ad ad

समाज


बम्जनलाई प्रहरीले १८ दिनदेखि पछ्याएको थियो, आठ दिन घरभित्रै लुकेर बसे

घरमा प्रहरी पसेपछि छतबाट हामफालेर भाग्न खोजे
बम्जनलाई प्रहरीले १८ दिनदेखि पछ्याएको थियो, आठ दिन घरभित्रै लुकेर बसे

पक्राउ परेका रामबहादुर बमजन


उजिर कार्की
पुस २४, २०८० मंगलबार २०:१, काठमाडौँ

हत्यासहितको अभियोगमा अनुसन्धानमा तानिएका ‘तपस्वी’ रामबहादुर बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले मंगलबार साँझ काठमाडौंबाट पक्राउ गरेको छ। 

लगातार १८ दिनदेखि पछि लागेर सीआईबीको टोलीले उनलाई काठमाडौंको हात्तीगौंडास्थित घरबाटै पक्राउ गर्न सफल भएको हो। बम्जन पक्राउ परेको पुष्टि सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीले गरे।

बम्जन काठमाडौं आसपासमै रहेको सूचनापछि सीआईबीको टोली १८ दिनदेखि उनको पछि लागेको थियो।

भाग्न सक्ने सम्भावना बलियो भएपछि प्रहरीले निरन्तर निगरानी गरेर मंगलबार साँझ पक्राउ गर्न सफल भएको हो।

सीआईबीले बम्जनलाई पक्राउ गर्न एकजना डीएसपीको कमान्डमा टोली परिचालन गरेको थियो।

डीएसपी नेतृत्वको टोलीले निरन्तर पछ्याइरहेको सूचना बम्जनकहाँ पनि पुगेको थियो। प्रहरीले पछ्याइरहेको शंका पाएपछि बम्जन हात्तीगौँडास्थित घरबाट भाग्न तयारी अवस्थामा थिए। 

प्रहरी अप्रेसन भिडिओ अर्काइभ :

सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यका अनुसार आफूलाई पक्राउ गर्न प्रहरी पछि लागेको शंका पाएका उनी जुनसुकै बेला भाग्ने गरी तम्तयार अवस्थामा थिए। 

भाग्ने तयारी अवस्थामा रहेका उनी हात्तीगौंडास्थित घरमा विगत ८ दिनदेखि बाहिर कतै ननिस्की बसेका थिए। 'उनी विगत ८ दिनदेखि आफ्नो घरबाट बाहिर निस्किएका थिएनन्', एआईजी बज्राचार्यले भनिन्, 'मंगलबार पक्राउ गर्ने समयमा पनि उनी भाग्न तयम्तयार अवस्थामा देखिएका थिए।'

मंगलबार साँझ प्रहरीको टोली बम्जनलाई पक्राउ गर्न उनको घरभित्रै छिरेको थियो। तर, प्रहरी छिरेको सुइँको पाएपछि उनी तीन तले घरको छतबाट हामफालेर भाग्ने तयारीमा थिए। 

'पक्राउ गर्न जब प्रहरी टोली उनको घरभित्र छिर्‍यो, त्यसबेला उनी तीन तलामाथिबाट हामफालेर भाग्ने तयारीमा थिए', एआईजी बज्राचार्यले नेपालखबरलाई भनिन्, 'उनी भाग्न सक्ने अनुमानसहित थप तीनवटा टोली बाहिर परिचालन गरिएको थियो। त्यहीकारण उनी यस पटक प्रहरीलाई छल्न असफल भए।'

बलात्कारसहित बम्जनमाथि एक अनुयायीको हत्या गरेको, तीन आनी र अर्का एक अनुयायीलाई बेपत्ता पारेको आरोप छ। रौतहटकी आनीले आश्रममा बस्दा बम्जनले आफूलाई जबर्जस्तीकरणी गरेको आरोप लगाएकी छन्।

पछिल्लो समय सिन्धुलीको आश्रममा बस्दै आएका बम्जन प्रहरीको फरार सूचीमा थिए। सिन्धुली, सिन्धुपाल्चोक, सर्लाही, बारालगायत उनका आश्रम रहेका ठाउँमा लामो समयदेखि खोजी गरे पनि बम्जनलाई प्रहरीले फेला पार्न सकेको थिएन।

बम्जनले सुरुमा ‘लिटिल बुद्ध’ को नामले चर्चा कमाएका थिए। करिब १८ वर्षअघि उनले बाराको रतनपुरी जंगलमा ‘तपस्या’ गर्न थालेका थिए।

यो पनि :

    प्रतिक्रिया

    नेपाल खबर प्रा.लि
    सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

    Nepal Khabar Pvt. Ltd.

    Blue Star Complex
    Thapathali-11, Kathmandu, Nepal
    +977 01 5340505 / 5341389
    Admin:info@nepalkhabar.com
    News:news@nepalkhabar.com

    विज्ञापनका लागि सम्पर्क


    +977 9851081116
    advertising@nepalkhabar.com
    Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .