ad ad

समाज


केसीको स्पष्टीकरण : चिनियाँ महिलाको अंग्रेजी गालीपछि कुटपिट, राहतको भ्रष्टाचारमा देव गुरुङको हिस्सा

‘खानुपर्छ कमरेड, हामीलाई कसैको भरपाई दिनुस्, सामान बुझेर लानूस् र मजाले खानूस्’
केसीको स्पष्टीकरण : चिनियाँ महिलाको अंग्रेजी गालीपछि कुटपिट, राहतको भ्रष्टाचारमा देव गुरुङको हिस्सा

फाइल तस्बिर


दिनेश बुढा
माघ ७, २०८० आइतबार १८:१५, सुर्खेत

गत कात्तिक १७ गते राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गयो।

भूकम्प गएको तीन दिनपछि चिनियाँ संस्था ‘चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट’ कम्पनीले राहत वितरण थाल्यो। तर, राहत वितरणमा आएको चिनियाँ टोली प्रमुखमाथि गत मंसिर २० गते कुटपिट भयो।

चिनियाँ संस्था ‘चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट’ की मुख्य निर्देशक सोउ सिच्याङमाथि भेरी नगरपालिकाको रिम्नामा हातपात भएको थियो। उक्त विषयलाई लिएर यतिबेला नेकपा माओवादी केन्द्रभित्र खैलाबैला मच्चिएको छ। 

गत मंसिर २० गते भएको उक्त घटनालाई लिएर माओवादी केन्द्रका नेताहरूबीच अहिले आरोप–प्रत्यारोप चलिरहेको छ। 

चिनियाँ नागरिकमाथि कुटपिटमा रुकुम पश्चिमका माओवादी वैकल्पिक केन्द्रीय सदस्य गोर्खबहादुर केसीको पनि संलग्नता रहेको भन्दै उनलाई लिखित स्पष्टीकरण सोधेर कारबाही अगाडि बढाउने निर्णय भएको छ।

गत २८ पुसमा काठमाडौंमा बसेको पार्टी स्थायी कमिटी बैठकले यस विषयमा निर्णय गरी परिपत्रसमेत जारी गरिसकेको छ।

‘भूकम्प प्रभावित क्षेत्रमा चीन सरकारबाट राहत सामग्री वितरण गर्ने क्रममा विवाद भई वैकल्पिक केन्द्रीय सदस्य गोर्खबहादुर केसीको  उपस्थितिमा चिनियाँ टोलीकी प्रमुखमाथि कुटपिट भएको घटनाबारे लिखित स्पष्टीकरण सोध्ने र आवश्यक कारबाही प्रक्रिया अगाडि  बढाउने निर्णय गरिएको छ’, पत्रमा भनिएको छ। 

तर, चिनियाँ संस्थाकी अधिकारीमाथि गरिएको कुटपिट प्रकरणमा माओवादी केन्द्रको स्पष्टीकरणमा परेका केसीले त्यसबारेमा गम्भीर आरोपसहित पार्टी महासचिव देव गुरुङलाई ६ पृष्ठ लामो जवाफ फर्काएका छन्।

माघ ५ गते केसीले पठाएको उक्त पत्रमा चिनियाँ महिलामाथि कुटपिटको घटनाका पछाडि पार्टी महासचिव गुरुङको समेत भूमिका रहेको दाबी गर्दै उनीमाथि छानबिन माग गरेका छन्। 

गुरुङले आफन्त पर्ने मुक्ति मरासिनीका लागि चिनियाँ प्रोजेक्ट मिलाएको आरोप लगाउँदै उनले उक्त प्रोजेक्टबाट भ्रष्टाचार गरेर हुने आम्दानीमा गुरुङसमेत हिस्सेदार रहेको विषयमा छानबिन हुनुपर्ने माग गरेका छन्।

यस्तै, केसीले स्पष्टीकरणमा राज्यशक्तिको दुरुपयोगबाट केही गर्न नसक्ने देखिएपछि माओवादी कर्णाली प्रदेश अध्यक्ष विमला केसीको दबाबमा गुरुङले आफूलाई पार्टीबाट निकाल्न स्थायी कमिटीमा प्रस्ताव लगेको दाबी गरेका छन्। 

नेता केसीले राहत वितराणका क्रममा महासचिव गुरुङ र प्रदेश कमिटी अध्यक्ष विमला केसीले हिनामिना गरेको पत्रमा उल्लेख गरेका छन्। 

अंग्रेजीमा गाली गरेपछि कुटपिट
यस्तै, माओवादी नेता गोर्खबहादुर केसीले चिनियाँ नागरिकले अंग्रेजीमा आफूहरूलाई गाली गरेपछि आफूसँगै काम गर्ने युवकले कुटपिट गरेको स्वीकार गरेका छन्। 

महिलाले अंग्रेजीमा आफूलाई बेस्सरी गाली गरिरहेपछि आक्रोशित बन्दै १२ कक्षा पढ्दै गरेका युवकले आवेगमा आएर महिलाको गालामा झापड हानेको केसीले स्पष्टीकरणमा उल्लेख गरेका छन्। 

केसीले भनेका छन्, ‘त्यो महिला म भएतिर नआएर, सामान लोड गर्ने मजदुरतिर गइन्। उनी मजदुरनजिक पुगेर भाषण सुरु गरिन्। 

उनले जवाफमा लेखेका छन्, ‘यसलाई तिमीहरूले पहिला किन भोट हालेको? अब यसलाई भोट नगर्नू, यसले मलाई दुःख दियो’ भन्दै थिइन्। मेरो स्टाफले दाइलाई भोट नहाल् भन्ने तँ को होस् भनेर गालामा झापट लगाइहाल्यो। महिला रन्थनिँदै ५-७ फिट टाढा गएर लडिन्। उनलाई पहिल्यैदेखि सम्हालिरहेको नेपाली केटोले उठाएर गेटबाहिरको गाडीमा राख्यो। मैले कामदारलाई छिटो सामान लोड गरिदिन भनेँ, मेरा स्टाफहरूलाई गाली गरेँ। भएको यति हो।’

कार्यालयमा काम गर्न थालेको १ महिना मात्र भएको केटाले त्यस्तो आक्रामण गर्ला भनेर पनि नसोचिएको उनको प्रस्टीकरण छ।

आफ्नो घरमा लुटको धन्दाको सामग्री नराख्न भनेर मरासिनीलाई भनेको उनले बताएका छन्। त्यहीअनुसार सामग्री निकाल्ने क्रममा घोटाला भएको सामानबारे सोध्दा चिनियाँ महिला गाडीबाट निस्केर विवादमा उत्रिएको उनको जिकिर छ।

यस्तै, गुरुङ र प्रदेश अध्यक्ष केसीलाई लक्षित गर्दै उनले आफूलाई कारबाही नगरी नहुने भए अरू नै उपाय खोज्न पनि सुझाएका छन्। 

उनले दुवै नेतामाथि पार्टी र सरकारले गम्भीरतापूर्वक छानबिन गर्न मागसमेत गरेका छन्।

देव गुरुङमाथि भ्रष्टाचार आरोप
केसीले माघ ५ मा पठाएको स्पष्टीकरणमा घटनाको पृष्ठभूमि र आठबीसकोट नगरपालिकामा सामान लुटिएकोबारे भएको छलफलको सन्दर्भ पनि उल्लेख गरेका छन्। 

जसमा मंसिर १८ गते साँझ महासचिव गुरुङ, प्रदेश इन्चार्ज मातृका यादव र प्रदेश अध्यक्ष केसी आफ्नो घरमा बस्न पुगेको उल्लेख गरिएको छ। 

चिनियाँ नागरिकले राहत सामान दुरुपयोग गर्न गुरुङकै अगाडि आफूलाई उक्साएको र यसमा महासचिव मौन बनिदिएको उनको स्पष्टीकरणमा उल्लेख छ। यही विषयमा भएको मतभेदपछि देव गुरुङ आफ्नो घर छाडेर हिँडेको उनको दाबी छ। 

उनले देव गुरुङप्रति आक्रोश पोख्दै दुनियाँ चहारेर पार नलागेपछि पार्टीमा आएजस्तो आफू नभएको भनेका छन्। आफूले आफ्नो ठाउँका जनता र कार्यकर्ताको मनमा थोरै भए पनि ठाउँ बनाएको भन्दै त्यही आफ्ना लागि धेरै भएको बताएका छन्। उनले मरासिनी गुरुङका नातेदार रहेकाले गलत कार्यमा सघाएको आरोपसमेत लगाएका छन्।

चिनियाँ कम्युनिस्ट पार्टीले पठाएको सहयोग सामग्रीलाई गुरुङले भनसुन गरी आफ्नो भदैनीको पति रहेका मुक्ति मरासिनीको संस्था ग्लोबल कोओपरेसन फर डेभलपमेन्टलाई दिलाएको र यसको भ्रष्टाचारबाट हुने आम्दानीमा दुवै हिस्सेदार रहेको केसीको दाबी छ। 

उनले पत्रमा लेखेका छन्, ‘मरासीनीले भन्न थाल्नुभयो, अरू पार्टीले मजाले खाएका छन्। खान जानेका छन्। तपाईंहरू खान नजानेर यत्रो सानो पार्टी भाको छ। खानुपर्छ कमरेड, हामीलाई कसैको भरपाई दिनुस्, सामान बुझेर लानूस् र मजाले खानूस्। उनले निस्फिक्री यो कसरी खान र लुट्न सकिन्छ भनेर प्रशिक्षण चलाउन थाले। मेरा आस्थाका धरोहर महासचिव कमरेडले मरासिनीलाई मज्जाले हप्काउलान् भनेको त मक्ख परेर सुनेका छन्। मैले यस्तो नांगो लुटपाटको सल्लाह कहिल्यै देखेको सुनेको थिइनँ। महासचिव कमरेड त्यो रात सम्झिनूस्। मातृका दाइ अर्कै कोठामा हुनुहुन्थ्यो। मलाई लाग्छ उहाँ त्यहीँ भएको भए मरासिनीको सातो जान्थ्यो।’

घटनापछि नयाँ र अनौठो मोड लिएको र सार्वजनिक शान्ति सुरक्षामा खलल पुर्‍याएको आरोपमा प्रहरीले झापड हान्नेलाई २५ दिन थुनेर ५ हजार धरौटीमा छाडेको बताएका छन्। तर, चिनियाँ महिलाले उजुरी दर्ता नगरेको उनको भनाइ छ। 

गुरुङ भन्छन् : भ्रष्टाचार आरोपबारे थाहा छैन
माओवादी महासविच गुरुङले केन्द्रीय सदस्य गोरबहादुर केसीले लगाएको भ्रष्टाचार आरोपबारे अनभिज्ञ रहेको प्रतिक्रिया दिए। 

उनले नेपालखबरसँग भने, ‘म केही दिनदेखि पार्टी कार्यालय गएको छैन। उहाँ (गोरबहादुर केसी)ले पठाउनुभएको स्पष्टीकरण पार्टी अफिसमा आएको हुन सक्छ। म पुग्न पाएको छैन।’

नेता केसीको स्पष्टीकरण

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .