ad ad

समाज


कान्ति भैरव सहकारीका १११ जना ठगिए, अध्यक्षसहित ९ जनाविरुद्ध मुद्दा दायर

कान्ति भैरव सहकारीका १११ जना ठगिए, अध्यक्षसहित ९ जनाविरुद्ध मुद्दा दायर

उजिर कार्की
माघ १७, २०८० बुधबार २१:३२, काठमाडौँ

काठमाडौँको गोकर्णेश्वर नगरपालिकास्थित कान्ति भैरव बचत तथा ऋण सहकारी संस्थाका १११ जना सेयर सदस्यलाई ठगेको आरोपमा ९ जना सञ्चालकविरुद्ध मुद्दा दायर भएको छ। 

सेयर सदस्यहरुको २५ करोड ९४ लाख ९६ हजार ८९४ रुपैयाँ ठगी गरेको आरोपमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएको हो। आफूहरु ठगिएको भन्दै सेयर सदस्यले नै जाहेरी दिएपछि प्रहरी वृत्त बौद्धले सहकारीका अध्यक्षसहित ९ जनालाई पक्राउ गरेर अनुसन्धान गरेको थियो। 

अनुसन्धान सकेर प्रहरीले बुझाएको प्रतिवेदनका आधारमा उनीहरुविरुद्ध अदालतमा मुद्दा दायर भएको हो। बिहीबारदेखि अदालतमा बकपत्र सुरु हुनेछ। 

सहकारीका सञ्चालक समिति अध्यक्ष गोकर्णेश्वर नगरपालिका ४ का ५९ वर्षीय हरिकृष्ण श्रेष्ठ, पूर्वअध्यक्ष एवम् सल्लाहकार ६२ वर्षीय प्रेम श्रेष्ठ, कोषाध्यक्ष एवम् ऋण संयोजक ७२ वर्षीय सेरलाल श्रेष्ठ, सहप्रबन्धक ४४ वर्षीय राजेन्द्र श्रेष्ठ, उपाध्यक्ष ५४ वर्षीय रामेश्वर श्रेष्ठ, संस्थाका सचिव तथा प्रबन्धक ७३ वर्षीय रामदास श्रेष्ठ, सदस्यहरु ६५ वर्षीय राधेश्याम श्रेष्ठ, ५६ वर्षीय अनिरुद्ध श्रेष्ठ र लेखा समिति संयोजक ५४ वर्षीय चन्द्रप्रसाद पौडेललाई प्रतिवादी बनाइएको छ। उनीहरुविरुद्ध ठगीको आरोपमा मुद्दा दायर भएको हो। 

संस्थाका सञ्चालकहरु सबै गोकर्णेश्वरका स्थानीय नै भएकाले आफूहरुले पहिले विश्वास गरेको पीडित विनोदप्रसाद पौडेलले बताए। सुरुसुरुमा राम्रोसँग कारोबार गरेको र बचत रकम अपचलन होला भन्ने नलागेको उनले भनेका छन्। तर संस्थामा रकम सुरक्षित नहुने ठानेर २ वर्ष पहिलेदेखि रकम फिर्ता माग्न थालेको उनले बताएका छन्। 

सञ्चालकहरुले आफन्तलाई बिनाधितो अभिलेख समेत नराखी ऋण दिने, आफन्तको नाममा सहकारीको रकमले अचल सम्पत्ति खरिद गरेको पनि जाहेरवालाले बताएका छन्। रकम फिर्ता गर्दा पनि आफन्तको मात्रै फिर्ता गरेको गुनासो उनीहरुको छ। उनीहरुको चल अचल सम्पत्ति रोक्का राखी कानुन बमोजिम कारबाही गरी आफूहरुको रकम फिर्ता दिलाइदिन माग गरेका छन्। 

सहकारीका सञ्चालकले रकम ठगी गरेको निष्कर्षसहित प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको छ। उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ को दफा २४९ को उपदफा (१) र (२) अनुसारको कसुर गरेको तथ्यबाट पुष्टि भएको दाबी अभियोगमा छ। 

प्रतिवादी बनाइएका मध्ये रामेश्वर श्रेष्ठ, राधेश्याम श्रेष्ठ, अनिरुद्ध श्रेष्ठ, रामदास श्रेष्ठ र चन्द्रप्रसाद पौडेल फरार छन्। उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी गर्न समेत प्रहरीले माग गरेको छ। जाहेरवालाको माग बमोजिमको रकम दिलाउन र सञ्चालकहरुलाई थप कारबाही गर्न पनि माग गरिएको छ। 

ठगीको कसुरमा सात वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ। 

प्रहरीले उनीहरुको बैंक खातामा रहेको रकम र जग्गा जमिन पनि रोक्का गर्न प्रक्रिया पूरा गरिसकेको छ। 

सहकारी अध्यक्षको बयान : सदस्यहरुले ऋण नै फिर्ता गरेनन्
सहकारीका अध्यष हरिकृष्ण श्रेष्ठले भने कोभिडका कारण सहकारी नै समस्यामा परेको बयान दिएका छन्। उनले सहकारीका सदस्यहरुले ऋण लगे पनि फिर्ता नगर्दा सहकारी डुबेको बताएका छन्।

सहकारीले विभिन्न व्यक्ति तथा व्यवसायमा लगानी गरेको र पछिल्लो एक वर्षयता भने व्यवसायमा आएको मन्दीका कारण सहकारीमा रकम बचत गर्नेभन्दा रकम फिर्ता लैजानेको संख्या बढी भएको अध्यक्ष श्रेष्ठले बयान दिएका छन्। 

हरिकृष्ण २०७७ सालमा सहकारीको अध्यक्षमा चयन भएका थिए। सहकारीले सेयर सदस्यहरुको घरजग्गा खरिद गर्न, सवारी साधन खरिद गर्न तथा अधिकांश ऋण व्यवसाय कर्जामा लगानी भएको बताइएको छ। तर ऋण लिने व्यक्तिहरुले फिर्ता नगर्दा सहकारी संस्था आर्थिक समस्यामा परेको अध्यक्ष श्रेष्ठको बयान छ। 

अध्यक्ष श्रेष्ठले भने जाहेरीमा उल्लेख भएभन्दा कम रकम फिर्ता गर्नु पर्ने दाबी गरेका छन्। उनले १६ करोड, ४९ लाख २६ हजार १०३ रुपैयाँ सहकारीले फिर्ता गर्न बाँकी रहेको बताएका छन्। 

उक्त रकम फिर्ता गर्नका लागि सहकारीका सदस्यहरुसँग सल्लाह भइरहेको अध्यक्ष श्रेष्ठको भनाइ छ। सहकारीका नाममा कुनै अचल सम्पत्ति पनि नरहेको र रकम अपचलन पनि नगरेको दाबी अध्यक्षको छ। कतिपय बचतकर्ताले वास्तविकभन्दा बढी र फिर्ता लिइसकेको रकम नघटाई जाहेरीमा दाबी गरेको उनको बयान छ। 

उनले अन्तमा भनेका छन्, ‘बचतकर्ताको रकम फिर्ता गर्नेछौँ र फिर्ता गर्न नसकेमा कानुन बमोजिम सहन भोग्न मञ्जुर छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .