ad ad

समाज


खुलामञ्चमा बालेन्द्रको नजरः वडाबाट प्रस्ताव मागे, दुबो रोप्ने र फुटबल खेलाउने योजना

अभियन्ता भन्छन्– निर्णय फिर्ता नभए अदालत जान्छौँ
खुलामञ्चमा बालेन्द्रको नजरः वडाबाट प्रस्ताव मागे, दुबो रोप्ने र फुटबल खेलाउने योजना

तस्बिरहरूः सरोज नेपाल


रुपक चौलागाईं
माघ ९, २०८० मंगलबार ७:५७, काठमाडौँ

विगत २ वर्षदेखि खुलामञ्च सर्वसाधारणको पहुँचमा छैन।

२०७३ देखि २०७८ सालसम्म यहाँ बसपार्क सञ्चालनमा थियो। ०७८ मा काठमाडौँ महानगरपालिकाले बसपार्क हटाएपछि अहिले त्यहाँ ताला लगाइएको छ। 

खुलामञ्चको सो भू–भागमा अहिले महानगरपालिकाले ढुुंगा झिक्ने र सरसफाइको काम गरिरहेको छ।

महानगरपालिकाले खुलामञ्चमा २ वटा फुटबल मैदानसहितको पार्क बनाउन लागेपछि सरोकारवालाहरू विरोध उत्रिएका छन्।

यसअघि बालेन्द्र शाह नै नगर प्रमुख भएर आएपछि खुलामञ्चमा भूमिगत पार्किङको योजना ल्याइएको थियो र विवादमा परेपछि अघि बढ्न सकेको थिएन। 

अहिले घाँस रोप्ने भन्दै ताला लागेको खुलामञ्चमा मिटरब्याज पीडितले एक रात बिताउनसमेत पाएका थिएनन्। हिँड्दै काठमाडौँ आएका पीडितलाई एक रातका लागि ढोका खोल्न पनि महानगरले अस्वीकार गरेको थियो।

वडासँग मागिएको प्रस्ताव
खुलामञ्च काठमाडौँ महानगरपालिका वडा नं. २८ मा पर्छ। सोही वडाका अध्यक्ष भाइराम खड्गीले कार्यपालिका बैठकमा खुलामञ्चबारे प्रस्ताव लगेका थिए। 

खुलामञ्चमा बसपार्क हटेदेखि विभिन्न कंक्रिट र फोहोर थुप्रिएको भन्दै अध्यक्ष खड्गीले ‘खुलामञ्चलाई खुला राखौँ’ भन्ने प्रस्ताव सुरुमा लगेका हुन्। 

सो प्रस्तावमाथिको छलफलपछि मेयर बालेन्द्र शाहले वडा नम्बर–२७ सँगको सहकार्यमा खुलामञ्चबारे नयाँ प्रस्ताव ल्याउन आग्रह गरे। 
शाहकै आग्रहलाई मानेर त्यहाँ प्राकृतिक दुबोसहितको मैदान बनाउने प्रस्ताव वडा नम्बर २८ का अध्यक्ष खड्गीले लगे। 

‘खुलामञ्चलाई खुला नै गर्नुपर्छ भनेर हामीले प्रस्ताव लगेको हो,’ काठमाडौँ–२८ का वडाध्यक्ष खड्गीले भने, ‘त्यहाँ कुनै भौतिक संरचना बनाउने भनिएको होइन। सरसफाइ गरेर फुटबल खेल्नेदेखि घाम ताप्नेसम्मको ठाउँ बनाउन खोजिएको मात्रै हो।’

उनले महानगरले तयार गरेको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)मा पनि कुनै संरचना बन्ने गरी प्रस्ताव नभएको जानकारी गराए। 
त्यस्तै, काठमाडौँ–२७ का अध्यक्ष योगेशकुमार खड्गी पनि फुटबल खेल्नका लागि रेखांकन मात्रै गर्न लागिएको बताउँछन्। ‘प्लास्टिकको घाँस रोप्ने वा अन्य संरचना बनाउने भन्ने होइन,’ उनले भने। 

मेयर शाहले पनि खुलामञ्चलाई खुला नै राख्नुपर्छ भन्ने मान्यता राखेको उनको प्रस्टोक्ति छ। 

अभियन्ता र महानगरको द्वन्द्व

मुक्त खुलामञ्च अभियान ‘अकुपाई टुँडिखेल’का अभियन्ताहरू भने यस निर्णयबाट महानगर फिर्ता नभए आन्दोलनका कार्यक्रम अघि बढाउने बताउँदै आएका छन्। अभियानका प्रवक्ता सञ्जय अधिकारी महानगर पदाधिकारीको नियतमै खोट खेख्छन्।

‘सार्वजनिक जग्गालाई महानगरले आफ्नैजसरी निर्णय गर्न खोजेको छ,’ उनले भने, ‘हामी वडाध्यक्षमार्फत् यो काम रोक्नका लागि दबाब बढाइरहेका छौँ।’

महानगरका अधिकारीहरू भने त्यहाँ सरसफाइ र सर्वसाधरणको पहुँच पुर्‍याउने गरी काम अघि बढाइएको दाबी गर्छन्। 

महानगरपालिका योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीका अनुसार खुलामञ्चमा सरसफाइ मात्रै गर्न लागिएको हो।

‘त्यहाँ अहिले धुलो उड्ने र ठाउँ प्रयोगविहीन अवस्था छ,’ उनले नेपालखबरसँग भने, ‘फोहोर भएको ठाउँलाई सरसफाइ गरेर नयाँ दुबो मात्रै रोप्न लागिएको हो, अन्य केही होइन।’

उता, मेयर बालेन्द्र शाहका भौतिक पूर्वाधार सल्लाहकार सुनील लम्साल भने अभियानकर्ताहरूले बन्द कोठाभित्र बसेर यथार्थ नबुझी हल्ला मच्चाइरहेको टिप्पणी गर्छन्। 

‘अस्तव्यस्त टुँडिखेललाई महानगरले चिटिक्क बनाउन लागेको हो,’ लम्सालले नेपालखबरसँग भने, ‘तर, यहाँ त्यो जग्गा महानगरले नै हडप्न लागेको जसरी केहीले बन्द कोठाभित्र बसेर प्रचार गरिरहनुभएको छ, जसको तुक छैन।’

उनले डीपीआर तयार भएर काम अघि बढेको भन्दै अब काम नरोकिने पनि बताए। 

लम्सालका अनुसार, खुलामञ्चमा ‘नट एन्ड बोल्ट’ सिस्टमका ४ वटा पोल गाड्ने ठाउँ बनाइनेछ। ‘यसअघि हुँदै आएका अन्य कार्यक्रमहरू रोकिँदैनन्,’ उनले भने, ‘त्यहाँ फोल्डिङ सिस्टमका पोलहरू राख्ने गरी डीपीआर तयार भएको छ। फुटबल खेल्ने समयभन्दा बाहेक त्यसलाई निकालेर राखिन्छ।’

कुनै निजी संघसंस्थासँग सम्झौता पनि नहुने उनको भनाइ छ।

अदालत जाने चेतावनी

‘अकुपाई टुँडिखेल’ अभियानले हालै एक विज्ञप्ति नै जारी गरी टुँडिखेललाई सार्वजनिक क्षेत्रबाट विस्तारै सरकारी जग्गामा परिणत गर्न लागेको बताएको छ। महानगरले अहिले खेल मैदान बनाउन लागेको विषयमा पनि कुनै कागजात सार्वजनिक नगर्नुले शंका उब्जिएको अभियानका प्रवक्ता अधिकारीले नेपालखबरसँग भने। 

‘यदि महानगरले राम्रै काम गर्न लागेको हो भने किन डकुमेन्टहरू सार्वजनिक गर्दैन?,’ अधिकारीको भन्छन्, ‘वेबसाइट वा पेजमा पनि डकुमेन्ट सार्वजनिक गरिएको छैन। त्यसकारण प्रशस्त शंका गर्ने आधारहरू छन्।’

महानगरले निर्णय फिर्ता नलिए आफूहरू अदालत जाने चेतावनी उनको चेतावनी छ।

‘यअसघि पनि अदालतले उहाँहरूलाई पटकपटक पाठ सिकाएकै छ,’ अभियानका प्रवक्ता अधिकारीले भने, ‘यो निर्णय फिर्ता नलिए हामी अदालत जान्छौँ।’

नगरसभामा पनि उठ्यो प्रश्न
खुलामञ्चबारे देखिएको विवादबारे नगरसभा बैठकमा पनि प्रवेश पाएको छ। गत बुधबार बसेको १४ औँ नगरसभा बैठकमा वडा नम्बर २३ का वडाअध्यक्ष मचाराजा महर्जनले विषय उठान गराएका थिए।

उनले खुलामञ्चको विषयमा पटकपटक विवाद बढ्दै गएको भन्दै त्यसबारे सार्वजनिक सुनुवाइ हुनुपर्ने बताए। 

‘फेरि त्यही खुलामञ्चमा फुटसल निर्माण गरेर कुनै संस्थालाई दिने भन्ने आएको छ। खुलामञ्च भनेको महानगरवासीको अधिकारको विषय हो,’ उनले बैठकमा भने, ‘त्यहाँ कुनै पनि विकास निर्माणको काम गर्दा न्यूनतमरूपमा पालना गर्नुपर्ने कुरा भनेको सार्वजनिक सुनुवाइ हुनुपर्छ।’

खुलामञ्चमा महानगरले गर्न लागेको कामको विषयमा पनि प्रष्ट पार्नुपर्ने उनको धारणा थियो। ‘जनस्तरबाट आएका सुझावलाई लिएर काम गर्दा मात्रै राम्रो हुन्छ,’ उनको भनाइ थियो, ‘काठमाडौँ महानगरपालिकाले यो काम गर्दा प्रावधानलाई ध्यान देओस्।’
‘सम्पदा संरक्षकसँग छलफल गर्छौँ’

विवाद बढ्दै गएपछि अहिले सम्पदा संरक्षक तथा अभियन्तासँग जनप्रतिनिधहरू छलफलको तयारी गरिरहेका छन्।

‘उहाँहरूले किन विरोध गरिरहनुभएको भन्ने नै बुझ्न सकिएको छैन,’ वडा नम्बर २८ का अध्यक्ष खड्गीले भने, ‘उहाँहरूसँग डीपीआरसहितका डकुमेन्ट सबै राखेर हामीले असन्तुष्टिबारे छलफल गर्ने तयारी गरेका छौँ।’

वडा नम्बर २७ का अध्यक्ष पनि छलफलको तयारी भइरहेको बताउँछन्। 

‘हाम्रो कोर सिटीका बालबालिकाका लागि खेल्ने ठाउँ कतै पनि छैन,’ उनले भने, ‘त्यो ठाउँ मास्न लागिएको हैन, त्यहाँ दुबो रोपेर खेल्ने ठाउँ बनाउँदा केही समस्या हुँदैन।’

टुँडिखेलमा आमसभा पनि गर्न दिने र दुबो लगाएर खेल खेल्न मिल्ने पार्कसमेत बनाइने उनले बताए।

मास्ने होड

यसै पनि खुलामञ्च विभिन्न बहानामा खुम्चिँदै गएको छ। पुरानो बसपार्कको खाली ठाउँमा कंक्रिटको टावर बनाइँदै छ। दशरथ रंगशाला र सहिदगेटको बीचमा रहेको टुँडिखेलको केही भागमा सेनाले आफ्नैजस्तो गरी विभिन्न संरचना ठड्याएर तारबारभित्र पारेको छ।

त्रिचन्द्र मिलिट्री अस्पतालमा सेनाले व्यापारिक कम्प्लेक्स बनाउँदा राज्यका कुनै निकायले पनि त्यो ठाउँ खुला राखेर पार्किङमा उपयोग गर्नुपर्ने दरकार देखेनन्।

वरपरको सरकारी जग्गा होस् या निजी, भव्य संरचना थप्ने होडमा सबै मिसिएका छन्। ती संरचनाले सिर्जना गर्ने ट्राफिक चाप र वातावरणीय दबाबको मार केवल मध्यसहरको खाली क्षेत्रले बेहोर्नुपरेको छ। 

सडक विस्तारका नाममा होस् या सहर सौन्दर्यीकरणका नाममा, कंक्रिटका संरचना थप्ने र खुला क्षेत्र मास्नेहरू सबै राजनीतिक व्यवस्थामा उसैगरी देखिएका छन्। 

रानीपोखरी, शान्ति वाटिका र रत्नपार्कभित्र कंक्रिटका संरचना थप्ने होड त छँदै थियो। त्रिचन्द्र कलेज विस्थापित गरी अर्को टावर राख्ने रहर गर्नेहरू पनि बेलाबेला सल्बलाउँदै छन्। उपत्यका प्रहरी कार्यालयमा थपिँदै गएका तलामा कसैले प्रश्न गरेको देखिँदैन।

बरू प्रत्येकपटकका जनप्रतिनिधि होऊन् वा प्रशासनिक पदाधिकारी, खुला क्षेत्र मास्ने स्पर्धामै मिसिएका छन्।

यसपालि पनि दुबोसँगै फुटबलका रोप्न लागिएका गोलपोस्टका पोलले सहरी सम्पदा र पर्यावरणको चिन्ता गर्ने प्रत्येक नागरिकको मनमा चिसो पसेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .