ad ad

समाज


अध्यागमनका ८ अधिकृतको ‘समिति’ नै बनाएर भिजिट भिसाको सेटिङ

अधिकृत खड्काको बयान : भागमा ४०/५० हजार पर्थ्यो
अध्यागमनका ८ अधिकृतको ‘समिति’ नै बनाएर भिजिट भिसाको सेटिङ

उजिर कार्की
माघ १५, २०८० सोमबार १८:१८, काठमाडौँ

भिजिट भिसाको सेटिङ मिलाएर विदेश पठाउन अध्यागमनका अधिकृतहरुले समिति नै बनाएर काम गरेको खुलेको छ। पक्राउ परेका अध्यागमन अधिकृत नरवीर खड्काले प्रहरी समक्ष आफूले मात्रै सेटिङको काम नगरेको र समिति नै बनाएर काम गरेको बयान दिएका हुन्।

यसअघि विमानस्थलमा अध्यागमन चेकजाँचमा सेटिङ मिलाउने काम अधिकृत ताराबहादुर कुँवरले गरेको र उनी सरुवा भएपछि आफूलाई जिम्मा दिएको बयान खड्काले दिएका छन्। प्रहरीले पक्राउ गरेलगत्तै गरेको सोधपुछको क्रममा उनले विमानस्थलमा सेटिङ मिलाउँदा रेट पनि सहमतिमा कायम गरेको बताएका छन्। 

‘पुरुषलाई पठाउँदा सेटिङ मिलाउनु परेमा १० देखि १७ हजार रुपैयाँ र महिलालाई पठाउँदा ४० देखि ५० हजारसम्म लिने गरेका थियौँ। एक पटकमा कहिले १०/२० जना र कहिले एकडेढ सय जनाको रकम लिन्थ्यौँ, हामीले भनेकै स्थानमा उनीहरुले रकम ल्याइदिन्थे,’ अधिकृत खड्काले प्रहरी समक्ष भने। 

यसरी सेटिङ मिलाए बापतको रकम उनीहरुले सिनामंगलको होटल बाल्टिक इनमा बुझ्ने गरेका थिए। उनीहरुले पैसा लिएर आएका बिचौलियालाई उक्त होटलका साहुलाई दिनु भनेको र पछि आफूले लिने गरेको प्रहरीले दाबी गरेको छ। 

होटलका सञ्चालकविरुद्ध पनि प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ। तर प्रहरीले पक्राउ गरेर मुद्दा चलाउने तयारी गरेपछि होटल सञ्चालक आशिष भन्ने केदारबहादुर खड्का फरार छन्। 

नक्कली कागजातका आधारमा भिसाको प्रक्रियामा सहजीकरण गर्न र विमानस्थलमा सेटिङ मिलाउनका लागि पनि उनीहरुले समिति नै बनाएको खुलेको छ। प्रहरीको अनुसन्धान प्रतिवेदन अनुसार समितिमा अध्यागमन अधिकृत खड्कासहित कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डंगोल, पिताम्बर रिमाल र सुजन फागो थिए। 

तर यीमध्ये खड्का मात्रै पक्राउ परेका छन्। अन्य ७ जना फरार छन्। ताराबहादुर कुँवर पनि हाल फरार छन्। 

बिचौलियामध्येका सरोज यादवले आफूलाई पटकपटक गरी ३/४ लाख रुपैयाँ दिएको उनले बताएका छन्। अन्यबाट पनि यसैगरी रकम आउँथ्यो।
 
‘भिजिट भिसामा सेटिङ मिलाउने एजेन्टहरु मार्फत समितिमा आएको रकम औसतमा सबै कर्मचारीको भागमा ४० देखि ५० हजार रुपैयाँ पर्ने गरेको थियो। पछिल्लो समय मुख्य सेटिङ मिलाउने एजेन्ट मनोज लामा र पदम लामा हुन्,’ खड्काले बयानका क्रममा भनेका छन्। 

प्रहरीले पक्राउ गर्दा खड्काको साथबाट २ लाख रुपैयाँ बरामद भएको थियो। उक्त रकम पनि पदम लामाले दिएको उनले खुलाएका छन्। 

नरवीर विमानस्थलस्थित अध्यागमन कार्यालयमा २०७९ माघदेखि कार्यरत छन्। अध्यागमन कार्यालयमा १३० जना अधिकृत, २२/२४ जना अधिकृत, ८/९ जना अपरेटर र प्रमुख अधिकृत एक जना रहेको उनले बताएका छन्। 

अध्यागमनमा तीन सिफ्टमा ड्युटी विभाजन हुने गरेको पनि उनले बयानमा भनेका छन्। जसको सिफ्टमा रहँदा सेटिङमा पठाउनु परे पनि उनीहरुले सहजीकरण गर्दै आएका थिए। 

भिजिट भिसामा सेटिङ मिलाउने एजेन्टहरु तथा ट्राभल्सका सञ्चालकहरु पनि रहेको खड्काले बताएका छन्। उनका अनुसार सरोज यादव, लालबहादुर भगत, मनोज लामा, पदम लामा, प्रकाश चौधरी समेतले २०८० असारदेखि भिजिट भिसाको सेटिङमा विदेश पठाउने गरेको उनले बताएका छन्। 

पक्राउ परेका ट्राभल्सका सञ्चालक मनोज लामा र पदम लामाले पनि नरवीर खड्कालाई प्रतिव्यक्ति पुरुषको १७ हजार रुपैयाँका दरले र महिलाको प्रतिव्यक्ति ५० हजार रुपैयाँका दरले बुझाएको बयान दिएका छन्। 

मनोजले मंसिर २६ गते दिउँसो विमानस्थल गेटबाहिरको होटल बाल्टिक इनको काउन्टरमा रहेकी महिला कर्मचारीलाई २ लाख रुपैयाँ दिएको बताएका छन्। 

मंसिर ४ गते नरवीर खड्का उनीहरुको ट्राभल्समा पुगेर मनोज लामासँग ३ लाख ५० हजार रुपैयाँ लिएको पनि बताएका छन्। 

निमा छिरिङ ट्राभल्सको कार्यालयमा दैनिक किताबमा पनि १६ जनाको नाम उल्लेख गरेको फेला परेको थियो। उक्त बुकमा भएको १६ जनालाई यसैगरी सेटिङमा पठाइसकेको बयानका क्रममा खुलाएका छन्। 

उनीहरुले ६६ जना पठाउँदा अध्यागमनका कर्मचारीलाई २६ लाख ४० हजार रुपैयाँ घुस दिएको बताएका छन्। नरवीरलाई उक्त रकम दिएपछि उनले नै ड्युटीमा रहेका अधिकृतहरुलाई मिलाउने गरेको पनि पदमको बयान छ। नरवीरमार्फत ३ सय जना जतिलाई पदम र मनोजले मात्रै पठाएको बयान दिएका छन्।

पटकपटक गरी नरवीर खड्कालाई विमानस्थलमा सेटिङका लागि एक करोड रुपैयाँ दिएको बयान पदमले दिएका छन्।

मनोजले हाल फरार रहेका अध्यागमनका कर्मचारी ताराबहादुर कुँवरसँग मिलेर काम गरेको र पछि कुँवरले नै नरवीरसँग सेटिङ मिलाउन चिनजान गराइदिएको बताएका छन्। 

भिजिट भिसामा जाने मान्छे एजेन्टले ल्याउने र विदेशमा रहेका कमला लामा, रामप्रसाद भण्डारी, फुटपाथका एजेन्ट रौतहटका अकबर मिया, नेपालगञ्जका सकिल मिया, रौतहटका मुन्ना अन्सारी, गोरखाका विनोद शाह, स्याङ्जाका पवन श्रेष्ठले भिजिट भिसामा जाने मान्छे ल्याउने गरेको मनोज लामाको बयान छ। एजेन्टमार्फत आएका मान्छेबाट आफूलाई प्रतिव्यक्ति ५ हजार मात्रै फाइदा हुने र बाँकी रकम अध्यागमन सेटिङ र एजेन्टलाई दिँदा खर्च हुने गरेको उनको बयान छ। 

भिजिट भिसाको सेटिङ मिलाउँदा ताराबहादुर कुँवरलाई पटकपटक गरी १५/२० लाख रुपैयाँ दिएको बताएका छन्। ताराबहादुर मार्फत सेटिङ मिलाएर एक सयदेखि एकसय २० जना जति पठाएको बताएका छन्। ताराबहादुरको सरुवा भएपछि उनले नै अबदेखि नरवीरमार्फत काम गर्नु भनेका थिए। 

नरवीर खड्कामार्फत सेटिङ मिलाएर करिब ३ सय जना पठाइसकेको बयान उनको छ। 

त्यसवापत १ करोड नरवीरलाई दिएको उनले पनि प्रहरीलाई भनेका छन्। 

यी हुन् प्रतिवादी बनाउन सिफारिस २२ जना 
प्रहरीले पक्राउ परेका १० जना र फरार १२ जनालाई प्रतिवादी बनाउन राय दिएको छ। फरार रहनेमा ८ जना अध्यागमनकै अधिकृतहरु छन्। थप ४ जना फरार छन्। 

पक्राउ पर्नेमा नवलपारासीको कावासोती घर भई हाल चितवनको भरतपुर महानगरपालिका ८ खैरहनी बस्ने ४४ वर्षीया गीता शाह, काठमाडौँको तीनकुनेका ३७ वर्षीय अरुण दाहाल, सिरहाको मिर्चैयाका २७ वर्षीय सरोजकुमार यादव, पश्चिम रुकुमको सानोभेरी १० घर भई हाल जाजरकोटको भेरी नगरपालिका बस्ने अध्यागमन अधिकृत ३७ वर्षीय नरवीर खड्का र रामेछापको दोरम्बा गाउँपालिका ७ का ३१ वर्षीय पदम लामा रहेका छन्। 

यस्तै काभ्रेपलान्चोकको पाँचखाल नगरपालिका घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका ४ बस्ने ३९ वर्षीय मनोज तामाङ, स्याङ्जाको चापाकोट नगरपालिका १ पैदीमगरेका ३९ वर्षीय रामप्रसाद भण्डारी, गुल्मीको सत्यवती गाउँपालिका ७ घर भई काठमाडौंको टोखा बस्ने स्काइ टुर्स एण्ड ट्राभल्सका सञ्चालक दिनेश ज्ञवाली, स्याङ्जाको वालिकाङका रविन अर्याल र मोरङको पथरी शनिश्चरे घर भई हाल ललितपुरको इमाडोल बस्ने ४५ वर्षीय विनोद कार्की पनि पक्राउ परेका छन्। उनीहरुमाथि अनुसन्धान सकेर प्रहरीले आइतबार सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको हो। 

फरार १२ जनालाई पनि प्रतिवादी बनाउन प्रहरीले राय दिएको छ। 

फरार रहनेमा विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत अधिकृतहरु ताराबहादुर कुँवर, कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डंगोल, पिताम्बर रिमाल, सुजन फागो रहेका छन्। 

यस्तै सिनामंगलको होटल बाल्टिक इनका सञ्चालक ४२ वर्षीय आशिष भन्ने केदारबहादुर खड्का, बाराको सिमराकी २३ वर्षीया कौशिला मगर, सोलुखुम्बु घर भई मूलपानी बस्ने ४० वर्षीया लक्ष्मी राई र सिन्धुलीको कमलामाई नगरपालिकाकी ३४ वर्षीय रीता दमाईविरुद्ध पनि मुद्दा चलाउन प्रहरीको राय छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .