेलाई पक्राउ गरेपछि थप तस्करीबारे खुलेको थियो। विमानस्थल भन्सार कार्यालयले अनुसन्धानका क्रममा यो समूहले १३८ किलो सुन तस्करी गरेको भन्दै सोही बराबर बिगो र जरिवाना दाबी गरेको छ। 

पछिल्लो पटक सुन लिएर आएका चन्द्र घले, नेपालमा सुन तस्करीको व्यवस्थापन गर्ने मीनबहादुर घले, यसअघि सुन तस्करी गर्ने स्याङ्जाका कृष्णकुमार श्रेष्ठ पुर्पक्षका लागि कारागार चलान भएका छन्। यही मुद्दामा प्रतिवादी बनाइएका डीबी भन्ने दनबहादुर गुरुङ र उनकी पत्नी बिना गुरुङ भने फरार छन्। 

यस्तै तस्करीको सुन विमानस्थलबाट गिरोहको घरसम्म पु¥याइदिने कर्मचारी पनि जेल चलान भएका छन्। विमानस्थलका कर्मचारीहरु राधाकृष्ण श्रेष्ठ, लेकबहादुर तामाङ, रमेश देउला, अनिल श्रेष्ठ, शेरबहादुर बस्नेत जेल चलान भएका हुन्। 

उनीहरु नागरिक उड्डयन प्राधिकरण अन्तर्गतका कर्मचारी हुन्। उनीहरुले दनबहादुर गुरुङसँग घुस लिई सुन चोरीपैठारी गरेको अभियोग छ। 

मंसिर १३ को सीसीटीभी फुटेजले तान्यो कर्मचारी 
चन्द्र घले सुनसहित समातिएपछि उनको बयानका आधारमा प्रहरीले मीनबहादुर घलेलाई पनि पक्राउ गरेको थियो। मीनबहादुर पक्राउ परेसँगै खुलेको थियो कर्मचारीको संलग्नता।

मीनबहादुरको मोबाइलमा दुबईबाट सुन पठाउने भारतीय नागरिक अंकित अग्रवालले पठाएका इमेल, टिकट, भिसा लगायतका जानकारी फेला परे। सुन लिन दुबई जाने तस्करको समूहलाई उनले नै भिसा र टिकट मिलाइदिन्थे। 

अग्रवालले पठाएको इमेलमा कृष्णकुमार श्रेष्ठको नामको टिकट र भिसा फेला पर्यो। सोही आधारमा कृष्णकुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको थियो। उनले पनि मीनबहादुर घलेको योजना अनुसार नै आफू दुबई गएर सुन ल्याएको बयान दिएका थिए। यसअघि ल्याएको सुन भने कर्मचारीको मिलेमतोमा भन्सार पास भएर भारत पुगेको थियो। श्रेष्ठले ७ पटक दुबईबाट सुन ल्याएको बयान दिएका थिए। 

पछिल्लो पटक उनले मंसिर १३ गते १४ किलो सुन ल्याएको बयान दिएका छन्। उनले सातै पटक १४ किलोका दरले सुन ल्याएको बयान अनुसन्धानका क्रममा दिएका छन्। 

उनले पनि आफूलाई मीन घलेले नै पठाएको बयान दिएका थिए। उनको बयान मीन घलेले पनि स्वीकार गरेर आफूले पठाएको पुष्टि गरेका छन्। उनले ९ वर्षअघि पहिलो पटक सुन ल्याएको बताएका छन्। 

दुबईबाट अवैध रुपमा ल्याएको सुन उनले पनि विमानस्थलको शौचालयमा रहेको डस्टबिनमा राख्ने र त्यहाँबाट पार गराउने जिम्मा कर्मचारीकै भएको बताएका छन्। 

अनुसन्धानका क्रममा कृष्णकुमार श्रेष्ठले पछिल्लो पटक मंसिर १३ गते ल्याएको सुन कसरी पार भयो भनेर विमानस्थल कार्यालयको सीसीटीभी फुटेज हेरिएको थियो।

उनी फ्लाई दुबईबाट बिहान ८:२० मा काठमाडौँ अवतरण गरेका थिए। त्यसपछि उनी अध्यागमन डेस्क नजिकैको शौचालयमा गए। 

त्यही समयमा शौचालय नजिकै उनलाई रेकी गरेर बसिरहेका देखिन्थे सरसफाइका कर्मचारीहरु शेरबहादुर बस्नेत, सुशीला पाण्डे, कपिल ओझा र गणेश चेपाङ। उनीहरुलाई पनि पक्राउ गरेर अध्यागमन विभागले अनुसन्धान गर्यो। शेरबहादुर बस्नेतले सोधपुछका क्रममा आफूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत कर्मचारी रमेश देउलाले फोन गरी शौचालयमा कोही व्यक्तिले सुन ल्याएर राख्छन् भनेर रेकी गर्न लगाएको बताए। 

उक्त सुन शौचालयबाट भीआईपी कक्षको बाटो हुँदै बाहिर लैजाने काम भने टर्मिनल ड्युटी अधिकृत कार्यालयका कर्मचारी लेकबहादुर तामाङले गर्ने गरेको उनले खोले।

सोही आधारमा रमेश देउला र लेकबहादुरलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गर्यो। 

सोधपुछका क्रममा लेकबहादुरले दुबईबाट कृष्णकुमार श्रेष्ठ र चन्द्र घलेले सुन शौचालयमा ल्याएपछि आफूलाई रमेश देउला र डीबी भन्ने दनबहादुर गुरुङले सूचना दिने र त्यसपछि उक्त सुन त्यहाँबाट निकालेर अराइभलको भीआईपी कक्षको बाटो हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयको प्रशासन शाखा नजिकैको शौचालयभित्र गई राधाकृष्ण श्रेष्ठलाई दिने गरेको खुलाए।

अनि प्रहरीले राधाकृष्णलाई पनि पक्राउ गर्यो। राधाकृष्णबाट थप खुल्यो। सुन आउँदै गरेको सूचना पाएपछि कहिले राधाकृष्ण र रमेश देउला, कहिले राधाकृष्ण र अनिल श्रेष्ठले मिलेर उड्डयन कार्यालय नजिकै रहेको शौचालयमा लेकबहादुर तामाङले ल्याएको सुन उनीहरुले भन्सार तथा प्रहरीको चेकजाँच नहुने गोप्य बाटो हुँदै अन्तर्राष्ट्रिय प्रस्थान एरियाबाहिर रहेको सार्वजनिक शौचालयबाट निकाली सरसफाइको कार्यालय बाहिर लैजाने र त्यहाँबाट मीनबहादुरले भनेको ठाउँमा लैजाने गरेका थिए। 

उनले बयानका क्रममा खुलाएका छन्– सुन विमानस्थलबाट बाहिर निकाल्ने क्रममा अन्तर्राष्ट्रिय प्रस्थानतर्फ र्याडिसन लाउन्ज छेउमा रहेको आपतकालीन ढोका सुन लिएर आउनु पहिले नै खोलिसकेको हुन्थ्यो। उक्त ढोकाको चाबी एसी मर्मत कार्यालयमा हुन्थ्यो। 

त्यहाँबाट माथील्लो तलाको उपकरण तथा एसी राखिएको स्थान हुँदै उक्त भवनको उत्तरपूर्वतर्फको कुनाबाट सिँढी हुँदै सरसफाइ कार्यालय सुनगाभा सगरमाथा जेभी सप्लायर्सको छेउ पुग्थ्यो। त्यहाँबाट सिँढी झरेर प्रस्थान क्षेत्रको बाहिर रहेको सार्वजनिक शौचालय नजिकै रहेको बाटो हुँदै बाहिर निस्किएर मोटरसाइकलमा कहिले रमेश देउला र कहिले अनिल श्रेष्ठले बानियाटारसम्म पु¥याएर बिना गुरुङलाई दिएका थिए।

अनिल श्रेष्ठले भने आफ्नो जिम्मेवारी राधाकृष्ण श्रेष्ठले सुन राखिएको चिलर प्लान्ट भएको हलको ढोका खोल्न आदेश दिएपछि ढोका खोलिदिने र त्यहाँबाट सामान निकालेपछि इमर्जेन्सी एक्जिटको ढोका बन्द गरिदिने मात्रै भएको बताएका छन्। 

राधाकृष्ण श्रेष्ठ र रमेश देउलाले चिलर प्लान्ट राखिएको हलबाट निकालेर डीबी भन्ने दनबहादुर गुरुङको घर बानियाटारमा पु¥याउने र दनबहादुरलाई सुन जिम्मा लगाउने भएको खुलाएका छन्।

डीबी गुरुङले सुन दुबईबाट आउँदै गरेको सूचना रमेश देउलालाई दिन्थे। देउलाले राधाकृष्ण श्रेष्ठ, लेकबहादुर तामाङ र शेरबहादुर बस्नेतलाई जानकारी गराउँथे। दुबईबाट आएका यात्रुले शौचालयमा सुन राखे नराखेको यकिन गर्ने काम शेरबहादुरले गर्थे।
लेकबहादुरले सुन लगेर राधाकृष्णलाई  दिन्थे। राधाकृष्णले गोप्य बाटो हुँदै भन्सार र प्रहरी चेकजाँच नहुने क्षेत्रबाट निकाल्थे। डीबीसँग उनीहरुको बारम्बार टेलिफोन सम्पर्क पनि भएको देखिएको छ। तर डीबी गुरुङ र जीवन गुरुङ भने १४ किलो सुन बरामद भएपछि फरार भएका छन्।
 
केहीलाई अनुसन्धानपछि छाडियो
१४ किलो सुन बरामदपछि पक्राउ परेका प्रतिवादीविरुद्ध १३८ किलो सुन तस्करी गरेको अभियोगमा मुद्दा चलाइएको छ। १ अर्ब ४० करोड ५५ लाख ३० हजार रुपैयाँ बिगो कायम गरिएको छ। 

प्रतिवादीहरु चन्द्र घले, मीनबहादुर घले, कृष्णकुमार श्रेष्ठ, दनबहादुर गुरुङ र उनकी पत्नी बिना गुरुङलाई मुख्य प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ। अन्यलाई सहप्रतिवादी बनाइएको छ। 

राधाकृष्ण श्रेष्ठ, लेकबहादुर तामाङ, रमेश देउला, अनिल श्रेष्ठ, शेरबहादुर बस्नेत नागरिक उड्ययन प्राधिकरणका कर्मचारी हुन्। उनीहरुले दनबहादुर गुरुङसँग घुस लिई सुन चोरी पैठारी सम्बन्धी कार्य गरेकोले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट समेत मुद्दा चलाइने भएको छ। 

यस्तै बयान पोलेका अंकित अग्रवाल, राजेन्द्र बस्नेत, विमल पोद्दार, राजकुमार भारती, जीवन गुरुङ, गुरु भन्ने व्यक्तिहरुको यकिन नाम, थर, वतन र कसुर खुलेका बखत पेस गरिने भएको छ। 

तर यसअघि पक्राउ परेका सुशीला पाण्डे, कपिल ओझा र गणेश चेपाङको हकमा भने मुद्दा नचल्ने भएको छ। सुन तस्करीमा उनीहरुको संलग्नता नदेखिएको र सहप्रतिवादीहरुले पनि उनीहरुको संलग्नता नखुलाएकाले मुद्दा नचलाउने निर्णय भएको हो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .